पाँचखाल- काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ ।
महिला हरित औद्योगिक पार्क निर्माणका लागि महिला उद्यमीहरूको छाता संगठन ‘नेपाल महिला उद्यमी महासंघ’सँग ४ वर्षअघि भएको सम्झौता उल्लंघन गर्दै खरेलले जेठीसासू अध्यक्ष रहेको दक्षिण एसियाली महिला विकास मञ्चसँगको साझेदारीमा काम अगाडि बढाएपछि विवाद उत्पन्न भएको हो ।
महिला हरित औद्योगिक पार्क निर्माण गर्ने भनेर ४ वर्षअघि २०७६ फागुन २० गते पाँचखाल नगरपालिका, महिला उद्यमी महासंघ र दक्षिण एसियाली विकास मञ्चबीच सम्झौता भएको थियो । तर, अहिले औद्योगिक पार्क निर्माणको काममा आफूहरूलाई बाइपास गरिएको भन्दै महासंघले त्यसको विरोध गरेको छ ।
आफूहरूसँगको सम्झौता उल्लंघन गरी अर्कै संस्थासँग सम्झौता गरिएको महासंघकी अध्यक्ष शोभा ज्ञवालीले लोकान्तरसँग बताइन् ।
‘महासंघलाई पनि साझेदार बनाउने भनेर यसअघि नै सम्झौता भएकोमा केही दिनअघि शिलान्यास गर्दा नगरपालिकाले सम्झौता उल्लङ्घन गर्दै हामीलाई शिलान्यासमा आमन्त्रण समेत गरेन,’ ज्ञवालीले लोकान्तरसँग भनिन्, ‘महिला उद्यमीका लागि राज्यको लगानीमा बन्ने औद्योगिकग्राममा महिला उद्यमी महासंघलाई बेवास्ता गर्नु भएन । हामीलाई पनि सम्झौता अनुसार आबद्ध गराउनु पर्छ ।’
चालू आर्थिक वर्षमा पाँचखाल नगरपालिकामा महिला औद्योगिक ग्राम स्थापना गर्नका लागि सरकारले ४१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अहिले झन्डै १ करोड २० लाख रुपैयाँ जति खर्च भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि मात्र पाँचखाल पुगेर औद्योगिकग्राम शिलान्यास गरेका थिए । उक्त शिलान्यासका क्रममा नगरपालिका र दक्षिण एसियाली विकास मञ्च साझेदारका रूपमा सहभागी थिए ।
परियोजनामा संघीय सरकारले ४१ करोड रुपैयाँ निकासा गरे पनि झन्डै १ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रशोधन, लेबलिङ, ब्रान्डिङ, प्याकेजिङ लगायतका काम गर्ने अवधारणा अनुरूप हरित औद्योगिक पार्क निर्माण गर्न लागिएको हो ।
झन्डै १ सय रोपनी जग्गामा उक्त पार्क निर्माण हुन लागेको छ ।
दक्षिण एसियाली विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजाल नगरप्रमुख खरेलकी जेठीसासू हुन् । प्रमिलाका पति ध्रुव रिजाल निर्माण व्यवसायी हुन् ।
मिलेमतोमा झन्डै १ अर्ब रुपैयाँको प्रोजेक्ट हात पारेर अनियमितता गर्न खोजिएको अर्की एक महिला उद्यमीको आरोप छ ।
‘महिला उद्यमी महासंघलाई राख्दा एकलौटी गर्न सकिन्न । खरेल र रिजालले अर्थमन्त्री प्रकाशशरण महतलाई विश्वासमा लिएर परियोजनामा एकलौटी गर्न खोजेका छन्,’ ती उद्यमीले लोकान्तरसँग भनिन् ।
दक्षिण एसियाली विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजाल पनि मेयर खरेलसँग ज्वाइँसासूको नाता रहेको स्वीकार गर्छिन् । तर, पार्क निर्माणका लागि सासू र ज्वाइँभन्दा पनि मञ्च र मेयरबीच सम्झौता भएको उनको भनाइ छ ।
‘मैले आफ्नो ज्वाइँसँग सम्झौता गरेको होइन, दक्षिण एसियाली विकास मञ्चको अध्यक्ष र पाँचखाल नगरपालिकाको मेयरबीच सम्झौता भएको हो, दुई संस्थाका प्रमुखहरूबीच सम्झौता भएको हो,’ रिजालले लोकान्तरसँग भनिन्, ‘हो, हाम्रो निर्माण कम्पनी पनि छ । मेरो श्रीमानको निर्माण कम्पनी भए पनि सडक र बाटो बनाउने कम्पनी होइन, हामी भवन निर्माण गर्छौं ।’
नाताका आधारमा सम्झौता भएको भन्न नमिल्ने उनको भनाइ छ ।
‘हामीले दिनरात मेहनत गरेर भारतको महिला उद्यमी संघ हैदराबादबाट औद्योगिक ग्रामको मास्टर डिजाइन तथा अवधारणा ल्यायौं,’ रिजालले थपिन्, ‘महिला उद्यमी महासंघले के काम गरेको छ र ? के उहाँहरूसँग कुनै डिजाइन, डकुमेन्ट वा डीपीआर छ त ?’
पूर्वाधार निर्माणको कामका लागि नगरपालिकाले ई-बिडिङमार्फत टेन्डर गर्ने र सिस्टमअन्तर्गत पर्नेले ठेक्का पाउने उनको जिकिर छ । -लेकान्तरबाट
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























