भक्तपुर । भक्तपुर जिल्लाको पर्यटकीय नगरी नगरकोटमा कार्तिक २३ गते देखि २५ गतेसम्म तीन दिन सडक महोत्सव हुने भएको छ । नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरि नगरकोट सडक महोत्सव गर्न लागिएको हो ।
‘प्राकृतिक सम्पदा, कला र संस्कृति पर्यापर्यटनको विकास नगरकोटको उन्नति’ भन्ने मूल नाराका साथ महोत्सव हुन लागेको आयोजक नगरकोट नाल्दुम पर्यटन विकास समितिले जनाएको छ ।
समितिका सचिव प्रदिप अघिकारीले नगरकोटको पर्यटन प्रर्वद्धन तथा दिगो पर्यटनको विकासका लागि नगरकोटलाई पर्यटनको हव बनाउन सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिए । उनले स्थानीय भाषा, कला, प्रतिभा, प्राकृतिक सम्पदा एवम् संस्कृतिलाई उपयोग गर्दै पर्यटकलाई आकर्षित गरि नगरकोटको विकासमा योगदान पुर्याउन नगरकोट भ्रमण वर्ष २०८२ को तयारी स्वरुप सडक महोत्सवको आयोजना गरिएको बताए ।
महोत्सवमा स्टल संख्या २५ रहने छ । नगरकोट प्रहरी चौकी तल मुल सडक, गडगडे स्कुल अगाडि, नगरकोट टावर जाने सडक र नाल्दुम चोक देखि महाकालि स्कुल माथि सम्म स्टल रहने नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन गुरुङले जानकारी दिए ।
महोत्सवमा प्रत्यक्ष सांगितिक एवम् स्थानीय कला र प्रतिभा प्रस्तुतिका साथै लोक दोहोरी कार्यक्रम, स्थानीय खानाका परिकारहरु, कृषि मेला, चंगा चेट, मुहार चित्रकारितालगायतका विभिन्न सामग्रीहरु प्रदर्शनमा रहने चाँगुनारायण नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष धनबहादुर लामाले बताए ।
उक्त महोत्सव नगरकोटको महामञ्जुश्री चोकमा हुने तयारी भइरहेको उनले जानकारी दिए । महोत्सवमा एक लाख हाराहारीको सहभागी हुने आयोजकले अपेक्षा गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























