बनेपा- काभ्रे जिल्लाकाे व्यापारीक शहर बनेपामा यातायात ब्यवस्था कार्यालय एक समाराेहका बीच उद्घाटन गरिएकाे छ । कार्यालयकाे उद्घाटन बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले शनिबार एक समाराेहकाबीच गरेका हुन् ।

 बनेपामा कार्यालय सञ्चालनमा आएसँगै यातायात सम्बन्धि सामान्य कामका लागि समेत उपत्यका धाउनुपर्ने बाध्यता हटेको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय मातहात रहने यो कार्यालय काभ्रेमा स्थापनाका लागि मन्त्री लम्सालले पहल गरेका थिए ।यस कार्यालयबाट प्रारम्भिक चरणमा सवारी दर्ता/नामसारी/नविकरण/प्रतिलिपि जारी, सवारी जाँचपास (प्राविधिक निरीक्षण/परीक्षण) सम्बन्धी कार्य, बाटो इजाजात (रुट परमिट) प्रदान र नविकरण सम्बन्धी सेवा प्रदान गरिनेछ ।

कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री लम्सालले यातायात सम्बन्धी कामकाे लागि अब उपत्यकामा धाउनुपर्ने बाध्यता हटेकाे बताए । ‘काभ्रेपलाञ्चोक जिल्ला खास गरी बनेपा क्षेत्र यातायात ब्यवसायीहरुको ठूलो बसोबास रहेको क्षेत्र हो ।’ मन्त्री लम्सालले भने, ‘अब यातायात सम्बन्धि काम लिएर उपत्यकाका विभिन्न कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ । अब सेवाका लागि सहज भएको छ ।’

मन्त्री लम्सालले बनेपाको कार्यालयलाई पूर्ण क्षमतामा सञ्चालन गरिने बताए । ‘अहिले थोरै सेवाबाट काम सुरु गरेका छौं । यो कार्यालयलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक छ ।’ मन्त्री लम्सालले भने, ‘यो काभ्रेपलाञ्चोक जिल्लाका मात्रै होइन् । उपत्यकाको चाप कम गराउनका लागि समेत यो कार्यालय महत्वपूर्ण छ ।’

कार्यक्रम मन्त्रालयका सचिव बलराम निरौलाको अध्यक्षतामा भएको  थियाे भने कार्यक्रममा बागमती प्रदेशका सांसदहरु कञ्चनचन्द्र बादे, रत्न ढकाल, रुकु चौलागाई, जिल्ला समन्वय समिति प्रमुख दिपक कुमार गौतम, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, प्रमुख जिल्ला अधिकारी सुर्य सेढाई, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्य, यातायात ब्यवसायी आत्मराम थापा लगायतका सहभागी थियाे ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला