बेथानचोक– काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकामा एकै दिन दुई कार्यक्रम सम्पन्न भएको छ । आज (बिहीबार) महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई अन्धोपन निवारण तालिम र आँखा शिविर कार्यक्रम सम्पन्न भएको हो ।
गाउँपालिकामा सम्पन्न महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई अन्धोपन निवारण तालिमको उद्घाटन गाउँपालिका उपाध्यक्ष तारा रानाले एक समारोहका बिच गरेका थिए । कार्यक्रममा सबै वडाबाट महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष रानाले आँखा मानिसको अत्यन्तै संवेदनशील अङ्ग भएकोले यसको सुरक्षा गर्नुपर्नेमा जोड दिए । आँखा अन्धो भयो भने जीवनमा निक्कै समस्या पर्ने उल्लेख गर्दै उपाध्यक्ष रानाले समस्या आउनु अगाडि नै सतर्क हुनुपर्ने बताए । अन्धोपन निवारणको लागि आजैदेखि सबै जना लाग्न उनले अनुरोध गरे ।
कार्यक्रमको सहजीकरण वरिष्ठ आँखा स्वास्थ्य प्रशिक्षक विमल पौडेलले गरेका थिए । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत विश्वनाथ दाहाल लगायतका सहभागी थियो ।
आँखा शिविरमा १ सय २९ जनाले लिए सेवा
यसैबिच आजै बेथानचोक गाउँपालिका वडा नं. ४ चलालगणेस्थान स्वास्थ्य चौकीमा एक दिने आँखा शिविर सम्पन्न भएको छ । शिविरको वडा अध्यक्ष कृष्ण पाख्रिनले एक कार्यक्रमका बिच उद्घाटन गरेका थिए ।
मोतिविन्दुु पत्ता लगाउने र निःशुल्क उपचार गर्ने उद्देश्यले सञ्चालन गरेको सो शिविरमा १ सय २९ जनाले सेवा लिएको स्वास्थ्य शाखा प्रमुख सिताराम तिमल्सिनाले जानकारी दिए । स्वास्थ्य शाखा प्रमुख तिमल्सिनाका अनुसार चेकजाँच गर्ने क्रममा २१ जनामा मोतीबिन्दु भेटिएको छ । पीडितहरूलाई शुक्रवार (भोलि) निःशुल्क अप्रेसनको लागि बनेपा स्थित बुडोलमा रहेको रेयूकाई आँखा अस्पतालमा लगिने तिम्सिनाले बताए ।
रेयूकाई आँखा अस्पतालको प्राविधिक सहयोग, विन्ध्यवासिनी सहकारीको यातायात सहयोग र उपचारको लागि लाग्ने खर्च गाउँपालिकाले बेहोर्ने स्वास्थ्य शाखा प्रमुख तिम्सिनाले जानकारी दिए ।
शिविर चालु आर्थिक वर्ष भित्रमा सबै वडामा सञ्चालन गर्ने लक्ष्य रहेको तिम्सिनाले बताए । ‘यो शिविर हामीले सबै वडामा सञ्चालन गर्ने लक्ष्य राखेका छौँ ।’ उनले भने, ‘आजबाट शिविर प्रारम्भ भयो । गाउँपालिका जनताको स्वास्थ्य प्रति गम्भीर छ भन्ने प्रमाणित गर्नेछौँ ।’
कार्यक्रममा रेयूकाई आँखा अस्पतालका डाक्टरहरु, स्वास्थ्य शाखाको नर्सिङ निरीक्षक सरस्वती सिंह लगायतका सहभागिता थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।