तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ९ मा रहेको मैनाजाङ आधारभूत विद्यालयलाई तामाङ समाज यूएईले आर्थिक तथा शैक्षिक सामाग्री सहयोग गरेको छ । आज एक कार्यक्रमका बीच विद्यालयलाई नगद रु १ लाख ५५ हजार ५ सय ५५ हस्तान्तरण गरेको थियो ।

सो रकम प्रतिनिधि सभा सदस्य तथा पूर्व राज्यमन्त्री सूर्यमान दोङ मार्फत हस्तान्तरण गरेको थियो । साथै सांसद दोङले विद्यार्थीहरुलाई शौक्षिक सामाग्री समेत वितरण गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद दोङले विद्यालयलाई सहयोग गरेकोमा तामाङ समाज यूएईलाई धन्यवाद दिंदै प्राप्त सहयोगलाई सदुपयोग गर्न विद्यालयलाई अनुरोध गरे । उनले विद्यालय भवन निर्माणको लागि पहल गर्ने समेत प्रतिबद्धता जाहेर गरे ।

त्यसैगरि गाउँपालिका उपाध्यक्ष दलमान थोकरले विद्यालय समायोजन भएपछि आफूले विद्यालयलाई आवश्यक परेको सबैप्रकारको सहयोग गरेको बताए ।

त्यस्तै तामाङ समाज यूएईका निवर्तमन अध्यक्ष तथा संरक्षक महेश मोक्तानले तामाङ समाजलाई शिक्षाको माध्यमबाट मिहनेती बनाउन र शिक्षा सम्बन्धी सकारात्मक सन्देश दिनका लागि आफूहरुले विद्यालयलाई सहयोग गरेको बताए । भाग्य भन्दा पनि मिहनेतमा विश्वास गर्नुपर्ने बताउँदै मोक्तानले औपचारिक शिक्षालाई शिक्षा भन्न नहुने र जीवन यापनको लागि चाहिने सबै ज्ञान नै शिक्षा भएको चर्चा गरे ।

कार्यक्रममा तामाङ समाज यूएईका उपाध्यक्ष बेदता घिसिङ, तामाङ समाज यूएईका निवर्तमान अध्यक्ष जितेन्द्र गोले, तामाङ समाज यूएईका क्षेत्रिय सचिव लवाङदोर्जे लामा, पत्रकार ग्याम्जो थोकर लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन प्रधानाध्यापक डिलबहादुर दोङले गरेको थियो भने अध्यक्षता विव्यस अध्यक्ष डिएस लामाले र स्वागत शिक्षक पुङ्गेश्वरी तामाङले गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।