धुलिखेल– काठमाडौँ विश्वविद्यालयले यस हप्ता आफ्नो स्थापना दिवस तथा दीक्षान्त समारोहका कार्यक्रम आयोजना गर्ने भएको छ । विश्वविद्यालयले ३२ औं स्थापना दिवसको अवसर पारेर सोमबार (मंसिर २५ गते) स्थापना दिवस तथा बुधबार (मङ्सिर २७ गते) दीक्षान्त कार्यक्रम आयोजना गर्न लागेको हो ।
कार्यक्रम सम्बन्धी जानकारी दिन आज पत्रकार सम्मेलन गरेको थियो । स्थापना दिवस समारोहमा तीन विशिष्ट विद्वानहरूको अभिनन्दन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा विश्वविद्यालयका प्रवक्ता तथा सहप्रध्यापक एक्कुमाया पुनले जानकारी दिए । प्रवक्ता पुनका अनुसार अभिनन्दित हुनेमा काठमाडौं विश्वविद्यालयको चिकित्साशास्त्र विभागका संस्थापक डीन डा. नरेन्द्र बहादुर राना, जर्मन कला साधक तथा काठमाडौं विश्वविद्यालयको स्कुल अफ आर्टसको सङ्गीत विभागका संस्थापक विभागाध्यक्ष प्राध्यापक गर्ट माथियास वेग्नर र पूर्व सभामुख दमननाथ ढुड्गाना रहेका छन् ।
यसरी हुँदैछ दिक्षान्त समारोह
काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोह (पहिलो चरण) २०८० मङ्सिर २७ गते बुधबार बिहान ११ बजे काठमाडौँ विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा हुने भएको छ । प्रवक्ता पुनका अनुसार कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षता, शताब्दी पुरुष वरिष्ठ चिकित्सक डा. गौरीशंकरलाल दासको प्रमुख आतिथ्य र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति अशोक कुमार राई र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीको उपस्थिति रहने जनाएको छ ।
कति जना छन् दिक्षित हुने विद्यार्थीहरु
पत्रकार सम्मेलनमा प्रवक्ता पुनले दिक्षित हुने विद्यार्थीहरुको संख्या समेत सार्वजनिक गरेका छन् । पुनका अनुसार समारोहमा काठमाडौं विश्वविद्यालयबाट स्कुल अफ आट्र्स एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पीएचडी, डिएम र एमसिएच तहका १८ जना, एमफिल तहका ३८ जना, स्नातकोत्तर तहका ३१४ जना, पिजिडी तहका ५२ जना, र स्नातक तहका १ हजार ४ सय १६ जना सहित जम्मा १ हजार ८ सय ३८ जना विद्यार्थी दीक्षित हुनेछन् । तीमध्ये आर्टसका २०९ जना, एजुकेसनका २२५ जना, इन्जिनियरिङका ३९ जना, लका ३९ जना, मेनेजमेन्टका ४४८ जना, मेडिकल साइन्सेजका ७७७ जना र साइन्सका १०१ जना रहनेछन् । दीक्षित हुने विद्यार्थीहरुमध्ये भारत, श्रीलंका र माल्दिभ्स गरी ३ देशका ११३ जना विदेशी विद्यार्थी रहनेछन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।