धुलिखेल– काभ्रेको धुलिखेल नगरपालिकाको १५ औं नगरसभा बुधबार सम्पन्न भएको छ । नगर सभाले आर्थिक वर्ष २०८१÷०८२ को लागि १ अर्ब ५ करोड ९५ लाख २५ हजार रकम विनियोजन गरेको छ ।

सभामा नगर प्रमुख अशोक ब्याञ्जुले आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गरेका थिए । नगर प्रमुख ब्याञ्जुले प्रस्तुत गरेको बजेटको कुल विनियोजन मध्ये चालु खर्च तर्फ ६७ करोड ४८ लाख ५३ हजार अर्थात ६३.६९ प्रतिशत, पूँजिगत खर्च तर्फ ३७ करोड ७६ लाख ७२ हजार अर्थात ३५.६५ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ७० लाख अर्थात ०.६६ प्रतिशत रहेको छ ।

यसैबीच आगामी आर्थिक बर्षका लागि अनुमान गरिएका खर्च बेहोर्ने स्रोत मध्ये आन्तरिक राजश्व (मौज्दातसमेत) बाट १४ करोड ५५ लाख ८ हजार अर्थात १३.७३ प्रतिशत, राजश्व बाँडफाँटबाट २२ करोड ५८ लाख अर्थात २१.३१ प्रतिशत, संघ सरकार अन्तरसरकारी हस्तान्तरणबाट ४५ करोड ८७ लाख ९६ हजार अर्थात ४३.३० प्रतिशत, प्रदेश सरकार अन्तरसरकारी हस्तान्तरणबाट ६ करोड ९१ लाख २१ हजार अर्थात ६.५२ प्रतिशत, अन्य कार्यक्रम तथा परियोजनाबाट १५ करोड ३ लाख अर्थात १४.१९ प्रतिशत र जनसहभागिताबाट १ करोड अर्थात् ०.९४ प्रतिशत प्राप्त हुने अनुमान गरिएको छ । नगरको समग्र बजेट र कार्यक्रम नागरिकहरुलाई स्वावलम्बन र आत्मनिर्भर बन्ने तर्फ केन्द्रित गरिएको नगर प्रमुख ब्याञ्जुले बताए ।

नगर प्रमुख व्याञ्जुले प्रस्तुत गरेका नीति कार्यक्रम तथा बजेटमा कम्तीमा एक वडा एक डिजिटल विद्यालय विकास गरिने, परियोजना र प्रयोगात्मक मुल्यांकनका लागि एक विद्यालय एक सार्वजनिक स्थल संरक्षण कार्यक्रम सन्चालन गरिने उल्लेख छ ।

यस्तै चालु आर्थिक बर्षमा धुलिखेल नगरपालिकामा ७ हजार ३ सय ४२ घरधुरीमा ब्यवस्थित खानेपानी सुविधा पुगेको नगर प्रमुख ब्याञ्जुको समिक्षा रहेको छ ।

१०५ जना सुचिकृत बेरोजगारहरुलाइ ५५४९ दिनको रोजगारी प्रदान गरिएको स्थिति समिक्षामा उल्लेख छ । धुलिखेल नगरपालिकाको लम्पी राहत कार्यक्रम अन्तर्गत मृत्यु भएका ३०१ मध्ये विमा गरेका पशु बाहेक २४३ वटालाई १० हजारका दरले २४ लाख ३० हजार रुपैयाँ किसानलाई वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरसभामा उपप्रमुख निराजन जंगमले आर्थिक वर्ष २०८०।२०८१ को यथार्थ स्थिति समिक्षा सहितको प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८१।२०८२ को आर्थिक विधेयक, विनियोजन विधेयक प्रस्तुत गरेका थिए । धुलिखेल नगरपालिकाको तथ्यांक तथा अभिलेख ब्यवस्थापन गर्ने सम्वन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०८१ सभा सदस्य तथा वडा अध्यक्ष रोमीप्रसाद श्रेष्ठले प्रस्तुत गरे भने स्थानीय भाषा कला संरक्षण विधेयक २०८१ सभा सदस्य तथा वडा अध्यक्ष गणेश आचार्यले प्रस्तुत गरे । त्यस्तै विज्ञापन कर (ब्यवस्थापन तथा नियमन) विधेयक २०८१ सभा सदस्य तथा वडा अध्यक्ष नारायणप्रसाद बडालले प्रस्तुत गरे ।

मध्यकालिन खर्च संरचना २०८१–२०८२–२०८३–२०८४ सभा सदस्य तथा वडा अध्यक्ष अर्जुन न्यौपानेले प्रस्तुत गरे । प्रस्तुत गरिएका सबै विधेयकहरु, बजेट, नीति तथा कार्यक्रमहरु सर्वसम्वत पास भएका छन् ।

प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगरले नगर सभामा स्वागत गर्दै नगर सभा संचालनका विषय बस्तुका बारेमा जानकारी गराएका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।