भकुण्डेबेसी– काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका पूर्ण खोप सुनिश्चितता नगरपालिका बनेकाे छ । आईतबार नगरपालिकाको सभा हलमा एक समाराेहकाबीच नगर प्रमुख कुन्साङ लामा र उपप्रमुख रत्न लामाले पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरेका हुन् ।
घोषणा कार्यक्रममा प्रमुख कुन्साङ लामा, उप प्रमुख रत्न लामा वडा अध्यक्षहरु, बिभिनन दलका प्रतिनिधि, स्वास्थ्यकर्मी र स्थानियहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।
कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुखले स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता कार्यमा नगरले सधै साथ दिने बताए । आफूहरुले नगरको सबै जनताहरुको स्वास्थ्यको क्षेत्रमा धेरै काम गरिरहेको अब बालवालिकाहरु खोप पाउन बाट बन्चित नहुने उनले बताए ।
यसैबीच नगर उप प्रमुख रत्न लामाले नमोबुद्ध नगरपालिका पूर्णखोप दिगोपना सुनिश्चितता तथा निरन्तरताको लागि नगरपालिका बाट साथ सहयोग हुने बताए । साथै आगामी दिनमा कुनैपनि अवस्था वा परिस्थितिमा पनि नगरको कुनैपनि बालबालिकाहरु कुनैपनि खोप लिन बाट बञ्चित नहुने लामाले बताए ।
जिल्ला खोप समन्वय समिति काभ्रेका खोप अधिकृत पर्थ मणी न्यौपानेले जिल्लाको नमोबुद्ध नगरपालिकाले पूर्ण खोप सुनिश्चितताको लागि सबै खाले कार्यहरु सम्पन्न गरेर घोषणा गर्न सफल भएको बताए ।
नगरपालिकाको १ नं वडा देखि ११ वडा सम्मका १६ महिना देखि ५९ महिना सम्मका सबै बालवालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्र पाउनुपर्ने सबै खाले खोप पाएका र खोप कार्यक्रम पूर्णरुपमा सबै बालवालिकाको पहुँचमा पुगे पछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको नगर स्वास्थ्य शाखा प्रमुख सुनिल केसीले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।