खानीखोला– काभ्रे जिल्लाको खानीखोला गाउँपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएो छ । प्रतियोगिताको उपाधि कुमारी माध्यमिक विद्यालयले १२ स्वर्ण, ९ रजत र २ कास्य गरी कुल २३ पदकसहित उपाधि हात परेका छन् ।

यस अघिको प्रतियोगितामा पनि कुमारी माविले उपाधि हात पारेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले शिक्षा क्षेत्रमा परिवर्तनको महसुस हुने गरी केही काम गर्ने संकल्पसहित आफू लागिपरेको बताए । उनले खेलकुद क्षेत्रको विकासको लागि विद्यालय स्तरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई निरन्तर दिने बताए ।

गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले स्थानीयस्तरमा रहेका खेलाडीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिका लागि राष्ट्रपति रनिङ शिल्ड आवश्यक रहेको, तेस्रो रनिङ शिल्ड प्रतियोगितासम्म आइपुग्दा यसको चौचित्य समेत पुष्टि भएको बताए । उनले उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयले नै राष्ट्रपति रनिङ शिल्ड हात पारेको बताए ।

प्रतियोगितामा ९ स्वर्ण, ५ रजत र २ कास्य गरी १६ पदक हात पार्दै जनविकास मावि द्वितीय र २ स्वर्ण, २ रजत र २ कांस्य पदक प्राप्त गर्दै बुद्ध मावि तृतीय र १ स्वर्ण, २ रजत र २ कांस्य पदक जित्दै शारदा मावि चौथो हुन सफल भएका छन् ।

प्रतियोगितामा अघिल्लो पटक तेस्रो स्थानमा रहेको जनहित मावि यस पटक पाँचौ स्थामा पुग्दा धार्ने ज्योति मावि भने पदक विहीन बनेका छन् ।

खानीखोला गापाको प्राविधिक सहायक चक्रबहादुर थापाले प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्रले पुरस्कृत गरेको बताए । उनका अनुसार द्धितीय, तृतीय हुन सफल विद्यालयलाई क्रशमः नगद १० हजार र ५ हजार रुपैँयासहित सन्त्वान्न हुने विद्यालय र विद्यागत प्रथम र द्वितीय तथा उत्कृष्ट खेलाडीलाई मेडल, प्रमाणपत्रसमेतले पुरस्कृत गरिएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष थिङ, उपाध्यक्ष जिम्बा, वडा अध्यक्ष निशान मोक्तान, कराँते प्रशिक्षक सुरज लामा लगायतले विजेता विद्यालय र पदकविजेता खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।

खानीखोला गाउँपालिकाको खेलकुद विकास समितिका संयोजक प्रेमप्रकाश लामाका अनुसार गाउँपालिकाभित्रका ८ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा छात्र भलिबल, छात्र र छात्रा दुवैको दौड, हाईजम, लङजम, त्रिपलजम्प, ज्यावलिङ, सटपुट, कराँते गरी ८ विधाका ५९ वटा पदकका लागि दुई सय बढी विद्यार्र्थी खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

गाउँपालिका शिक्षा शाखा सहजकर्ता होमबहादुर वाईबाका अनुसार प्रतियोगिता खानीखोला–५ स्थित् ताल्ढुंगामा खानीखोला गाउँपालिकाको आर्थिक व्यवस्थापनमा गाउँपालिकाको खेलकुद विकास समितिले आयोजना गरेका हुन् । उनले प्रतियोगिता हरेक वर्ष फरक–फरक स्थान तथा विद्यालयमा आयोजना गर्दै आएको बताए । प्रतियोगितामा सहभागी सबै विद्यालयको खेलाडीलाई खाजा खर्च समेत व्यवस्था गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।