बनेपा– काभ्रे जिल्लाकाे बनेपा नगरपालिका वडा नं. ७ स्थित उग्रेश्वर मन्दिर परिसरमा ‘बनेपा महोत्सव–२०८१’ सञ्चालन हुने भएको छ । हिन्दूहरूको महान् चाड विजया दशमी तथा शुभ दिपावाली २०८१ को पावन अवसरमा बनेपा ब्वाईज क्लब (बिबिसी)काे आयाेजनामा हुन लागेको ‘बनेपा महोत्सव–२०८१’ पाँचाै संस्करण असाेज ९ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने भएकाे हाे ।
“हाम्रो अभियान खेलको शान, सँस्कृति र समृद्धि बनेपाको पहिचान” भन्ने मूल नारा सहित सञ्चालन हुन लागेकाे बुधबार एक पत्रकार सम्मेलन गर्दै आयाेजकले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा बनेपा ब्वाइज क्लब(बिबिसी) का अध्यक्ष महेश कुमार कर्माचार्यका अनुसार क्लबले काभ्रे जिल्लाको सुन्दर नगरी बनेपाको गरिमालाई उच्च बनाउने, आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, साँस्कृतिक, औद्योगिक, हस्तकलालाई प्रबर्द्धन गर्ने, खेलकुदको विकास, कला, संस्कृति, घरेलु उद्योग र ब्यापारिक प्रबर्द्धन तथा प्रचारप्रसार गर्ने उद्धेश्य राखेको बताए ।
‘मेलामा कृषि, घरेलु सामाग्री लगायत १ सय भन्दा बढी व्यापारिक स्टल रहनेछन् । यसका साथै बालबालिकाहरुको मनोरञ्जनको लागि बालउद्यानको समेत व्यवस्था गरिनेछ । प्रत्येक दिन राष्ट्रिय स्तरको कलाकार सम्मिलित साँस्कृतिक कार्यक्रमको आयोजना गरि मनोरञ्जन प्रदान गरिनुका साथै जिल्ला भित्रका नव प्रतिभावान् कलाकारहरुलाई विशेष प्राथमिकता दिइनेछ ।’ अध्यक्ष कर्मचार्यले भने, ‘महोत्सवमा महिला भलिबल, युथ फुटबल, खुल्ला नृत्य तथा गायन, मार्सलआर्ट र धिमे बाजा प्रतियोगिता समेत संचालन गरिने छ ।’
कर्मचार्यका अनुसार महोत्सवको उद्घाटन असोज ९ गते बिभिन्न स्थानीय कला संस्कृति झल्कने झाँकी प्रदर्शनी, बाजागाजा, मौलिक नाच सहित हुनेछ । महोत्सवको प्रमुख सल्लाहकारमा रामराजा जोशी, मूख्य संयोजकमा पारसमणि कायस्थ, सह-मूख्य संयोजकमा यश कुमार रंजितकार, प्रेस तथा मिडिया संयोजक कौशल राज खड्का, संगीत संयोजक रबिनसन श्रेष्ठलाई जिम्मेवारी ताेकिएको आयाेजकले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।