तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले सामुदायिक विद्यालय सुधारको लागि पहल शुरु गरेको छ । गाउँपालिकामा रहेको १० वटा माविका विव्यस अध्यक्ष र प्रधानाध्यापकहरुसँग गाउँपालिकाको सभाहलमा छलफल शुरु गरेको हो ।
गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष दलमान थोकरको अध्यक्षतामा छलफल भएको थियो । छलफल कार्यक्रममा पालिका अध्यक्ष तामाङले सामुदायिक विद्यालयको शिक्षामा सुधार हुन नसक्नुमा सबै पक्ष जिम्मेवार रहेको धारणा राखे । शैक्षिक सुधारको लागि गाउँपालिकाले परिणाम निक्लिने गरी छलफल शुरु गरेको बताउँदै अध्यक्ष तामाङले तेमालमा शैक्षिक सुधार गरेरै छाड्ने प्रतिबद्धता जाहेर गरे ।
‘सुधार गर्न धेरै समस्या छ, हरेक समस्याको समाधान गर्न यसरी नै छलफल गरेर अगाडि बढ्न अनुरोध गर्दछु ।’ उनले भने, ‘विद्यार्थी फेल हुनुमा शिक्षक मात्र दोषी होइन अभिभावक पनि हुन सक्छ । अब सबैले जिम्मेवार भएर सोच्नुपर्ने छ । तेमालमा शैक्षिक सुधार गर्न पहल शुरु भयो । अब सुधार गरेरै छाड्नेछु ।’
अध्यक्ष तामाङले समाज बदल्न शिक्षकहरुको भूमिका अहम हुँदै आएको चर्चा गर्दै परिक्षाको चिन्ता गर्ने विद्यार्थी नभएर पढाइमा चिन्ता गर्ने विद्यार्थी बनाउन शिक्षकहरुलाई अनुरोध गरे । ‘संसार बदल्ने भनेको शिक्षक हो । समाज बदल्न किताबी ज्ञान मात्र होइन बाहिरी ज्ञान पनि हुनुपर्छ ।’ उनले भने, ‘विद्यार्थीलाई पढाइमा अब्बल बनाउन आवश्यक छ । जो विद्यार्थी परिक्षाको चिन्ता लिन्छ त्यो अब्बल विद्यार्थी होइन जो विद्यार्थी पढाइको चिन्ता ब्यक्त गर्ने विद्यार्थी चाहिं अब्बल हो ।’
यसैबीच उपाध्यक्ष थोकरले नयाँ शैक्षिक सत्र शुरु हुनु अघि शैक्षिक योजना निर्माण गर्न छलफल आयोजना गरिएको बताए । ‘शैक्षिक सुधार गर्न केके आबस्यक छ भन्ने कुरा बुझ्न यो छलफल गरेको हो । तेमालको शैक्षिक सुधारको लागि आजैबाट पहल लिएनौ भने धेरै ढिलो हुन्छ ।’ थोकरले भने, ‘कमजोरी सबैको छ । अभिभावकलाई मात्र दोस दिएर हामी पन्छिनु हुन्न । विद्यार्थीको मनोबिज्ञान बुझेर ओर्क आउट गर्न आबश्यक छ ।’
पालिकाले सुधार योजना ल्याएपछि परिणाम आउने गरि शिक्षकहरुले जाँगर निकाल्नुपर्नेमा उनले जोड दिए । शैक्षिक सुधारको लागि गाउँपालिकाले सबै चिजको व्यवस्था गर्ने उनले बताए ।
‘तेमालमा शैक्षिक सुधारको लागि हामी जे गर्न नि सक्छौ तर हामीले सबै व्यवस्था गरेपछि परिणाम राम्रो आउनुपर्छ ।’ उनले भने, ‘राम्रो परिणम आएन भने कि जानू पर्छ कि जाँगर चलाउनु पर्छ । काम गर्नेलाई पुरस्कृत र नगर्नेलाई दण्डित पनि गर्नेछौ । अध्यक्ष कै नेतृत्वमा हामी शैक्षिक सुधार गर्ने नै हो ।’
गाउँपालिकाको शिक्षा शाखा प्रमुख कृष्णराम घिमिरेले तेमालमा विद्यार्थीको कक्षास्तर बढ्दै जाने तर अक्षर समेत नचिन्ने अवस्थामा रहेको बताए । पाठ्यक्रम परिवर्तन भएकोले शिक्षकहरुलाई अभिमुखिकरण नगरेकोले पनि समस्या आएकोब बताउँदै घिमिरेले सूचना प्राविधिमा शिक्षकहरु कमजोर रहेको बताए ।
कार्यक्रममा शिक्षा शाखा सहायक भिमलाल लामा, वडा नं. ३ का वडा अध्यक्ष विष्णुबहादुर तामाङ, जनचेतना माविका प्रअ ध्रुवराज पाण्डे, सर्वोद्धार माविका प्रअ ज्ञान्जामान तामाङ, तेमाल माविका प्रअ गणेशमान लामा, नारायणस्थान माविका प्रअ कालीदास दाहाल, पञ्चकन्या माविका प्रअ टंकमान लामा, राधाकृष्ण माविका प्रअ पञ्चमान तामाङ, जनज्योती माविका प्रअ भानुभक्त मैनाली, सेतीदेवी माविका प्रअ अक्कल तामाङ, कुशेश्वर माविका प्रअ दमैसिं दोङ, जनज्योति माविका विव्यस अध्यक्ष मनहरी मैनाली, नारायणस्थान माविका विव्यस अध्यक्ष गोर्खानारायण लामा, पत्रकार डिलबहादुर थोकर (ग्याम्जो)ले सामुदायिक विद्यालय सुधारका लागि सरोकारवालाहरुले खेल्नुपर्ने भूमिकाबारे चर्चा गरिएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।