बेथानचाेक- काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाले आ.व २०८१/०८२ को लागि ६४ करोड १२ लाख बजेट सार्वजनिक गरेकाे छ । आज सम्पन्न गाउँपालिकाकाे १५औं गाउँसभाको अधिवेशनमा गाउँपालिका उपाध्यक्ष तारा रानाले साे बजेट सार्वजनिक गरेकाे हाे ।

गाउँपालिका अध्यक्ष भगवन अधिकारीले पेश गरेकाे नीति तथा कार्यक्रम र पालिका उपाध्यक्ष रानाले पेश गरकाे बजेट सर्वसम्मत ढंले पारित गरेकाे छ । अध्यक्ष अधिकारीले नीति तथा कार्यक्रममा  गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गरी एमबीबीएस अध्ययनगर्ने विद्यार्थीलाई एक पटक दुई लाख छात्रवृत्ति प्रदान गर्ने उल्लेख छ । त्यस्तै, बेथानचोक गाउँपालिकाको शिक्षालाई प्रोत्साहन गर्न व्यवस्थापन, मानविकी, विज्ञान, इञ्जिनियरिङ संकायअन्तर्गत र स्नातक वा स्नातकोत्तर तहमा अध्ययनरत मेधावी एक जना विद्यार्थीलाई प्रत्येक वर्ष छात्रवृत्ति स्वरुप पचास हजार प्रदान गरिने उल्लेख छ ।

गाउँसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा पूर्वधार विकास नीतितर्फ ‘सहज यात्रा–हाम्रो संकल्प’ भन्ने नाराका साथ प्रत्येक वर्ष बेथानचोक गाउँपालिकाभित्र ‘५ कि.मि.सडक कालोपत्र तथा ढलान’ कार्यलाई निरन्तरता अध्यक्ष अधिकारीले जनाएकाे छ । यसै आ.व.भित्र बेथानचोकका ६ वटै वडामा कालोपत्र सडक विस्तारको आयोजना सुरु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पूर्वाधार विकास नीतिअन्तर्गत नै काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा दुर्लुङ्गखोला–च्याम्राङ्गवेशी सुरुङ मार्गको विस्तृत अध्ययन गरी सुरुङ मार्ग खन्न सुरु गरिनेछ । साथै हाम्रा बहुमूल्य खनिजहरुको उत्खनन्तथा अध्ययन अनुसन्धान गरिने योजना समावेश गरिएको छ । विद्युतबाट हुने सम्भावित विपद्लाई टार्नका लागि बेथानचोक गाउँपालिकाभित्र काठका पोल विस्थापित गरी स्टिलका पोल राख्ने योजना पूर्वाधार विकास नीतिमा समावेश गरिएको छ ।

गाउँपालिकाभित्र सामुदायिक माध्यमिक विद्यालयहरुमा ‘सिक्दै कमाउँदै कार्यक्रम’ मार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने शैक्षिक नीति बनाइने योजना शिक्षा नीतिमा राखिएको छ । त्यस्तै, क्रमशः एक वडाका एउटा विद्यालयमार्फत सीप सिकाउने वा आत्मनिर्भर बन्ने शिक्षा दिइनेछ । पालिकामा रहेको पार्वती बहुमुखी क्याम्पसमा अध्ययन गर्ने छोरी–बुहारीलाई विश्वविद्यालयसम्मको निःशुल्क शिक्षाको व्यवस्था मिलाइने पनि बजेट वक्तव्यमा उल्लेख छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।