मण्डनदेउपुर । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाको १४ औँ अधिवेशन (नगर सभा) सोमबार सम्पन्न भएको छ ।
नगरप्रमुख टोक बहादुर वाईबाको अध्यक्षतामा सोमबार बसेको अधिवेशनको दोस्रो बैठकले विभिन्न प्रस्तावहरु पारित गर्दै सम्पन्न भएको हो । गत पुस २७ गतेको १४ औँ अधिवेशनको पहिलो बैठकमा विभिन्न ७ वटा प्रस्ताव पेश भएको थियो ।
पहिलो बैठकमा आर्थिक वर्ष २०७९।०८० को वार्षिक आर्थिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०।०८१ को अर्धवार्षिक आर्थिक प्रगति प्रतिवेदनको समीक्षा, मण्डनदेउपुर गनरपालिकाको विनियोजन ऐन २०८० को संशोधन विद्येयक २०८०, न्यायीक समितिको गतिविधि÷प्रतिवेदन, आर्थिक वर्ष २०८०।०८१ मा सूचीकृत मेलमिलापकर्ताको सूची अनुमोदन प्रस्ताव टेबल भएको थियो ।
त्यसैगरी नगरसभाको लेखा समिति पुनर्गठन तथा पुनर्गठित लेखा समितिलाई नगरपालिका अन्तर्गत हालसम्मका लेखापरिक्षण प्रतिवेदन र आवश्यक कागजजातहरुको अध्ययन गरी बेरुजु फछ्र्योट, नियमित तथा असुलउपर सम्बन्धी कारबाही सहितको प्रतिवेदन नगरसभाको १४ औँ अधिवेशनको आगामी (दोस्रो) बैठकमा पेश गर्न कार्यादेश प्रदान, विगत वर्षदेखि नगरकार्यपालिका कार्यालय तथा अन्तर्गतका कार्यालयमा कार्यरत अस्थायी, करार, ज्यालादारी कर्मचारीको सेवा चालु आर्थिक वर्षको असार मसान्तसम्म थप गर्ने र नगरकार्यपालिका कार्यालय भवन स्थानान्तरण तथा उद्घाटन र शहरी फोहोर प्रशोधन तथा प्राङ्गारिक मल उत्पादन कारखाना निर्माण गर्न स्थान छनौट र जग्गा प्राप्ति गर्ने सम्बन्धका प्रस्ताव टेबल भएको थियो ।
नगर सभाको पहिलो बैठकमा टेबल गरिएका सबै प्रस्तावहरु सर्वसम्मत पारित भएको छ । नगरसभाका सभाध्यक्ष एवं नगरप्रमुख टोक बहादुर वाईवा, उपप्रमुख विष्णु नेपाल र प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले सभाका सदस्यहरुले राख्नेका प्रश्न र जिज्ञासाको जवाफ दिएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।