बेथानचाेक– काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्बर ६ मा कान्छी माया तामाङ फाउण्डेशनको सहकार्य र सहयोगमा महिलाहरुको पाठेघरको मुख क्यान्सरको निःशुल्क जाँच शिविर सम्पन्न भएको छ ।
वडा नम्बर ६ को आयोजनामा भएको सो शिविर शिविर पाँगु भुग्देउ स्वास्थ्य चौकीमा सञ्चालन गरिएको थियो ।
शिविरमा ११५ जना महिलाहरुले सेवा लिएको फाउण्डेशनका अध्यक्ष डा. दिल बहादुर थोकरले जानकारी दिए । शिविरमा पाठेघर जाँच गराएका मध्ये ३ जनामा अप्रेशन गर्नुपर्ने देखिएको थाेकरले बताए ।
शिविरमा महिला रोग विशेषज्ञ डा. सञ्जिब योञ्जन र डा. निता तिमिल्सिना फिजियोथेरापिस्ट डा. प्रभाकरण तिमिल्सिनाले सेवा प्रदान गरेका थिए ।
शिविरमा महिलाहरुका लागि स्यानिटरी प्याड र हाइजिन किट प्रदान गरिएको थियो । शिविर समापन कार्यक्रममा बोल्दै Association Crops Coeur Espri का अध्यक्ष Didie ले शिविर निकै फलदायी भएको बताए । ‘नेपालको ग्रामीण भेगमा अझै पनि महिला दिदीबहिनीहरु खुलेर आफ्नो समस्या भन्न नसकिरहेको अवस्थामा गाउँघरमै विशेषज्ञ सहितको शिविरले धेरै सहयोग पुगेको छ भन्ने हामीले विश्वास लिएका छौँ । नेपालका ग्रामीण बस्तीहरुमा शिक्षा, स्वास्थ्य र जीविकोपार्जनमा सहयोग गर्ने हाम्रो उद्देश्य छ । हामीले यसलाई निरन्तरता दिन्छौँ ।’ Didie ले भने ।
वडा अध्यक्ष विष्णु तामाङले गाउँमा महिलाहरुका लागि मात्रै छुट्टै स्वास्थ्य शिविर सञ्चालन गरेर ठूलो सहयोग गरेको बताए । ‘पहिलो कुरा रोग लाग्न नदिनु नै महत्वपूर्ण हो । आफ्नो शरिरमा रोग छ कि छैन् भनेर आफ्नै ठाउँमा निःशुल्क जाँच्न पाउनु अर्को महत्वपूर्ण पक्ष हो । आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा गर्दछौँ ।’ उनले भने ।
फाउण्डेशनका अध्यक्ष थोकरले ग्रामीण भेगका महिलाहरुमा लुकेर रहेको रोग पत्ता लगाउन शिविर सञ्चालन गरिएको बताए । ‘हाम्रो फाउण्डेशनले ग्रामीण भेगमा पुगेर विभिन्न सहयता सम्बन्धित काम गर्दै आइरहेको छ । यो पनि त्यसैको निरन्तरता हो । शिविरबाट अप्रेशनका लागि छनौट भएकाको पनि हामी निःशुल्क अप्रेशन गर्ने छौँ ।’ डा. थोकरले भने ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























