काठमाडौं ।शुभ संगीत पाठशाला पा. लि को आयोजनामा तामाङ समुदायका परम्परागत गीत-संगीत र सांस्कृतिक धरोहरलाई जगेर्ना गर्ने उद्देश्यले आउँदो २२ गते शनिबार राष्ट्रिय नाचघर, जमलमा लेखक शुभ लाल घलान तामाङद्वारा लिखित “तामाङ व्हाइ काइ” नामक पुस्तकको लोकार्पण तथा सांगीतिक कार्यक्रमको आयोजना हुँदैछ।

डम्फूला तलरि तामाङ व्हाइ, जम्बुलिङरी छर्नालाइ भन्ने नाराका साथ तामाङ समुदायका गायक तथा संगीतकार एवम् लेखक शुभ लाल घलान तामाङको पुस्तक “तामाङ व्हाइ काइ” ले तामाङ भाषाको परम्परागत गीत-संगीत र संस्कृति समेट्ने छ। यस पुस्तकले तामाङ समुदायको मौलिक परम्परालाई उजागर गर्ने र यसलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्य बोकेको छ।यस पुस्तकले तामाङ जातिको मौलिक गीत-संगीतको ऐतिहासिक महत्वलाई उजागर गर्न चाहन्छ, जसमा विभिन्न सांगीतिक धरोहर, चालचलन, र संस्कारहरू समेटिएका छन्। यो पुस्तक तामाङ सेलो संगीतप्रेमीहरूका लागि मात्र नभई सम्पूर्ण नेपाली सांस्कृतिक अध्येताहरूका लागि पनि महत्त्वपूर्ण स्रोत बन्नेछ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा हरिवन नगरपालिकाकी उप-प्रमुख हरिमाया घलान उपस्थित हुनुहुनेछ। उहाँको सहभागिताले तामाङ समुदायको सांस्कृतिक पहिचानलाई अझ प्रोत्साहन र समर्थन मिल्ने विश्वास गरिएको छ। यसैगरी, कार्यक्रमको बिशिष्ट अतिथि वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङ रहनुहुनेछ, जसको उपस्थितिले तामाङ सांगीतिक जगतका पुराना र नयाँ पुस्तालाई एकै ठाउँमा ल्याउने छ।
कार्यक्रमको विशेष आकर्षण भनेकै तामाङ समुदायका ख्यातिप्राप्त कलाकारहरूको जीवित सांगीतिक प्रस्तुति हो। यो अवसरमा तामाङ सांगीतिक क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल कलाकारहरूले आफ्ना मौलिक र लोकप्रिय तामाङ गीत प्रस्तुत गर्नेछन्।

संगीतकार तथा गायक एवम् लेखक शुभ लाल घलान तामाङले यस पुस्तकमार्फत तामाङ समुदायको मौलिक संस्कृति, संगीत, र परम्परालाई समेट्ने विशेष काम गर्ने विश्वास लिएका छन् । तामाङ समुदायको धरोहर, परम्परा, र सांस्कृतिक विषयमा उनको दीर्घकालीन योगदानले पुस्तकलाई अझ प्रभावकारी र मूल्यवान् बनाउने अपेक्षा लिएको छ।

कार्यक्रम मिति २०८१ भदौ २२ गते, शनिबार,
राष्ट्रिय नाचघर,जमल काठमाडौंमा दिउँसो १ बजेबाट हुने आयोजकले जानकारी दिएका छन् ।यो कार्यक्रमले तामाङ समुदायको सांगीतिक र सांस्कृतिक सम्पदालाई संरक्षण गर्ने महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। तामाङ समुदायका मात्र नभई सम्पूर्ण सांस्कृतिक प्रेमीहरूका लागि यो अवसर विशेष रहन जानेछ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।