तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकाका सबै वडामा सञ्चालन हुन लागेको आँखा र दाँतको निःशुल्क स्वास्थ्य शिविर आजबाट शुरु भएको छ । सोमबार गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले वडा नं. १ को वडा कार्यालयमा एक समारोहका बीच उद्घाटन गर्नु भएपछि शिविर शुरु भएको हो ।

शिविर तेमाल गाउँपालिकाको आयोजनामा नेपाल नेत्रज्योति संघ किर्तिपुर आँखा अस्पताल र शिर मेमोरियल अस्पताल बनेपाको प्राविधिक सहयोगमा वडा नं. १ देखि ९ सम्म सञ्चालन हुनेछ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले आफूले निर्वाचनको क्रममा बृद्धबृद्धा आमाबुबाले आँखा नदेखेको, टाउको, जीउ, पेट दुखेको बताएको स्मरण गर्नुहुँदै त्यति खेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता गरे अुनसार नै दाँत र आँखाको स्वास्थ्य शिविर सञ्चालन गरेको बताउनु भयो ।

तेमाली जनताको स्वास्थ्य प्रति आफू गम्भिर रहेको बताउनु हुँदै तामाङले गाउँपालिका सरकारले जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको बताउनु भयो ।

यसैबीच कार्यक्रमलाई सम्बोधन गर्दै तेमाल गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले तेमाल गाउँपालिकाले अनुत्पादक क्षेत्रमा लगानी नगरेको बताउँदै पूर्वाधार, शिक्षा र स्वास्थ्यमा लगानी केन्द्रि गर्दै आएको बताउनुभयो । स्वास्थ्यलाई संविधानले जनताको मौलिक हकको रुपमा स्थापित गरेको बताउनुहँुदै उपाध्यक्ष थोकरले तेमाली जनतालाई त्यसको प्रत्याभूति दिलाउन तेमाल सरकारले प्रयत्न गरेको बताउनु भयो

वैशाख १० गतेदेखि १८ गतेसम्म १ नम्बर वडा देखि ९ नम्बर वडासम्म सञ्चालन हुने आँखा र दाँत सम्बन्धी निशुल्क स्वास्थ्य शिविरको पहिलो दिन वडा नं १ को वडा कार्यालयबाट शुरु भएको छ । कार्यक्रम वडा नं. १ का वडा अध्यक्ष इन्द्र बहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवहरी पाठक, शिक्षा शाखा सहायक भिमलाल लामा, स्वास्थ्यकर्मीहरुको सहभागीता थियो ।

शिविर ११ गते वडा नं. २ को वडा कार्यालय चुखामा, १२ गते वडा नं. ३ को वडा कार्यालय कुडुवालमा, १३ गते वडा नं. ४ मा रहेको तेमाल मावि बोल्देफेदिचेमा, १४ गते वडा नं. ६ को ठुलो पर्सेल स्वास्थ्य चौकीमा, वैशाख १५ गते वडा नं. ७ को चापाखोरी स्वास्थ्य चौकीमा, १६ गते वडा नं. ८ को वडा कार्यालय भवन लोङसालमा, १७ गते वडा ९ मा रहेको सामुदायिक स्वास्थ्य इकाईमा र १८ गते वडा ५ को गिम्दी स्वास्थ्य इकाईमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।