काठमाडौं। नेपाली सांगीतिक आकाशका ध्रुवतारा, संगीत सम्राट गोपाल योञ्जनको ८१ औं जयन्ती विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेपाल तामाङ संस्कृति घेदुङ संघीय कार्य समितिको आयोजनामा सम्पन्न यो कार्यक्रमले सांगीतिक क्षेत्रका दिग्गज कलाकारहरूलाई एकैथलोमा ल्याएर ऐतिहासिक पललाई जीवित बनायो।
शनिबार, चुच्चेपाटी बौद्धस्थित नेपाल तामाङ घेदुङको सभा हलमा आयोजित यस कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित भएका वरिष्ठ लोक सेलो गायक चन्द्रकुमार मोक्तानले कार्यक्रमको गरिमा थपेका थिए। कार्यक्रमको उद्घाटन गर्दै मोक्तानले संगीत सम्राट गोपाल योञ्जनको योगदानको चर्चा गर्दै नेपाली संगीतलाई विश्व स्तरमा पुर्याउन उहाँको अहम् भूमिका रहेको बताए।
यस विशेष सांस्कृतिक कार्यक्रममा गोपाल योञ्जनका अमरित रचना र संगीतलाई सम्मानित गर्दै वरिष्ठ गायिका कुन्ती मोक्तान, छेवाङ तेन्जिङ लामा, शुभा तामाङ, लक्ष्मी स्याङ्तान, विशाल योञ्जन लगायतका ख्यातिप्राप्त कलाकारहरूले उत्कृष्ट प्रस्तुति दिएका थिए। कार्यक्रममा “न बिर्सें तिमीलाई, ङाला डम्फू, काठमान्डु शहरैमा,” “तिमीले पनि माया देऊ,” र “सम्झना धेरै छ” जस्ता अमरित गीतहरूले कार्यक्रमको वातावरणलाई संगीतमय बनायो। गीतहरूले उपस्थित दर्शकलाई पुराना समयको स्मरण गराउँदै भावनात्मक बनाएको थियो।
कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङ, नेपाल तामाङ घेदुङ संघीय उपाध्यक्ष सञ्जु ब्लोन, चर्चित सेलो गायक प्रेम लोप्चन, गायिका इन्द्रिरा गोले गुरुङ , वरिष्ठ पत्रकार एवम् नेपाल तामाङ घेदुङ संघीय महासचिव जगतमान बल, नेपाल तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तन, लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। उनीहरूले गोपाल योञ्जनको सांगीतिक योगदानको स्मरण गर्दै उहाँको जयन्तीमा विशेष श्रद्धाञ्जलि अर्पण गरे।
गोपाल योञ्जनको जन्म २६ अप्रिल १९४३ मा भएको थियो। उहाँले ६६ वर्षको उमेरमा २०५७ साल वैशाख २९ गते (१२ मे २०००) मा निधन भएको थियो।
यो सांस्कृतिक कार्यक्रमले संगीत सम्राट गोपाल योञ्जनको स्मृतिलाई नयाँ पुस्तामा पुर्याउन र उहाँको योगदानलाई जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको छ। नेपाली सांगीतिक क्षेत्रमा उहाँको योगदानलाई सदैव सम्झिरहने प्रतिज्ञा गर्दै कार्यक्रमको समापन गरियो।