काठमाडौँ– समकालीन विश्व फुटबलका महान् खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डोले अर्को कीर्तिमान बनाएका छन् । ३९ वर्षीय पोर्चुगिज स्टार रोनाल्डो सक्रिय खेलजीवनमा नौ सय गोलको कोषेढुंगा पार गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् ।

नेशन्स लिग फुटबलको शुक्रबार बिहान सम्पन्न खेलमा पोर्चुगलले क्रोएसियामाथि २–१ गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्‍यो । उक्त खेलमा पोर्चुगलको जितमा स्टार स्ट्राइकर रोनाल्डोले पनि एक गोल गरेका हुन् ।

त्योसँगै रोनाल्डो नौ सय गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका हुन् । क्रोएसियाविरुद्धको खेलमा सुरुआती अग्रता पनि पोर्चुगलले नै लिएको थियो । पोर्चुगलका लागि पहिलो गोल सातौँ मिनेटमा डिएगो डालोटले गरेका थिए ।

निर्धारित समयको ३४औँ मिनेटमा रोनाल्डोले टोलीको अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफको खेल सकिनुभन्दा चार मिनेटअघि पोर्चुगलका डिएगो डालोटबाट आत्मघाती गोल भएको थियो । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन ।

रोनाल्डो पोर्चुगलका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी पनि हुन् । उनले पोर्चुगलका लागि गरेको गोल सङ्ख्यामा एक सय ३१ पुगेको छ । क्रोएसियाविरुद्धको खेलमा गोल गरेपछि रोनाल्डोले आफ्नो चिर–परिचित शैलीमा खुसीयाली मनाएका थिए ।

राष्ट्रिय टोली र विभिन्न क्लबमा गरेको गोललाई मिलाएर रोनाल्डोको गोल सङ्ख्या नौ सय पुगेको हो । उनले स्पोर्टिङ लिस्बन, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, युभेन्ट्स र अल नासरबाट व्यावसायिक फुटबल खेल्दै यी गोल गरेका हुन् । उनी हाल साउदी क्लब अल नासरमा आबद्ध छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।