खानीखाेला– काभ्रे जिल्लाको खानीखोला गाउँपालिकामा ‘दोस्रो खानीखोला कप खेलकुद प्रतियोगिता’ भोलिबाट शुरु हुने भएको छ । गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार भोलिदेखि सञ्चालन हुने प्रतियोगितामा फुटबल र भलिबल समावेश गरिएको जानकारी दिए ।
अध्यक्ष थिङका अनुसार गाउँपालिकाको खेलकुद विकास समितिका आयोजनामा ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारालाई आत्मसात गर्दै खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो । उनले दोस्रो खानीखोला कप वडास्तरीय हुने बताए ।
खानीखोला गाउँपालिका खेलकुद विकास समितिका संयोजक प्रेम प्रकाश लामाले फुटबलमा विजेतासँगै द्वितीय र तृतीय हुने टिमले पुरस्कार स्वरूप क्रमशः ४० हजार रुपैयाँ, ३० हजार र २० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने बताए ।
त्यस्तै भलिबल तर्फका प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः नगद २५ हजार, २० हजार र १५ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउनेछन् । फुटबलमा प्रथम कपमा भन्दा यसपटक पुरस्कार राशी बढाउँदा भलिबलमा भने यथावत् राखिएको छ । प्रथम खानीखोला कपमा समावेश कराँते विधातर्फ पुरुष र महिला दुवै खेल दोस्रो कपमा भने हटाइएको छ ।
यसअघि नयाँ वर्षको अवसर पारेर ‘प्रथम खानीखोला कप प्रतियोगिता’ आयोजना गरेको आयोजकले यसपटक भने तिहार तथा छठ पर्वको अवसरमा दोस्रो खानीखोला कप प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























