बनेपा– वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले काभ्रे जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य समारोहका बीच उद्घाटन गरेका छन् । काभ्रे जिल्ला खेलकुद विकास समितिको आयोजनामा १५ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट जिल्लाको व्यापारीक केन्द्र बनेपामा शुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री जमकट्टेलले बागमती प्रदेश सरकारको शिक्षा नीति तय गर्दा विद्यालयहरुलाई आवासिय मोडलमा लैजाने र माध्यमिक विद्यालयहरुमा अनिवार्य रुपमा खेलाडी प्रशिक्षक राख्ने ब्यवस्था गर्ने तयारी गरेको बताए ।
‘खेलकुदको समग्र विकास नगरीकन समग्र क्षेत्रमा अनुशासन कायम हुन सक्दैन’–मुख्यमन्त्री जमकट्टेलले भने– ‘राष्ट्रका लागि खेलकुद भन्ने अभियान स्वरुप खेलकुद क्षेत्रलाई प्राथमिकता दिएका छौं । खेलकुद क्षेत्रलाई महत्वका साथ अगाडी बढाएका छौं ।’
बागमती प्रदेश सरकारको पहिलो कार्यकालमा नै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको जमकट्टेलले बताए । ‘प्रदेश खेलकुद सम्वन्धी ऐन निर्माण बनायौं । परिषद् बनायौं र त्यहिँबाट खेलकुदका नियमित गतिविधीहरु अघि बढायौं ।’ उनले भने, ‘खेल क्षेत्र राष्ट्रको पुँजी हो, गौरव हो, खेलकुदका लागि मात्रै नभई अन्य कार्यका लागि पनि रंगशाला आवश्यक छ । सामाजिक गतिविधिका लागि पनि रंगशाला र खेलमैदान आवश्यक छ । बागमती प्रदेश सरकारले स्थानीय तहका लागि नयाँ नीति बनाएको छ ।’
प्रतियोगितामा जिल्लाका १३ पालिका ९ सय ६० जना विद्यार्थीहरु सहभागी हुने अध्यक्ष मानवीर लामाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा फुटबल, भलिबल तथा एथलेटिक्सका विभिन्न विद्याहरुमा विद्यार्थीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
उद्घाटन कार्यक्रममा संघीय सांसद सुर्यमान दोङ, बागमती प्रदेश सरकारका मन्त्रीहरु तिर्थ लामा, लक्ष्मण लम्साल, प्रदेश सांसद सांसद रत्न ढकाल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतम लगायतका सहभागी थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।