बनेपा– वागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेलले काभ्रे जिल्ला खेलकुद विकास समितिको भवनको एक समारोहका बीच उद्घाटन गरेका छन् । उद्घाटनसँगै समिति स्थापनाको ३२ बर्षपछि आफ्नै भवनबाट कार्यालय सञ्चालन भएको छ ।
नवनिर्मित भवन उद्धघाटनलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले खेलकुद क्षेत्रमा प्रदेश सरकारले बजेट बढाएको बताए । जमकट्टेलले प्रदेश सरकारको योजना अुनसार नै खेलकुद पूर्वाधारका कामहरु तीब्र गतिमा अघि बढाइरहेको बताए ।
कार्यक्रममा खानेपानी, उर्जा तथा सिंचाईमन्त्री तीर्थ लामा, श्रम, यातायात तथा रोजगारमन्त्री लक्ष्मण लम्साल, बाग्मती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयका पूर्वमन्त्री रहेका प्रदेशसभा सदस्य रत्नप्रसाद ढकाल लगायतले सम्बोधन गरेका थिए ।
जिल्ला खेलकुद विकास समिति काभ्रेका अध्यक्ष मानवीर लामाका अनुसार भवन निर्माणका लागि बागमती प्रदेश सरकारले आर्थिक बर्ष २०७९÷८० मा समितिको भवन निर्माणको लागि प्रदेश खेलकुद विकास परिषद् मार्फत १ करोड बजेट बिनियोजन भएको थियो ।
सो अवसरमा जिल्ला खेलकुद विकास समिति काभ्रेका पूर्व अध्यक्षहरु गोरेबहादुर थापा, सौरभराज कायष्ठ, तिर्थबहादुर पसखल, विकासकुमार श्रेष्ठ, लोकनारायण भैल, कुमार थापा, रघुबर चौप्रधान, जयबहादुर वाइवा, सचितानन्द के.सी.लाई सम्मान गरिएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।