भक्तपुर, । २०८१ – नेपालीहरुको महान पर्व विजय दशमीको उपलक्ष्यमा भक्तपुर चेम्बर अफ कमर्सको आयोजनामा भक्तपुरको सल्लाघारी चौरमा ११ दिने व्यापार, सांस्कृतिक तथा पर्यटन महोत्सव हुने भएको छ। महोत्सव असोज ९ गतेदेखि असोज १९ गतेसम्म सगुन इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को व्यवस्थापनमा संचालन हुनेछ। आयोजकले सोमबार आयोजित पत्रकार सम्मेलनमा महोत्सवले स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरुको बजार विस्तारमा टेवा पुर्याउने जानकारी दिएको छ।

महोत्सवमा दैनिक उपभोग्य सामग्री सुलभ मूल्यमा उपलब्ध गराइनेछ भने नयाँ उत्पादनमा विशेष छुटको व्यवस्था पनि गरिनेछ। स्थानीय हस्तकला, कृषि उत्पादन, बिउ बिजन तथा मलखाद, प्रविधि, जडिबुटी, औषधि, छालाका सामान, गारमेन्ट, जुत्ता–चप्पल, गलैंचा, सूचना प्रविधि, इलेक्ट्रोनिक्स, फर्निचर, पर्यटन, शैक्षिक संस्था, घरजग्गा, बैंक तथा वित्तीय संस्था, अटोमोबाइल लगायतका १५० स्टलहरु राखिने आयोजकले जानकारी गराएको छ।

आकर्षणको रुपमा मनोरञ्जनका विविध खेलकुद क्रियाकलापहरु पनि महोत्सवमा उपलब्ध हुनेछन्। रोटीपिंग, ड्रागन रेल, बोटिङ, वाटर बल्व, मिकिमाउस, ट्रेम्पालिंग, स्कोरपियो जस्ता खेलकुदका स्टलहरु दर्शकलाई रमाइलो गराउन राखिने छन्।

स्टल राख्न चाहनेलाई १८,५०० देखि १ लाखसम्मको शुल्क लाग्नेछ भने स्टल बुक गर्न इच्छुक व्यक्तिहरुले भक्तपुर चेम्बर अफ कमर्सको सचिवालयमा सम्पर्क गर्न सक्नेछन्। आयोजकले करिब २ लाख ५० हजार दर्शक महोत्सवमा सहभागी हुने अपेक्षा गरेको छ भने १० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान छ।

महोत्सव प्रवेश शुल्क सामान्य व्यक्तिहरुका लागि ७० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ। जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई भने प्रवेश शुल्क निशुल्क हुनेछ।

यस व्यापार महोत्सवले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न ठूलो भूमिका खेल्ने आयोजकको विश्वास रहेको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।