भक्तपुर– भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराँते प्रतियोगितामा स्वर्ण पदक दिलाउन सफल काभ्रे महाभारत गाउँपालिका–२ कुपिन्टरका सागर मोक्तानको जन्मदिनको अवसरमा बधाई तथा शुभकामना ज्ञापन कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय खेलाडी सागर मोक्तान १७ वर्ष पुगेको अवसरमा बिहिबार भक्तपुरको निकोसेर पार्टी प्यालेसमा मोक्तान परिवारद्धारा आयोजित कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्व,समाजसेवी, बुद्धिजिवी, आफ्न्त, इष्टमित्र, आफन्त एवं शुभचिन्तकहरुको बाक्लो उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुर्यमान दोङ लालध्वजले सागर मोक्तान सिंगो देशको सम्पति भएको बताए । ‘सागर भाईले देशको प्रतिष्ठा बढाएका छन्, कराँतेमा स्वर्ण पदक दिलाएर सागरले देशको उचाईलाई संसारभर चिनाएका छन्’ उनले भने, ‘सागर मोक्तान भाईको थप प्रगती र विकासका निम्ति मैले गर्नुपर्ने साथ र सहयोगमा कुनै कमी आउन दिने छैन ।’
त्यसैगरी बागमती प्रदेश सरकारका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य तीर्थ लामाले सागर मोक्तानसँग खेलाडीमा हुनुपर्ने गुणहरु भएको बताए । उनले भने, ‘असल खेलाडीमा हुनुपर्ने सबै गुण सागर भाईमा छ, मेरो र पार्टीको तर्फबाट गर्नुपर्ने सहयोगमा कुनै कमी आउन दिने छैन’ उनले भने । यस्तै नेकपा एमाले काभ्रे जिल्ला कमिटिका अध्यक्ष राजन भुर्तेलले महाभारतलाई संसारभर चिनाउनका लागि सागर मोक्तानले खेलेको भूमिका अतुलनीय रहेको भन्दै प्रशंसा गरे ।
कार्यक्रममा सागरको जन्मदिनको केक काटिएको थियो भने आफन्तजनले टिका लगाएर उनलाई शुभकामना र आशीर्वाद दिएका थिए । उपस्थित अतिथि एवं सहभागीहरुले उनलाई थप प्रगतीको कामनासहित शुभेच्छा व्यक्त गरेका थिए । कार्यक्रममा मोक्तान वंश अनुसन्धान समाज जिल्ला कार्यसमिति काभ्रे, म्हाबर यम्बु योन्जन परिवार कोष, सेवा फिल्मस् प्रा.लि. लगायत विभिन्न पार्टी तथा संघसंस्थाहरुले समान पत्रद्धारा सम्मान गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।