धुलिखेल- आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बनेपा, काभ्रेले आयुर्वेद सेवा प्रबद्र्धन गर्न जिल्ला स्थित पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रमकाे आयाेजना गरेको छ । कार्यालय प्रमुख डा. वसवँबदाम्बा कौण्डिन्न्यायनीको अध्यक्षतामा सोमबार (आज) सो कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा आर्थिक वर्ष २०८०।८१ मा काभ्रे जिल्लामा आयुर्वेद सेवा प्रवाहको समीक्षात्मक प्रस्तुति राख्दै कार्यालय प्रमुख कौण्डिन्न्यायनीले आयुर्वेद सेवा प्रवाह पहिलाको भन्दा धेरै बढेको बताए । प्रयोगशाला निःशुल्क रहेको, योग तथा अक्युपन्चरलाई प्राथमिकता दिएको र धेरै वटा औषधिहरु निःशुल्क वितरण गर्नुको साथै शःशुल्क औषधिको समेत व्यवस्था गरेकोले सेवा प्रवाह बढेको उनको दावी छ । ‘अहिले यहाँ सेवा प्रबाह पहिला भन्दा निक्कै बढेको छ । आयुर्वेद चिकित्सा मौलिक चिकित्सा पद्धति हो । हामीले योग तथा अक्युपन्चरलाई प्राथमिकता दिएको छ ।’ उनले भने, ‘प्रयोगशाला निःशुल्क छ । २३ देखि २७ थरिका औसधि निःशुल्क थियो अहिले सःशुल्क अबधारणा अघि बढाएका छाैं ।’
चिकित्सालयमा थेरापीको प्रकार पनि बढाएको बताउँदै यहाँ सबै प्रकारका सेवाहरु लिन सकिने बताए ।
काभ्रेमा ४ वटा आयुर्वेद औषधालय ४, नागरिक आरोग्य सेवा ४ स्थानमा सञ्चलनमा रहेको बताइएको छ ।
यसैबीच कार्यालय प्रमुख कौण्डिन्न्यायनीले जनप्रतिनिधिहरुले आयुर्वेद चिकित्सा सेवालाई महत्व नदिएको गुनासो समेत गरे । जनप्रतिनिधिहरुले आयुर्वेद चिकित्सालाई सुने सेवा प्रवाह निक्कै बढ्ने बताए । ‘आयुर्वेद चिकित्साकोबारेमा जनप्रतिनिधिहरले महत्व नै दिइरहेको छैन । हाम्रो कुरा उहाँहरुले सुनिरहेको छैन ।’ उनले भने, ‘पालिकाहरुको सहयोगको आधारमा सेवा प्रवाह हुने गरेको छ । भुम्लुमा अरु पालिकामा भन्दा बढी सहयोग पाएकोले सेवा बढी प्रबाह हुन्छ ।’
यसैबीच छलफल कार्यक्रममा कविराज निरीक्षक प्रताप लामाले आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बनेपा, काभ्रेमा सेवाग्राहीहरुको संख्या बढेको बताएका छन् । यस अघि आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा सेवाग्राहीहरुे कम देखिपनि हाल भने दैनिक रुपमा कम्तीमा ४० देखि ५० जना सेवाग्राही आउने गरेको लामाले जानकारी दिए ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा पाउने सेवाहरु के के छन् ?
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बनेपा, काभ्रेमा विभिन्न प्रकारका सेवाहरु दिँदै आएको छ । कविराज निरिक्षक लामाका अनुसार उपचारात्मक सेवा अन्तर्गत बिरामी परीक्षण सेवा, इएम्, पञ्चकर्म, पूर्वकर्म क्षारसूत्र, अक्यूपञ्चर, फिजियोथेरापी, निःशुल्क औषधि वितरण (२५ किसिमका वर्षैभरि), पथ्यापथ्यनिर्देश, थेराप्युटिक योग, प्रयोगशाला परीक्षण सेवा दिने गरेको छ ।
त्यस्तै प्रवर्धनात्मक सेवा अन्तर्गत जेष्ठ नागरिक सेवा, स्तनपायी आमालाई दुग्धवर्धक औषधि वितरण कार्यक्रम, योगासन, प्राणायाम, ध्यान, पञ्चकर्मः स्नेहन, स्वेदन, एकाङ्ग, सर्वाङ्ग आदि सेवा रहेको उनले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।