चौंरीदेउराली गाउँपालिकाको बाह्रौ गाउँसभाको बजेट अधिवेशनमा मिति २०८०।०३।०९ गतेका दिन अध्यक्ष श्री रेणुका चाैंलागाईले प्रस्तुत गर्नु भएको अर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम

चौंरीदेउराली गाउँपालिकाको १२ औं अधिवेशनमा उपस्थित चौंरीदेउराली गाउँपालिकाका उपाध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा अध्यक्ष ज्यूहरु, गाउँसभाका सम्पूर्ण सदस्यज्यूहरु, संचारकर्मी, सुरक्षाकर्मीज्यूहरु, कर्मचारीज्यूहरु एवम् उपस्थिति सम्पूर्ण महानुभावहरु, आजको यो महत्वपूर्ण गाउँसभाको अधिवेशनमा हार्दिक स्वागत एवम धन्यबाद प्रकट गर्दछु ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात संविधानले गरेको व्यवस्था बमोजिम दोस्रो स्थानीय तहको निर्वाचनबाट दोस्रो कार्यकालका लागि स्थानीय सरकार गठन भई वर्तमान निर्वाचित जनप्रतिनिधिहरुको पहिलो बर्ष पुरा भई दोस्रो बर्षको रुपमा यस गरिमामय सभामा गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम पेश गर्न पाउँदा मैले आफुलाई गौरवान्वित महशुस गरेको छु। वार्षिक नीति तथा कार्यक्रम तर्जुमाका क्रममा गाउँपालिकालाई विभिन्न सुझाव दिनुहुने सम्पूर्ण आमा, बुवा, दाजुभाई तथा दिदी बहिनीहरु लगायत कर्मचारीहरूलाई हार्दिक आभार सहित हामी सबै तर्फबाट धन्यवाद व्यक्त गर्दछु ।

यस अवसरमा देश भएका विभिन्न आन्दोलन, संघर्ष, विद्रोह, राजनीतिक अग्रगमन र लोकतन्त्र गणतन्त्रको सवलीकरणको क्रममा भएका ऐतिहासिक आन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै बेपत्ता योद्धाहरु प्रति उच्च सम्मानका साथ घाइते अपाङ्गहरुको शीघ्र स्वास्थ लाभको कामना गर्दछु । जनयुद्ध, जनआन्दोलनमा जनताले पु-याएको योगदान र बलिदानको गौरवपूर्ण इतिहासले हामीलाई सधै मार्ग निर्देश गरिरहनेछ ।

जनआन्दोलन, मधेश आन्दोलन लगायतका विभिन्न कका आमुल परिवर्तनका निम्ति जनयुद्ध,
सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने हाम्रो संकल्प, समस्त गाउँपालिकाका नागरिकको समृद्धिको चाहाना हामीले निर्वाचनका क्रममा हाम्रा मतदाताहरु प्रति अभिव्यक्त गरेका प्रतिज्ञाहरु पुरा गर्ने दिशामा हामीले आगामी आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रमलाई अभिमुख गरेका छौं । यसका लागि दीगो विकासको राष्ट्रिय लक्ष्यहरुको स्थानीयकरण गर्दै गुणस्तरीय पूर्वाधार निर्माण सहित स्थानीय स्रोतको पहिचान र परिचालन गरी समावेशी, जलवायु उत्थानशील तथा दिगो स्थानीय आर्थिक विकास मार्फत समृद्ध गाउँपालिका र सुखी जनताको लक्ष्य हासिल गर्न सार्वजनिक, निजीक्षेत्र र समुदायको साझेदारी विकास गरिनेछ ।

आगामी आर्थिक वर्षको लागि प्रस्तावित नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सम्पूर्ण चौंरीदेउराली गाउँबासी तथा सबै पेशा व्यवसायीहरुमा समेत आग्रह गर्दछु  ।

चालु आ.व. ०७९/८० को नीति तथा कार्यक्रमको समीक्षा

१. चौंरीदेउराली गाउँपालिकाको आवधिक योजनाको प्रारम्भिक मस्यौदा तयार भएको छ ।

२. गाउँपालिका भित्रका विभिन्न रणनीतिक सडकहरु कालोपत्रे गर्ने कार्यको थालनी भएको छ ।

३. वडा कार्यालय, स्वास्थ्य संस्था, सबै सामुदायिक विद्यालयहरुमा निःशुल्क फाइवर नेट जडान कार्य सम्पन्न भएको ।

४. गाउँपालिका भित्रका सवै विद्यालयहरुमा कक्षा १ देखि ८ सम्म गाउँपालिकाको स्थानीय पाठ्यक्रम निर्माण गरी पठनपाठन कार्य शुरु भएको ।

५. पर्यटन विकासको लागि गाउँपालिकाको पर्यटन गुरुयोजना निर्माण गरिएको ।

६. सार्वजनिक सेवालाई प्रविधियुक्त बनाउन राजस्व सकंलन, घटना दर्ता सिफारिश, योजना व्यवस्थापन र वडा कार्यालयबाट गरिने सिफारिशहरु सफ्टवेयर मार्फत शुरुवात गरिएको

७. गाउँपालिका भित्रका आधारभुत र माद्यमिक विद्यालयहरुमा सुविधा सम्पन्न ICT LAB, विज्ञान प्रयोगशाला र पुस्तकालयको व्यवस्था भएको।

८. किसानहरुलाई अनुदानमा कृषि औजार वितरण गरिएको।

९. गाई तथा भैंसी पालक किसानका लागि प्रोत्साहन स्वरुप सुत्केरी भत्ता प्रदान गरिएको ।

१०. किसानहरुलाई रासायनिक मल ढुवानीमा शतप्रतिशत अनुदान दिइएको ।

११. किसानहरुलाई पशु बीमा कार्यक्रममा ५० प्रतिशत अनुदान दिइएको ।

१२. कृषि पकेट क्षेत्र तथा विउ उत्पादन क्षेत्र स्थापना गरिएको ।

१३. विद्यालय समायोजन कार्यविधि बनाइ अविभावकहरुका सुझाव संकलन गरी केहि विद्यालयहरुको तह घटाउने, मर्ज र स्थगन गरी दरबन्दी प्रक्रिया अगाडि बढेको ।

१४. नियमित प्रधानाध्यापक बैठक मार्फत विद्यालयहरुमा रहेका समास्याहरुमा छलफल, परामर्श गरी शैक्षिक सुधारमा पहल गरिएको ।

१५. विपन्न नागरिक औषधी उपचारका लागि १२३ जनालाई सिफारिश गरिएको ।

१६. गाउँघर क्लिनिक तथा ज्येष्ठ नागरिक र अशक्त विरामीहरुको लागि घुम्ती सेवा मार्फत स्वास्थ्य सेवा प्रदान गरिएको ।

१७. गाउँपालिका भित्रका अस्पतालमा सुत्केरी हुने महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान
गरिएको ।

१८. शहिद तथा वेपत्ता परिवारका सदस्यहरुलाई मासिक रुपमा राहत स्वरुप रु. ३,०००।- आर्थिक
सहायता उपलब्ध गराइएको ।

१९. वडा नं. १ र २ को वडा कार्यालय भवन निर्माण कार्य शुरु भएको

२०. गाउँपालिका भित्रका बाटोहरुको स्तरोन्नति कार्य आरम्भ भएको ।

२१. ३० भन्दा बढी पुरातात्विक तथा ऐतिहासिक महत्त्वका मठमन्दिर, छोर्तेन र गुम्बाहरु निर्माण तथा पुनः निर्माण भएको ।

२२. पालिकास्तरीय तरकारी संकलन केन्द्र, कृषि उपज केन्द्र, शहिद स्मृति भवन लगायत अन्य भवनहरु पनि निर्माणाधीन अवस्था रहेको ।

२३. जनतालाई असुविधा नहोस भनि प्रत्येक वडा कार्यालयमा मार्फत योजना सम्झौता, पशु सेवा, कृषि सेवा वितरण गरिएको ।

२४. वडा कार्यालयमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिएको ।

२५. गाउँपालिकाका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परिक्षण र औषधी उपचारको व्यवस्था गरिएको ।

२६. विभिन्न स्थानमा स्वास्थ्य शिविरहरु संचालन गरी गाउँपालिका भित्रका ३००० भन्दा बढी नागरिकको स्वास्थ्य परिक्षण उपचार गरिएको ।

२७. गाउँपालिकामा रहेको १५ शैय्याको अस्पताल निर्माणको ठेक्का प्रक्रिया शुरु गरिएको छ ।

२८. युवाहरूको खेलकुदमा संलग्नता बढाउनका लागि खेलकुद मैदानहरु निर्माण भएको छ ।

२९. गाउँपालिकाको लागि आवश्यक ऐन नियम कार्यविधि निर्दशिका र मापदण्डहरू तर्जुमा गरी कार्यान्वयनमा ल्याएको ।

३०. गाउँपालिकाले गत आवको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन ( LISA ) मा ६६ अंक प्राप्त गरेको छ।

३१. प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्याङ्कनमा जिल्लाका गाउँपालिकाहरुमध्ये उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको ।

३२. गाउँपालिकाका विभिन्न वडामा सिंचाइ कुलो, पोखरीहरु निर्माण गरि सुविधा प्राप्त हुने अवस्था सृजना भएको ।

३३. गाउँपालिकाबाट हुने सवै प्रकारको भुक्तानीहरु EFT (Electronic Fund Transfer) प्रणाली मार्फत गर्ने गरिएको छ ।

३४. गाउँपालिकामा रहेको सम्पुर्ण मौज्दात सम्पत्ति तथा खरिद गरिएका खर्च भएर जाने र खर्च भएर नजाने सम्पत्तिहरुको एकिकृत सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली PAMS(Public Assets Management System) मार्फत विवरण राख्ने गरिएको।

३५. प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याइएको।

३६. काफ्ले खेल मैदान, माझिफेदाको निर्माण सम्पन्नको चरणमा रहेको छ ।

३७. ढाडखर्क भञ्ज्याङ्ग धुसेनी हुदै माझिफेदा सडक स्तरोन्नतिको कार्य सम्पन्न भएको छ ।

३८. जिरोकिलो सुलिकोट देउराली सडक स्तरोन्नति सम्पन्न भएको छ ।

३९. ढोकेडाँडा खानेपानी पाइप लाईन निर्माण र वितरण लगायतका संरचना निर्माण गरिएको छ ।

४०. पशु सम्बन्धी बिभिन्न किसिमका रोग तथा महामारी रेविज नियन्त्रणका लागि आवश्यक औषधी तथा खोपको व्यवस्था गरिएको ।

४१. गाउँपालिका भित्र रहेका कला, संस्कृति, भाषा, साहित्यको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरु संचालन गरिएको ।

४२. गाउँपालिका र मातहतका कार्यालयबाट प्रवाह हुने सेवा प्रभावकारी र सर्वसुलभ बनाइएको ।

४३. कृषि र पशु सेवा केन्द्र भवन निर्माणको लागि टेन्डर भइसकेको र पशु सेवा क्लिनिक भवन निर्माण भइरहेको ।

४४. गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि आवश्यक पूर्वाधार तयार भएको ।

आदरर्णीय सभा सदस्यज्यूहरु,

अब म चौंरीदेउराली गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु ।

शिक्षा
१ आ.व. ०७९/८० बाट लागू भएको स्थानीय पाठ्यक्रमको आधारमा स्थानीय पाठ्यपुस्तक तयार गरी लागू गरिनेछ ।

२ कम्तिमा महिनाको एक पटक जनप्रतिनिधिहरु विद्यालयको अवलोकन गर्न जाने तथा विद्यार्थी/शिक्षक/अभिभावकसँग छलफल गर्ने प्रणालीको विकास गरिने छ ।

३ सबै माध्यमिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम विस्तार गर्न संघ र प्रदेश सरकारसँग आवश्यक पहल गरिने

४ विद्यालय बाहिर रहे र बीच मै विद्यालय छोड्ने बालबालिकाहरुलाई विद्यालय शिक्षा पुरा गर्न प्रोत्साहनका लागि विशेष प्याकेज सञ्चालन गरिनेछ ।

५ प्रधानाध्यापक र शिक्षकको कार्यक्षमता र जिम्मेवारीलाई जवाफदेहि गराउनको लागि विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुसंग कार्यसम्पादन करार गरिनेछ । उत्कृष्ट कार्यसम्पादन भएका प्रअ र शिक्षकलाई पुरस्कृत गरिनेछ । भने कार्यसम्पादनमा उल्लिखित शर्त पूरा नगर्ने प्रअ र जिम्मेवारी हेरफेर गर्ने नीतिलाई कार्यान्वयन गरिनेछ ।

६ ३ वर्ष भित्र गाउँपालिका भित्रका विद्यालयहरुलाई आवासीय विद्यालयको रुपमा विकास गर्न पहल गरिनेछ ।

७ तोकिएको मापदण्ड बमोजिम शिक्षक संख्या, विद्यार्थी संख्या र अन्य पूर्वाधार नपुग भएका विद्यालयहरुलाई तह घटुवा, मर्ज वा स्थगन गरी शिक्षक दरबन्दी मिलानको कार्यलाई निरन्तरता दिइने छ ।

८ विद्यालयहरुको भौतिक पूर्वाधार, स्वास्थ्य तथा सरसफाईको सुविधा र आधारभुत खानेपानी सुविधा विस्तार गर्दै शिक्षकहरुको ब्यावसायिक क्षमता विकासको लागि लगानी गरिनेछ।

९ सवै सामुदायिक विद्यालयमा कक्षा ९ र १० मा पढने विद्यार्थीहरुलाई आगामी शैक्षिक गन्तव्यको लागि परामर्श सेवा जस्ता जीवनवृति (Career Counselling) कार्यक्रम संचालन गरिनेछ ।

१०. वर्तमान बजार मूल्य र अन्य परिवेशलाई ध्यानमा राखी सामुदायिक विद्यालयमा कार्यरत वाल शिक्षक लगायत अन्य विद्यालय कर्मचारीहरुको सेवा सुविधामा वृद्दि गरिनेछ।

११. सामुदायिक विद्यालयहरुमा शिक्षक विद्यार्थी अनुपातमा विषयगत दरबन्दी मिलान एवम् शिक्षक सरुवालाई व्यवस्थित गरिनेछ।

१२. उत्कृष्ट शैक्षिक गन्तव्यका लागि चौंरीदेउराली” भन्ने आदर्श लक्ष्य प्राप्तिका लागि सरकारी शैक्षिक संस्थाहरुबाट प्रदान गर्ने शिक्षालाई थप गुणस्तरीय र सर्वसुलभ तुल्याउन त्यस्ता प्राज्ञिक संस्थाहरुसँग सहकार्य र साझेदारी गरिनेछ।

१३. विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण गर्दा बालमैत्री तथा अपाङ्गतामैत्री संरचना निर्माण गरिनेछ।
१४. पुस्तकालय, विज्ञान प्रयोगशाला र कम्प्युटर प्रयोगशाला स्थापना गर्न बाँकी विद्यालयहरुमा क्रमशः स्थापना गरिनेछ ।

१५. चौंरीदेउराली गाउँपालिका भित्र नमुना विद्यालय बनाउनका लागि आवश्यक पूर्वाधार विकासको लागि तयारी गरिनेछ ।

१६. लोकसेवा आयोग, शिक्षक सेवा आयोगका परीक्षा लगायतका रोजगार सम्बन्धी परीक्षालाई
मध्यनजर गर्दै गाउँपालिकाबाट आवश्यक तयारी गरिनेछ।

१७. शैक्षिक प्रणालीमा रूपान्तरण ल्याउन पाठ्यक्रम विकास, पठनपाठनको ब्यवस्थापन, अतिरिक्त
क्रियाकलाप व्यवस्थपान, शैक्षिक पात्रो ब्यवस्थापन, अद्याविधक स्रोत ब्यवस्थापन, विद्यालय- अविभावक बीचको सञ्चार ब्यवस्थापन, अनलाइन शिक्षण तथा सिकाइ र दस्तावेजीकरण लगायतका क्षेत्रमा सूचना प्रविधिको प्रभावकारी उपयोग गरी सबै सामुदायिक विद्यालयहरुमा शैक्षिक व्यवस्थापन सूचना प्रणाली (EMIS) लागु गर्ने नीति अवलम्बन गरिनेछ।

१८. “एक विद्यालय एक उत्पादन” कार्यक्रमको सम्भाव्यता अध्ययन गरी कार्यान्वयन गरिनेछ ।

१९. परीक्षा प्रणालीलाई समयानुकूल व्यवस्थित गरिनेछ ।

२०. राष्ट्रियस्तरको परिक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र कार्यसम्पादनको आधारमा शिक्षक र विद्यालयलाई पुरस्कृत गरिनेछ ।

स्वास्थ्य

२१. नागरिकको पहुँच सुनिश्चित हुने गरी गाउँपालिका क्षेत्र भित्र चिकित्सकीय र प्रयोगशाला सेवा तथा अस्पताल ,प्राथमिक स्वास्थ्यकेन्द्र, आधारभूत स्वास्थ्य केन्द्र स्थापना तथा स्तरोन्नति गरी रोकथामनिदान र पुनर्स्थापन सेवालाई सहज र नियमित बनाइनेछ ।

२२. सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको नियमित स्वास्थ परीक्षण गर्ने कार्यलाई व्यवस्थित गरिनेछ ।

२३. बर्थिङ्ग सेन्टर र स्वास्थ संस्थाहरुको सेवालाई स्तरोन्नति गरिनेछ ।

२४. नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरी रक्त सञ्चार सेवालाई सहज तुल्याइनेछ।

२५. गाउँपालिकाको बर्थिङ सेन्टर र अस्पतालमा सुत्केरी हुने यस गाउँपालिका भित्रका महिलाको लागि एम्बुलेन्स सेवा निःशुल्क गरिनेछ ।

२६. अर्गानिक खेती जडिबुटी फलफूलको विस्तार र बिकासका लागि किसानहरुलाई प्रोत्साहित गरिनेछ ।

२७. गाउँपालिका क्षेत्र भित्र हुने परम्परागत औषधीजन्य वनस्पतिको संरक्षण, खेती प्रवर्द्वन र प्रशोधनका कार्यहरु संचालन गरिनेछ।

२८. महिला स्वयंसेविकाहरुको दक्षता विकास तालिम उपलब्ध गराई उनीहरुको सेवालाई प्रभावकारी तुल्याइनेछ।

२९. स्वास्थ्य संस्थाहरुको प्रभावकारी सेवा विस्तारका लागि सार्वजनिक संस्था निजी क्षेत्र र गैरसरकारी संस्थाहरुसँग सहकार्यको नीतिलाई निरन्तरता दिइनेछ।

३०. स्वास्थ संस्थाहरुले प्रदान गर्ने आधारभुत सेवाहरुको नियमन कार्यलाई प्रभावकारी बनाइनेछ ।

३१. औधोगिक तथा ब्यावसायिक विकासका लागि सम्भाव्यता अध्ययन गरिनेछ ।

३२. सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार औधोगिक ग्राम पूर्वाधार निर्माण कार्यको थालनी गरिनेछ।

३३. उद्योग व्यवसाय दर्ता,नवीकरण, स्थानान्तरण तथा नामसारी जस्ता प्रशासनिक प्रकृयालाई सूचना प्रविधिको प्रयोग गरी सरलीकरण र प्रभावकारी बनाइनेछ ।

३४. पर्यटन मार्फत आर्थिक समृद्धि हासिल गर्न गाउँपालिकाको पर्यटन गुरुयोजनाको आधारमा पर्यटन पूर्वाधार विस्तार र पर्यटन विकासका कार्यक्रमहरु संचालन गरिनेछ।

३५. गाउँपालिका क्षेत्र भित्रका पर्यटकीय स्थलहरु जोड्न पर्यटकीय सडक संजाल कार्यान्वयन प्रारम्भ गरिनेछ।

३६. गाउँपालिका र वाहिर अन्य गाउँपालिकासंग सहकार्य गरी नेपाल पर्यटन बोर्डको सहलगानीमा सहित नयाँ प्याकेजको निर्माण तथा कार्यान्वयन गरिनेछ।

३७. विभिन्न जातजातिको परम्परागत धर्म, भाषा, कला, साहित्य, संस्कृति र संस्कारहरुको प्रवर्द्धनमा
जोड ।

३८. मुख्य स्थान चोक र गाउँपालिका प्रवेशद्वारहरुमा पर्यटकीय क्षेत्रको परिचय सहित पर्यटक
आकर्षण गर्न डिस्लप्ले बोर्ड राखिनेछ।

३९. गाउँपालिका भित्रका पर्यटकीय स्थलहरुको प्रचार प्रसारका लागि डकुमेन्ट्री प्रसारण र ब्रोशर विकास गरिनेछ।

४०. अन्य स्थानीय तहहरुका असल अभ्यासलाई अनुशरण गरी पर्यटन प्रवर्द्धन गर्न थप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गाउँपालिका र नगरपालिकासँग भगिनी सम्बन्ध विस्तार गर्न पहल गरिनेछ।

४१. कृषकहरुलाई प्राविधिक सेवाको पहुँच सरल र सहज बनाउन प्रत्येक वडामा प्राविधिक सेवा लाई निरन्तरता दिइने छ । वडा सेवा केन्द्रवाट नै अत्यावश्यक पशु र वाली विरुवाको लागि अति आवश्यक औषधी उपलब्ध गराइने छ । कृषकको पहुँच विस्तारको लागि टोल टोलमा कृषि र पशु स्वास्थ्य सम्बन्धी घुम्ति शिविर संचालन गरिनेछ ।

४२. फलफुल, तरकारी तथा अन्नबालीहरुको पकेट क्षेत्रहरु पहिचान गरी सघन कृषि क्षेत्र निर्धारण गरी ती स्थानहरुमा ब्यावसायिक कृषि पकेट क्षेत्र निर्धारण गरिनेछ।

४३. रैथाने बालीहरुको वीउ संरक्षण, खेती विस्तार र बजारीकरणको लागि विशेष प्रबन्ध मिलाइनेछ।

४४. दुग्ध संकलन केन्द्र स्थापनाको लागि पहल गरी दुध उत्पादन गर्ने कृषकलाई प्रति लिटर रु२/-का दरले अनुदान दिन बजेट व्यवस्था गरिनेछ ।

४५. गाउँपालिका भित्रका कृषकहरुको विस्तृत तथ्यांङ्क संकलन गरिनेछ ।

४६. व्यावसायिक कृषि पकेट क्षेत्रमा सिंचाइ कृषि सडक विद्युतीकरण कृषि बजार सीत भण्डार तथा गोमा घरहरुको पूर्वाधार निर्माण गरिनेछ ।

४७. तरकारी उत्पादनको लागि ब्यावसायिक, करेसावारी, बगरखेती, करार खेतीको लागि तालिम, प्रविधि र लगानीको ब्यवस्था सहितको नमूना कार्यक्रम संचालन गरी प्रोत्साहन गरिनेछ।

४८. सहकारी मार्फत किसानहरुलाई वितरण गरिने मलको लागि सदरमुकाम देखि प्रत्येक वडासम्म ढुवानी भाडा गाउँपालिकाले व्यहोर्ने व्यवस्थालाई निरन्तरता दिइ जनगुनासो रोक्न प्रभावकारी अनुगमन समेत गरिनेछ ।

४९. कृषि तथा पशुपालनलाई आधुनिक प्रविधिमा आधारित तुल्याउदै व्यवसायीकरण गरिनेछ।

५०. कृषकहरुलाई आवश्यक कृषि औजार तथा बाली बीउहरु विशेष अनुदानमा प्रदान गरी कृषिलाई आधुनिकीकरण र व्यवसायिक उत्पादन प्रणालीमा लैजान पहल गरिनेछ ।

५१. पशुधन बीमा कार्यक्रमलाई विगतदेखि नै गाउँपालिकाले ५० प्रतिशत अनुदान दिने ब्यवस्था गर्दै आएको तर प्रभावकारी ढंगले कार्यान्वयन हुन नसकेको हुँदा यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न जोड दिइनेछ ।

५२. बाख्रापालनलाई थप उत्पादनमुखी बनाउनका लागि बाखा पकेट क्षेत्रलाई विस्तार गर्ने र उन्नत जातका बोका पाठीहरू उत्पादन गर्ने कार्यलाई प्रोत्साहित गरिनेछ।

५३ पशु सम्बन्धी विभिन्न किसिमका रोग तथा महामारी रेविज नियन्त्रणका लागि आवश्यक औषधी तथा खोपको ब्यवस्था गर्ने प्रक्रियालाई थप प्रभावकारी बनाइनेछ ।

५४ समय समयमा पशुधन सुरक्षाको लागि आवश्यकता अनुसार पशु स्वास्थ्य शिविरहरु संचालन गरिनेछ।

५५. कृषि एम्बुलेन्सको व्यवस्था गरिनेछ । वडाको पहिचान दिने गरी एक वडा एक उत्पादनको पकेट उत्पादन क्षेत्र घोषणा गर्न आवश्यक पूर्वाधार तयार गरिनेछ ।

५६. सहकारी संस्थाहरुको संस्थागत सुशासन प्रवर्द्धन गर्दै निक्षेपकर्ताहरुको हित संरक्षणका लागि नियमनलाई प्रभावकारी तुल्याइनेछ।

५७. गाउँपालिका भित्र स्थापना हुने कृषि समूह निजी फर्म र सहकारीहरुको दर्ता तथा कार्य क्षेत्र अनुमति जस्ता विषयहरुलाई सदस्य केन्द्रित हुने गरी नियमन तथा संचालन गरिनेछ ।

५८. सहकारीहरुको माध्यमबाट उत्पादनशील क्रियाकलापमा संलग्न सेयर सदस्यहरुको पूँजि संकलन र परिचालन तथा स्वरोजगारीका अवसर श्रृजना हुने गरी गरिबी न्यूनीकरण गर्ने कार्यलाई प्रभावकारी बनाईनेछ ।

५९. कृषि लगायत विषयगत सहकारीलाई उद्देश्यमा केन्द्रित भई लगानी गर्ने नीति ल्याइनेछ ।

६०. दर्ता भई संचालन हुन नसकेका सहकारीहरुको पहिचान गरी संचालनमा आउन नसक्ने विषयगत सहकारीहरुलाई मर्जर तथा खारेजी प्रक्रियामा आवश्यक कार्यविधि बनाई कार्यान्वयन गरिनेछ ।

६१. कार्यालयको सेवा प्रभावकारी बनाउनको लागि सूचना प्रविधिको अधिकतम प्रयोग गरिनेछ ।

६२. गाउँपालिकाको काम कारबाहीलाई व्यवस्थित, पारदर्शी तथा सम्पूर्ण नागरिक समक्ष पुर्याउन “हाम्रो चौंरीदेउराली” नामक मोबाइल एप्स निर्माण गरी वडापत्रहरु, सूचनाहरु र गाउँपालिका प्रोफाईल आदिको जानकारी प्रदान साथै घरमै बसी अनलाईन सिफारिस लिने व्यवस्था गरिनेछ।

६३. नागरिकहरुको सूचनाको हकको सम्मान गर्दै गाउँपालिकालाई सूचना मैत्री बनाइनेछ।

६४. सेवा प्रवाहलाई सहज सरल र प्रभावकारी बनाउनको लागि सबै कर्मचारीहरुको कार्यसम्पादन करार गरी कार्यसम्पादनलाई नतिजामूलक र सेवाग्राही मैत्री बनाइनेछ ।

६५. डिजिटल नेपाल फ्रेमवर्कलाई स्थानीयकरण गरी कार्यान्वयनमा ल्याईनेछ ।

६. गाउँपालिका भित्रका टेलिफोन सेवाको सुविधा र गुणस्तर राम्रो नभएकोमा सो को समाधानको लागि सेवा प्रदायक संस्थाहरु नेपाल टेलिकम र एनसेल सँग आवश्यक समन्वय गरी नयाँ टावर निर्माणका लागि पहल गरिनेछ ।

६७. गाउँपालिकाका विभिन्न सूचना र खबर प्रवाहलाई जनता माझ पुर्याउनको लागि सामुदायिक रेडियो संघसँग आवश्यक समन्वय गरिनेछ ।

६८. न्यायिक समितिको अधिकार क्षेत्र भित्रका विवादहरुको शीघ्र निरुपण गरी प्रभावकारी न्याय सम्पादन गर्न आवश्यक नीति तथा कानूनहरुको प्रबन्ध मिलाइनेछ। न्यायमा स्थानीय जनताको पहुँचलाई सुनिश्चतता गरिने छ ।

६९. न्यायिक समितिका पदाधिकारी तथा कर्मचारीहरुको विषयगत ज्ञान र क्षमता विकासका कार्यक्रमहरु कार्यान्वयन गरिनेछ ।

७०. सभाबाट हालसम्म निर्माण भएका ऐन, कानून, कार्यविधी, निर्देशिका हरुलाई संग्रहित गरी स्थानीय कानून संग्रह प्रकाशन गरिनेछ।

७१. जनयुद्ध जनआन्दोलनका शहिद तथा वेपत्ता पारिएका परिवारहरुलाई मासिक रुपमा राहत स्वरुप दिदै आएको रु ३०००।- लाई निरन्तरता गरिनेछ।

७२. गाउँपालिका भित्र रहेका स्रोत साधन, सेवा केन्द्र लगायत नागरिकहरुको पेशा व्यवसाय,सामाजिक आर्थिक अवस्था, रोजगारीको अवस्था सहितका विवरणहरु समावेश गरी विद्युतीय स्थानीय तह पार्श्व चित्र ( Digital LG Profile) तयार गरिनेछ ।

७३. नागरिकहरुको गुनासोको प्रभावकारी सुनुवाई र कार्यान्वयन गर्न सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको व्यवस्था गरी नागरिक गुनासो ब्यवस्थापन प्रणाली तयार गरी लागु गरिनेछ।

७४. पुँजीगत खर्चको गुणस्तर बढाउन सार्वजानिक खरीद सम्बन्धी कानून बमोजिम “माघ मसान्त भित्र सम्झौताः जेठ मसान्त भित्र भुक्तानी’ को नीतिलाई कडाईका साथ कार्यान्वयन गरिनेछ।

७५. आर्थिक तथा प्रशासनिक अनुशासन कायम गर्नको लागि सम्बन्धमा बाँकीको बक्यौता, पेश्की, बेरुजु लगत विवरण अद्यावधिक गरी कडाईका साथ असुल उपर एवम् फछ्यौट गर्ने कार्य अगाडी बढाईनेछ ।

७६. स्थानीय तहमा रोजगार सृजना गर्नको लागि अध्यक्षसंग श्रम रोजगार कार्यक्रम संचालनका लागि आवश्यक वजेट विनियोजन गरिनेछ ।

७७. प्रत्येक महिनाको आय / व्ययको हिसाव गाउँपालिका तथा वडा कार्यालयको सूचना पाटी तथा वेवसाइटमा प्रकाशित गरिनेछ ।

७८. जनप्रतिनिधिहरु तथा कर्मचारीहरुको सीप तथा क्षमता अभिवृद्धिको लागि आवश्यक तालिम, गोष्ठी तथा अध्ययन अवलोकन भ्रमण कार्यक्रमलाई परिणाममुखी बनाईनेछ ।

७९. गाउँपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवा र विकास निर्माणमा हुनसक्ने भ्रष्टाचार, अपारदर्शिता तथा ढिलासुस्तीमा शुन्य सहनशीलताको नीति अख्तियार गरिनेछ । सो कार्यलाई प्रभावकारी बनाउन प्रत्येक वडा कार्यालयहरु र सार्वजनिक स्थानहरुमा गाउँपालिकाको तर्फबाट सुझाव पेटिकाहरु राखिने छ ।

८०. सेवा प्रवाहलाई प्रभावकारी बनाउन कार्यसम्पादन मूल्यांकनको आधारमा गाँउपालिका भित्रका कर्मचारीहरुको वृत्ति विकास, दण्ड र पुरस्कारको व्यवस्थालाई कार्यान्वयनमा ल्याइनेछ ।

८१. गाउँपालिकाबाट प्रवाह हुने योजना, लेखा, राजश्व, सिफारिस, घटना दर्ता लगायत सबै सेवाहरुमा सफ्टवेयर निर्माण गरी कागज विहीन प्रणाली बनाउन विद्युतीय प्रणालीमा जोड दिईने छ ।

८२.  नागरिकहरुलाई सहजीकरण गर्न गाउँपालिकामा हेल्प डेक्स राखी सेवा दिने व्यवस्था मिलाईनेछ।

८३. “उपभोक्ता हक हितको सरंक्षणको लागि खाद्य बस्तुको शुद्धता, हाम्रो प्रतिबद्धता”भन्ने नाराका साथ आधारभुत वस्तु तथा सेवाको सहज आपूर्ति र गुणस्तर कायम गर्न नियमित रुपमा बजार अनुगमन गर्ने र यस्तो अनुगमनमा उपभोक्ताहरुलाई समेत संलग्न गराइने छ।

८४. गाउँपालिका भित्रका सार्वजनिक तथा सरकारी जग्गाहरुको मिहीन ढंगले खोज तथा अध्ययन गरी अभिलेख राखी त्यस्ता जग्गाहरुको संरक्षण र उपयोग गरिनेछ।

८५. सार्वजनिक खर्चलाई वैज्ञानिक अनुमान योग्य र नतिजामुखी तुल्याउन मध्यकालीन खर्च संरचना (MTEF), खरिद योजना जस्ता औजारहरु निर्माण गरी कार्यान्वयमा ल्याइने छ।

८६. संघीय सरकार प्रदेश सरकारबाट संचालित आयोजनाहरुको अनुगमनलाई प्रभावकारी बनाइनेछ साथै सबै वडालाई सो कार्यमा सक्रिय र जिम्मेवारी बनाइनेछ ।

८७. गाउँपालिका अन्तर्गत रहेका विषयगत समितिहरुको क्षमता अभिवृद्धि गरी कार्यसम्पादनमा प्रभावकारीता कायम गरिनेछ ।

८८. खरिद तथा विक्री प्रणालीलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन विद्युतीय बोलपत्र) E- Bidding(को प्रक्रियालाई प्राथमिकता दिइनेछ ।

८९. एक घर एक धाराको अभियानलाई विस्तार र व्यवस्थित गरिनेछ । साथै बाँकी स्थानहरुमा पनि सम्पन्नताको लागि आवश्यक बजेट व्यवस्था गरिनेछ ।

९०. विभिन्न खोलानाला नदी तथा अन्य स्रोतबाट खानेपानी आपूर्ति गर्ने व्यवस्थाको लागि प्राविधिक सम्भाव्यता अध्ययन गरी संघ सरकार र प्रदेश सरकारको सहकार्यमा निर्माण कार्य अघि बढाइनेछ।

९१. खानेपानीको जटिलतम समस्यालाई सम्बोधन गर्नको लागि तत्कालीन,अल्पकालीन र दीर्घकालीन समाधानका सम्भाव्य स्रोतहरूको खोजी गर्न योजना तयार गरी खानेपानीको उत्पादन तथा वितरणको ब्यवस्था मिलाइनेछ ।

९२. जलाधार संरक्षण कार्यक्रम संचालन गरी गाउँपालिका भित्र रहेका भूमिगत पानीका मूलहरू, जलाधार र सिमसार क्षेत्रको संरक्षण एवम प्रवर्द्धन गर्दै ती स्रोतहरुबाट खानेपानी आपूर्तिको प्रभावकारी प्रबन्ध मिलाइनेछ।

९३. सडक किनारा र सार्वजनिक स्थानहरुलाई हरियाली र सुन्दर तथा सफा राख्न बृक्षारोपण र फोहोर व्यवस्थापन कार्यलाई अगाडी बढाइनेछ ।

४. टोल विकास संस्था र सामाजिक संघ संस्थाहरुसँग फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहकार्यको नीति लिइनेछ ।

९५. अस्पताल जन्य फोहोरलाई व्यवस्थित तुल्याउन सम्बन्धित निकायहरुलाई पूर्ण रुपमा जिम्मेवार बनाइनेछ। जथाभावी फोहोर फाल्ने र फोहोर गर्ने व्यक्तिलाई जरिवाना तथा अन्य दण्ड सजायको लागि नियमन गर्ने र यसको लागि संघसंस्था र समुदायसंग साझेदारी गरिनेछ।

९६. प्लाष्टिक जन्य फोहोर नियन्त्रण तथा न्यूनीकरण गर्न प्लाष्टिक झोलाहरुको प्रयोगलाई निरुत्साहित गरिने छ ।

९७. गाउँपालिका भित्रका मुख्य स्थानहरुमा समुदायको सहकार्यमा उपयुक्त जग्गाको खोजी गरी खानेपानी, सार्वजनिक शौचालयहरु निर्माण तथा संचालनलाई अभियानका रुपमा अगाडि बढाइनेछ।

९८. पुराना सल्लाका रुखहरु विस्थापित गरी नयाँ प्रजातीका बोट विरुवा लगाउन प्रोत्साहन गरिनेछ।वृक्षारोपण कार्यलाई निरन्तरता दिई प्रत्येक बर्ष गाउँपालिकाको जनसंख्या वराबरको वृक्षारोपण गर्ने अभियानको शुरुवात गरी “ जन्म दिन र अन्य समारोहमा वृक्षारोपण गर्न प्रोत्साहित गरिनेछ ।

९९. प्रत्येक वडाले सामुदायिक वन, निजी वन, कवुलियती वन, संरक्षित वन लगायत सबै वन समूहलाई सक्रिय पर्यावरणीय एवम् जैविक विविधतामा सन्तुलन कायम राख्न पहल गरिनेछ । पूर्वाधार आयोजनाहरुको कार्यान्वयन गर्दा त्यस्ता आयोजनाहरुले वातावरणमा पार्ने असर न्यूनीकरणको लागि प्रारम्भिक वातावरणीय परीक्षण (IEE) र वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) लाई प्राथमिकता दिइनेछ।

१००. खाली जग्गामा वृक्षरोपण,  हरियाली प्रवर्द्वन तथा वनको संरक्षण र वन संरक्षणमा सुधार गरी जल जमीन तथा वातावरणको संरक्षण र जीविको पार्जनको अवसरमा वृद्वि गरिनेछ ।

१०१. पोखरी संरक्षण पहिरो तथा गल्छि नियन्त्रण विकासका पूर्वाधारका संरक्षण र नदी नियन्त्रण गरी जल,जमीन तथा जलाधारको संरक्षण गरिनेछ ।

१०२. ढुंगा, गिट्टि, बालुवा जस्ता नदीजन्य पदार्थ र अन्य प्राकृतिक श्रोतहरुको अनाधिकृत एवम् अवैज्ञानिक दोहनलाई आवश्यक कानून बनाइ प्रभावकारी नियन्त्रण गरिनेछ।

१०३. भुकम्पीय जोखिम न्यूनीकरणको लागि कानून बनाई भुकम्प प्रतिरोधि भवन तथा संरचना निर्माण कार्यलाई प्राथमिकता दिइनेछ। साथै जनचेतनाका कार्य संचालन गरिनेछ ।

१०४. विपद् जोखिम व्यवस्थापन कोषमा रकम अभिवृद्धि गर्दै प्रभावकारी श्रोत परिचालन विपदको ब्यवस्थापनको तयारी गरिनेछ ।

१०५. गाँउपालिकाको प्रशासनिक भवन निर्माण लागि पूर्व तयारी भइसकेकोले यसै आर्थिक वर्षमा भवन निर्माणको लागि बजेट ब्यवस्था गरिनेछ ।

१०६. पूर्वाधार मर्मत तथा सम्भार कोष नीति तर्जुमा गरी सबै वडाहरुमा वर्षायाममा समेत यातायात सेवा सुचारु गर्न सडक मर्मत सम्भारलाई उच्च प्राथमिकतामा राखिनेछ ।

१०७. पूर्वाधार निर्माणका आयोजनाहरु संचालन गर्दा लागत लाभ विश्लेषणका आधारमा उच्च नतिजा एवम् प्रतिफल दिने, समतामूलक विकासको आधारको रुपमा रहने, पिछडिएका र कम विकास भएको क्षेत्रलाई मूल प्रवाहीकरणमा ल्याउन सहयोग गर्ने आयोजनाहरु पहिचान गरी “आयोजना
बैंक” तयार गरिने छ। सो बैंकमा समाविष्ट आयोजनाहरुमा मात्र बजेट विनियोजन गर्ने नीति लिइनेछ।

१०८. गाउँपालिका भित्र बाटो सडक निर्माणमा दीर्घकालीन लगानी मार्ग दर्शनका लागि
गाउँपालिकाको सडक गुरुयोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ।

१०९. गाउँपालिकाको विकासमा रुपान्तरणकारी परिवर्तन ल्याउन सक्ने केहि ठुला आयोजनाहरु पहिचान गरी गाउँपालिकाको गौरव आयोजनाका रुपमा कार्यान्वयन गरिनेछ र त्यस्ता आयोजनामा श्रोतको अभाव हुन नदिनको लागि संघ र प्रदेश सरकारसंग आवश्यक समन्वय गरिनेछ ।

११०. विगत देखिका निर्माणाधीन तथा अधुरा योजनाहरुलाई सम्पन्न गर्न क्रमागत रुपमा बजेट विनियोजन गरिनेछ।

१११. तेस्रो चौमासिकसम्म ८० प्रतिशत आयोजनाको निर्माण कार्य सम्पन्न गरी भुक्तानी भएका वडाहरुमध्येबाट उत्कृष्ट वडालाई प्रोत्साहन स्वरुप चालु आ.व.मै सम्पन्न हुने गरी सो वडाको नयाँ योजनाको लागि रु ५ लाख थप वजेटको व्यवस्था गरिनेछ ।

१२. भवन र सडक जस्ता पूर्वाधार निर्माणलाई वैज्ञानिक बनाउनको लागि सम्बन्धी आवश्यक कानुन निर्माण गरि कार्यान्वयनमा ल्याइनेछ ।

११३. गाउँपालिकाभित्र भू उपयोग नीति सम्बन्धी आवश्यक कानून निर्माण गरी कार्यान्वयन गरिनेछ ।

११४. गाउँपालिकाको स्वामित्वमा रहेको भौतिक संरचनाहरुको आवधिक रुपमा मर्मत सम्भार गरी गाउँपालिकाको सार्वजनिक सम्पत्ति दुरुपयोग हुनबाट रोक्ने कार्य गरिनेछ ।

११५. सामुदायिक विद्युतीकरण भएका वडाहरुमा काठका पोलहरु विस्थापित गरी स्टिल पोल राख्न सम्बन्धित निकायसँग समन्वय गरिनेछ भने मिति गुज्रेका सामुदायिक विद्युतीकरण भएका वडालाई राष्ट्रिय प्रसारण लाईनमा जोड्न पहल गरी विद्युतमा सबैको पहुँच सहज बनाइनेछ ।

११६. गाउँपालिकाको सीमा क्षेत्र यकिन गरी गाउँपालिका सीमानामा कलात्मक तथा गाउँपालिकाको ऐतिहासिक मौलिकता झल्किने गरी स्वागतद्वारहरुको निर्माण गरिनेछ।

११७. प्रभावकारी सम्पति ब्यवस्थापनका लागि सम्पति ब्यवस्था सूचना प्रणाली ( Asset Management Information System) तयार गरी लागु गरिनेछ ।

११८. हामीले तिरेको कर हाम्रै लागि, करदाताको सहभागिता विकास र समृद्धिको लागि” भन्ने नाराका साथ गाँउबासीलाई कर तिर्नु बोझ नभई आफ्नो दायित्व र कर्तव्य हो भन्ने कुरा प्रत्याभूत गरी करको दायरा विस्तार गर्ने नीति लिइनेछ।

११९. आन्तरिक आयका स्रोतहरुको सम्भाव्यता अध्ययन राजश्व बाँडफाँट, अन्तर सरकारी वित्तीय हस्तान्तरण तथा गैससको स्रोत परिचालनको लागि स्थानीय सरोकारवाला, प्रदेश सरकार र नेपाल सरकारका निकाय तथा गैसस र विकास साझेदारसंग परामर्श, समन्वय र साझेदारी गरिनेछ ।

१२०. कर प्रणालीमा व्यापक सुधार ल्याउनको लागि यस आर्थिक वर्षलाई व्यावसायिक कर र एकीकृत सम्पति कर वर्षको रुपमा घोषणा गरिनेछ ।

१२१. वजेट विनियोजन, जनसङख्या, भूगोल, व्यवसायको आधारमा कर संकलन गर्ने उत्कृष्ट वडा र कर्मचारीलाई पुरस्कृत गरिनेछ । साथै धेरै कर सकंलन गर्ने वडालाई प्रोत्साहन स्वरुप यसै आ.व. वर्ष सम्पन्न हुने गरी रू १ लाखसम्मको वजेटको व्यवस्था गरिनेछ ।

१२२. करदाताहरुलाई आफूले तिर्नु पर्ने मोटामोटी कर दायित्व र कर तिर्ने समय सीमा समयमै जानकारी दिनको लागि विद्युतीय प्रणालीद्वारा सन्देश प्रवाह गरिनेछ ।

१२३. करदाताहरुको अभिलेख व्यवस्थापन सुदृढ गर्दै गाँउपालिका भित्रका उत्कृष्ट करदाताहरुलाई पुरस्कृत तथा सम्मानित गर्ने नीति लिइनेछ ।

१२४. कर प्रशासनलाई सूचना प्रविधिमैत्री एवम् करदातामैत्री बनाउनको लागि राजश्व सकंलन कार्य
अनलाइन सफ्टवेयर प्रणालीमा सम्बन्धित वडा कार्यालयबाट समेत गरिनेछ।

१२५. नयाँ सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिकहरु वडा कार्यालयबाट पहिचान गरी बेलैमा सूचना गरी समयमा नै सामाजिक सुरक्षा भत्ता पाउने सुनिश्चता गरिनेछ ।

१२६. व्यक्तिगत घटना दर्ता कार्यलाई अनलाईन मार्फत दर्ता गर्ने कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

१२७. सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाट नै वितरणको लागि आवश्यक व्यवस्था गरिनेछ।

१२८. यस गाउँपालिका भित्र सामाजिक तथा आर्थिक रुपमा पछि परेका समुदायका व्यक्तिहरुलाई विविध लघुउद्यम विकास कार्यक्रमहरु मार्फत रोजगारी सृजना गरिनेछ ।

१२९. गाउँपालिकालाई खुल्ला बहुसांस्कृतिक संग्रहालयको रुपमा विकास गर्न पूर्वाधार निर्माण गर्दा वहुसांस्कृतिक, भाषिक परम्परागत मौलिकता झल्कने वास्तुकला, मूर्तिकला, चित्रकला जस्ता symbol हरु निर्माण गरिने निति लिईनेछ ।

१३०. गाउँपालिका भित्र बोलिने विभिन्न जातजातिका मातृभाषाहरुको संरक्षण गर्दै त्यस्ता भाषाको लिपी संरक्षण गर्न प्रोत्साहित गरिनेछ

१३१. गाउँपालिका भित्र आयोजना हुने महोत्सवहरुमा विविध जातीय भेषभूषा कला साहित्य संगीत संरक्षण गर्ने नीति लिइनेछ ।

१३२. खेलकुद विकास समितिको गठन गरी युवा जनसमुदायलाई खेल प्रति लगाव सृजना गर्न सहकार्य र साझेदारी मार्फत विविध खालका खेलकूद कार्यक्रमहरु संचालन गरिनेछ ।

१३३. लागु पदार्थ तथा दुर्व्यसन विरुद्ध विद्यालय स्तरबाट नै चेतना अभिवृद्धि गर्ने कार्यक्रम संचालन गरिनेछ ।

१३४. युवा उद्यमशिलता विकासका कार्यक्रमहरु मार्फत युवालाई “विदेश हैन व्यापार” भन्ने भावना जागृत तुल्याई युवा लक्षित कार्यक्रम ल्याइनेछ साथै उनिहरुको लागि पशु, कृषि, साना उद्योगमा राहतका कार्यक्रम संचालन गरिनेछ ।

१३५. युवा बेरोजगारी न्यूनीकरणका लागि सरकारी गैर, सरकारी सहकारी तथा नीजि क्षेत्रको समन्वय र सहकार्यमा सिप तथा उद्यमशिल क्षमता विकासका कार्यक्रमहरु संचालन गरिनेछ ।

१३६. खेलकुदको विकास गर्न गाउँपालिका भित्र रहेका खेलकुद मैदान लगायतका खेल पूर्वाधार निर्माण तथा मर्मत सम्भार गरिनेछ।

१३७. विपन्न, गरीव र सुकुमबासी परवारका युवाहरुलाई इलेक्ट्रोनिक्स सामाग्री मर्मत, प्लम्बिङ तथा इलेक्ट्रिसियन, ब्युटि पार्लर, होटल म्यानेजमेन्ट, ड्राइभिङ, व्यवसायिक पशुपालन तथा तरकारी खेती जस्ता तालिमहरु प्रदान गरी गरीबी न्यूनीकरण र जिविकोपार्जनमा सहजीकरण गरिनेछ।

१३८. युवाहरुमा श्रम प्रतिको, सम्मान स्वंम सेवीको, भावना राष्ट्रप्रेम र अनुशासन जगाउने उद्देश्य राखी गाउँपालिकाबाट विभिन्न खेलकुद कार्यक्रमहरु आयोजना गरिनेछ।

१३९. लैङ्गिक विभेद अन्त्य गर्दै लैङ्गिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी नीति तथा कार्यक्रम कार्यान्वयन गरिनेछ ।

१४०. महिला बालबालिका अल्पसंख्यक भूमिहीन अति गरीब आदिवासी जनजाति र सामाजिक बहिस्करणमा परेका वर्गको लागि उत्थानशील कार्यक्रम संचालन गरिनेछ ।

१४१. ऐतिहासिक कालदेखि दलित समुदायले जीवन निर्वाहको रुपमा अपनाइ आएका परम्परागत पेशालाई व्यवसायिक उद्यमको रुपमा विकास गर्न पुँजि लगानीमा सहयोग गरिनेछ।

१४२. विकास आयोजनाहरुको दिगोपन र अपनत्व भाव विकास गर्नको लागि टोल विकास संस्थाहरुलाई प्रभावकारी रुपमा सहभागी गराइ परिचालन गरिनेछ ।

१४३. ज्येष्ठ नागरिकहरुको सम्मान र सेवा सरलताको लागि परिचयपत्र वडास्तरबाट नै उपलब्ध गराउने व्यवस्था मिलाइनेछ ।

१४४. “अध्यक्षसँग गृहिणी महिला” कार्यक्रम संचालन गरी पिछडिएका महिलाहरुको पहुँचलाई सुनिश्चितता गर्न आवश्यक व्यवस्था मिलाईनेछ।

१४५. लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यविधि अनुसार लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण (GESI Audit) गर्ने र कार्ययोजना कार्यान्वयन गरिनेछ ।

१४६. गर्भवती महिलाहरुको लागि आमा सुरक्षा कार्यक्रम र नवजात शिशुको लागि पोषण कार्यक्रम
थप प्रभावकारी बनाईनेछ ।

१४७. गाउँपालिका तथा वडास्तरीय बाल क्लब संजाललाई प्रभावकारी रुपमा परिचालन गरी बाल अधिकार र बालश्रम विरुद्वको अभियानलाई प्रभावकारी बनाइनेछ।

१४८. बालमैत्री स्थानीय तह घोषणा गर्न आवश्यक तयारी गरी सवै वडाहरुलाई सक्रिय बनाइनेछ।

अन्त्यमा.
यस नीति तथा कार्यक्रम निर्माणमा सहयोग पुयाउनुहुने सम्पूर्ण सभा सदस्यज्यूहरु,नागरिक समाज, वुद्विजीवि, पत्रकार, कर्मचारी मित्रहरु लगायत सम्पूर्णलाई हार्दिक धन्यबाद दिँदै यहाँहरुको गरिमामय उपस्थितिका लागि हार्दिक आभार व्यक्त गर्दछु । गाउँपालिकाले अघि सारेका प्रस्तुत नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्नको लागि सहयोग पुर्याउन यहाँहरु सबै प्रति हार्दिक अपिल गर्दछु ।

धन्यबाद !

रेणुका चौलागाई

अध्यक्ष

२०८० असार ९ गते

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।