बनेपा– काभ्रेको भुम्लु गाउँपालिकाकी रिन्जिन डोल्मा लामा गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ को फाइनलमा प्रवेश गरेसँगै विजेता बनाउन अभियान नै शुरु भएकाे छ । १७ हजार बालप्रतिभा सहभागी डिजिटल अडिसनसहित विभिन्न चरण पार गर्दै ८ जना फाइनलिष्ट मध्ये उनी टिम मिलन नेवारबाट फाइनलिष्ट बनेकी थिइन् ।
यस प्रतियाेगितामा चारजना कोचबाट दुई–दुई जना फाइनलमा पुगेका छन् ।कोच मिलन नेवारबाट रिन्जिनसहित समीक्षा दाहाल र कोच प्रमोद खरेलको टिमबाट अनुया तामाङ र लाक्पा शेर्पा फाइनलमा प्रवेश गरेका छन् । कोच छेवाङ लामाबाट द्धितिका प्रधान र छेसाङ तामाङ फाइनलमा पुगे भने अर्की कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामा फाइनलिस्ट घोषित भएका छन्।
प्रतियोगिताको अन्तिम प्रतिष्पर्धा आगामी शनिबार हुँदैछ । शनिबार ७ बजेसम्मका लागि भोटिङ खुला गरिएको छ । शोमा ६ देखि १४ वर्षभित्रका बालबालिका सहभागी हुँदै आएका छन् । काभ्रेली प्रतिभा फाइनलमा प्रवेश गरेपछि उनलाई जिताउन जिल्लामा अभियान थालिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























