धुलिखेल– काभ्रे जिल्लामा वागमती प्रदेश भरिका ४० जनालाई रेफ्री तालिम दिने भएको छ । वागमती प्रदेश खेलकुद विकास परिषद्को विशेष सहयोग तथा अखिल नेपाल फुटबल संघको प्रावधिक सहयोगमा र वागमती प्रदेश फुटबल संघको आयोजनामा सो कार्यक्रम हुने भएको हो ।
संघले आज धुलिखेलमा एक पत्रकार सम्मेलनको आयोजना गरि संघका वागमती प्रदेश अध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुसार प्रशिक्षण १ हप्तासम्म चल्ने भएको छ ।
श्रेष्ठका अनुसार आगामी माघ महिनाको २१ गते देखि २७ सम्म सञ्चालन हुनेछ । ‘काभ्रे जिल्लाको सदरमुकाम धुलिखेलमा आधारभुत जिल्ला स्तरीय रेफ्रि कोर्ष अन्र्तगत क्याटेगोरी–४ फुटबल रेफ्री प्रशिक्षण कार्यक्रम संचालन हुन गइरहेको सहर्ष जानकारी गराउन चाहन्छौं ।’ उनले भने, ‘यस कोर्षको उद्देश्य रेफ्रिहरुलाई फुटबल सम्बन्धि आधारभुत शिप र प्रविधिको विकास गर्न तालिम दिनु हो । यस प्रशिक्षण सत्र रेफ्रीहरुलाई व्यवस्थित रुपमा शिक्षित गर्न बनाइएको हो ।’
उनका अनुसार प्रशिक्षणमा रेफ्रिहरुलाई नैतिक र व्यवहारिक कार्य गर्न निर्देशित गर्नुको साथै रेफ्रीहरुलाई खेल मैदान भित्र र बाहिर कसरी प्रस्तुत हुने भन्ने तालिम प्रदान गरिनेछ ।
प्रशिक्षण पछि परिक्षा समेत सञ्चालन हुने र परिक्षामा उतिर्ण परिक्षार्थीहरुले जिल्ला स्तरिय विभिन्न फुटबल प्रतियोगिताहरुमा निर्णायक हुन सक्ने आयोजकले बताएको छ ।
को–को सहभागी हुन पाउँछन् ?
१. खेलाडी, पूर्व खेलाडी तथा फुटबल खेल सँग आवद्ध भएका इच्छुक व्यक्तिहरु ।
२. परीक्षा दिन आउने प्रशिक्षक वा रेफ्रि शिक्षा विभागका प्रमुखबाट तथा बागमती प्रदेश फुटबल संघ र यस संघको आवद्धतामा रहेका जिल्ला फुटबल संघले सिफारिस गरेका योग्यता पुगेका हुनुपर्नेछ ।
३. उमेर १८ वर्ष माथि ३५ वर्ष ननाघेको हुनु पर्नेछ ।
पत्रकार सम्मेलनमा वागमती प्रदेश फूटबल संघका अध्यक्ष निरोज श्रेष्ठ, उपाध्यक्षद्वय बाबुराज श्रेष्ठ र रजिव मानसिं बस्नेत, महासचिव लवराज ठकुरी, प्रदेश सदस्य प्रभात श्रेष्ठको सहभागी थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।