काठमाडाैं– ऊर्जामन्त्री दीपक खड्का डेडिकेटेड फिडर र ट्रंकलाइनको प्रिमियम महसुलबापतको सवा आठ अर्ब नतिर्ने उद्योगीको पक्षमा खुलेरै लागे पनि उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ भने विपक्षमा लागेका छन् । विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिको हैसियतमा उपस्थित मन्त्री खड्काले वर्षौँसम्म बक्यौता नतिर्ने उद्योगीको पक्ष लिँदै प्राधिकरणको विरोध गर्दै बक्यौता नतिरेका उद्योगमा प्राधिकरणले लाइन काट्नु मान्छेको घाँटी काटेसरह भएको अभिव्यक्ति दिएका थिए ।
कार्यक्रममा उर्जामन्त्री खड्काले वक्यौता नतिर्ने उद्योगीको बचाउ गर्दा उर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङले भने त्यस्तो ग्राहकको लाइन काट्नुपर्ने बताएका छन् । ‘प्रमुख अतिथि ज्यूले ट्याक्क स्वीच थिचेर कार्यक्रमको उद्घाटनका लागि राखिएको पानसको बत्ती बाल्नु भयो । विद्युत्को पैसा नतिर्ने ग्राहककोमा पनि हामीले मन्त्रालयबाटै बिजुली काट्न सकिने बातावरण तपाई(कर्मचारी)हरूले बनाइदिनुपर्यो,’ उनले भने, ‘स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारले पनि सडकबत्ती लगायतको महशुल नतिरेको भन्ने कुरा सुनियो । उनीहरूले पनि शुल्क तिर्दैनन् भने कार्यालयको लाइन काटिदिनुस्, तिरिहाल्छन् । क्रसरहरूले पनि शुल्क तिरेका छैनन् रे, उनीहरूको पनि ट्रान्सफमर झिकेर राख्दिनुस् । आएर तिरिहाल्नुहुन्छ ।’
लाइन काटेपछि बक्यौता असुल भएको अवस्थामा मात्रै लाइन जोडिनु पर्ने उनको भनाइ छ । ‘लाइन काटेपछि बक्यौता असुल भएमा मात्रै लाइन जोड्नुस्,’ उनले भने, ‘यसमा तपाईहरू (कर्मचारी) नै बढी जिम्मेवार हुनुहुन्छ । खासखुस गरेर बत्ति नजोडिदिनुस् । खासखुस भन्ने कुरा तपाईहरूले बुझिहाल्नुभयो होला ।’ उनले कार्यकारी निर्देशक कुलमान घिसिङको पालामा प्राधिकरणले नाफा कमाउन सकेको भन्दै प्रशंसा पनि गरे । ‘यो बेलामा प्राधिकरणले १३ अर्ब रुपैयाँ नाफा कमाएको छ । यो नाफा बढाउने लक्ष्य राख्नुपर्छ, लक्ष्य राखेपछि पुरा हुन्छ,’ उनले भने, ‘अहिले सरकारी लगानीका नेपाल विद्युत् प्राधिकरण र नेपाल नागरिक उड्नयन प्राधिकरण राम्रो नाफामा छन् । कुलमानको पालामा नाफा राम्रो भएको छ । उहाँले राम्रो काम गरेमा प्राधिकरणमा निरन्तरता पाउन सक्नुहुन्छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।