बनेपा– काभ्रे जिल्लाको व्यापारीक केन्द्र बनेपाको उग्रेश्वर मन्दिर परिसरमा ‘बनेपा महोत्सव–२०८०’ आजबाट शुरु भएको छ । आज (शुक्रबार) बागमति प्रदेशका खानेपानी, उर्जा तथा सिंचाईमन्त्री तीर्थबहादुर लामाले एक समारोहका बीच महोत्सवको उद्घाटन गरेका छन् ।
‘हाम्रो अभियान, खेलको शान, संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने मूल नाराका साथ बनेपा ब्वाइज क्लब (बीबीसी)को आयोजनामा भएको महोत्सव आगामी कार्तिक ४ गतेसम्म चल्ने छ ।
उद्धघाटन अघि बनेपा पार्टी भेन्यु देखि बनेपा बजार परिक्रमा गर्दै महोत्सवस्थलसम्म स्थानीय कला संस्कृति झल्कने बाजागाजा, नाच, झाँकी सहित विभिन्न संघसंस्था, कलेज, क्लबको सहभागितामा र्याली निकालिएको थियो ।
महोत्सवमा के–के हुन्छ ?
महोत्सवमा बालबालिकाहरुको मनोरञ्जनका लागि बालउद्यानको व्यवस्था गरिएको छ । आयोजकका अनुसार हरेक दिन राष्ट्रिय स्तरका कलाकारहरुलाई सम्मिलित गराउँदै जिल्ला भित्रका नवप्रतिभावान कलाकारहरुलाई विशेष प्राथमिकता दिइनेछ जनाएको छ ।
बिहानको समयमा खेलकुद प्रतियोगिता हुनेछन् भने दिउँसोको समयमा स्थानीय कलाकारहरूद्वारा सांस्कृतिक र प्रतिस्पर्धात्मक कार्यक्रम हुनेछन् । साँझको समयमा राष्ट्रिय स्तरका कलाकारहरु सहभागी हुनेछन् । महिला भलिबल, खुल्ला नृत्य तथा गायन, मार्सलआर्ट र बनेपा सम्बन्धी चित्रकला प्रतियोगिता सञ्चालन हुनेछन् ।
शुल्क कति लाग्छ ?
महोत्सवमा सहभागी हुन आउनेहरु मध्ये जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई निःशुल्क सहभागिताको अवसर हुनेछ भने विद्यार्थीहरुका लागि ४० रुपैयाँ र अन्यका लागि ६० रुपैयाँको टिकट लाग्नेछ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























