महाभारत– विहिबारबाट काभ्रे जिल्लाकाे महाभारत गाउँपालिका पूर्ण विद्युतिकरणसँगै महाभारतबासीले अध्यक्ष कान्छालाल जिम्बालाई ‘उज्यालो महाभारत’को नायकको संज्ञा दिएका छन् । तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा माओवादीहरुले महाभारतलाई आधार इलाका बनाएको थियो । त्यसैबेला देखि माओवादी पार्टी महाभारतवासीको असली साथी बनेको थियो । ‘उज्यालो महाभारत’को यात्रा माओवादी र माओवादीबाट निर्वाचित जनप्रतिनिधिले गरेको स्थानीयको बुझाई छ ।

‘उज्यालो महाभारत’को नायकको उपमा भने अध्यक्ष जिम्बालाई नै दिने गर्छन् स्थानीय । ‘हाम्रो अध्यक्षले ‘उज्यालो महाभारत’को नेतृत्व गर्नुभयो । प्रधानमन्त्री प्रचण्डसम्म पुगेर पूर्ण विद्युतिकरणको लागि उहाँले पूरै पहल गर्नुभयो ।’ स्थानीय रिजन मगरले भने, ‘‘उज्यालो महाभारत’को नायक हुनुहुन्छ उहाँ । जनताको असली प्रतिनिधि हुनुहुन्छ उहाँ ।’

माओवादी पार्टीले सरकारको नेतृत्व गर्दा समृद्धि टाढाको कुरा होइन रहेछ भन्ने कुरा पुष्टी भएको स्थानीय मिलन माझीले भने । ‘राजनीतिक हिसाबले माओवादीले जित्दा मात्र समृद्धि सम्भव छ भन्ने कुराको पुष्टि महाभारत गाउँपालिकाका अध्यक्षज्यूले गरेको छ । हामी जीवनमै पहिलो पटक अँध्यारोबाट उज्यालोमा बस्न पाएका छौं ।’ उनले भने, ‘सँगैको खानीखोला गाउँपालिका र हाम्रो गाउँपालिकामै तुलना गरौंन । माओवादीबाट निर्वाचित भएपछि मात्र त्यहाँ बल्ला समृद्धिको आधार तयार भएको छ।’

‘उज्यालो महाभारत’को यात्रा सफल भएकोमा निक्कै हर्षित छन स्थानीय । ‘अँध्यारो हट्छ भन्ने लागेकै थिएन । तर छोटो समयमा हाम्रो अध्यक्षज्यूको पहलमा उज्यालो पायौं ।’ खुशी हुँदै स्थानीय ८० विर्षिय चेतबहादुर मगरले भने, ‘भगवान हुनुहुन्छ हाम्रो अध्यक्ष । म नमर्दै उज्यालो देख्न पाईयो ।’

जिम्बाको ‘उज्यालो महाभारत’को यात्राले सार्थकता भने आफू निर्वाचित भएपछि पायो । माओवादी केन्द्रबाट निर्वाचित भएका देशै कान्छो पालिका अध्यक्ष जिम्बाले ‘उज्यालो महाभारत’को यात्रा तयर गरे लगत्तै जिल्लाबाट निर्वाचित प्रदेश तथा प्रतिनिधि सभाका सांसद, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, तत्कालीन उर्जामन्त्रीहरु र प्रधानमन्त्री प्रचण्डसम्म पुगेका थिए ।

‘२०७४ सालमा स्थानीय तहमा जनप्रतिनिधी निर्वाचित भए लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपाबाट निर्वाचित जिल्लाका प्रतिनिधि सभा सदस्यहरु गंगाबहादुर दोङ्ग, गोकुलप्रसाद बास्कोटा, प्रदेश सभा सदस्यहरु रत्न ढकाल, चन्द्र लामा, गोमा भुर्तेल लगायतलाई महाभारत पुर्‍याएर डाँडापारीका समस्या लिपिबद्ध गरेर बुझायौँ ।’ जिम्बाले विगतलाई सम्झिदै भने, ‘महाभारत र खानिखोलाबासीलाई बत्तीको अध्यारोबाट मुक्त गरी उज्यालोमा बस्न पाउने अधिकारको प्रत्याभूति गर्ने प्रतिबद्धता तत्कालै प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले गर्‍यो । नेपाल सरकारले १ अर्ब ५६ करोड रकम विनियोजन गरी कार्य प्रारम्भ गर्‍यो ।’

रकम अपुग भएका कारण अधुरो रहेका आयोजना समापन गर्न पुनः ३० करोड रकम विनियोजन भएको बताउँदै उनले कोरोना महामारी तथा विविध कारण कार्य सम्पन्न हुन नसकेको विगतलाई सम्झे ।

यसबीचमा अध्यक्ष जिम्बाले सर्वसाधारणका लागि मिटर खरिद गर्न गाउँपालिकाको तर्फबाट १ हजार रुपैयाँका दरले सहयोग गरेको थियो ।

‘गाउँपालिकाले घरमा जडान गर्ने मिटर खरिदका लागि एक हजार अनुदान उपलब्ध गराएको थियो ।’ उनले भने, ‘बाँकी रकम स्वयं घरधनीले बेहोर्ने गरी हरेक घरधुरीमा मिटर जडान गरी वायरिङको कार्य सकियो । नियमित परीक्षण पनि सकिए पछि उद्घाटन गरिएको हो ।’

विद्युतिकरणको सपना पूरा भएको बताउँदै जिम्बाले अबको यात्रा भरपर्दो सडक निर्माण र स्थानीय उत्पादनमा जोड दिइ रोजगार र स्वरोजगारको यात्रा रहेको बताए । आफ्नो कार्यकालमा जे जतिसक्छ गर्ने प्रतिबद्धता जनाए ।

‘उज्यालो महाभारत’को यात्रामा साथ दिने स्थानीय जनता, नेपालका सरकारका विभिन्न तहका जिम्मेवारी ब्यक्तिहरु, जिल्लाका जनप्रतिनिधीहरु र सबै सरोकारवालाहरुलाई जिम्बाले धन्यवाद समेत दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।