काठमाडौं । वरिष्ठ संगीतकार कुबेर सिं दोङको शब्द र संगीतमा चर्चित गायिका छेसाङ तामाङको आवाज रहेको गीत “यो मन” सार्वजनिक भएको छ। छेसाङ तामाङ, जो “भ्वाइस अफ किड्स” की फिनालिष्ट हुन्, यो गीतमा आफ्नो सुमधुर आवाज प्रस्तुत गर्दै संगीतप्रेमीको मन जित्न सफल भएकी छन्। काठमाडौंको बौद्धस्थित सेकुवा जक्सन पिपलबोटमा आयोजित एक पत्रकार सम्मेलनमार्फत स्टुडियो भिडियो सहित यो गीत सार्वजनिक गरियो।

यस कार्यक्रममा तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालका केन्द्रीय अध्यक्ष तथा संविधानसभा सदस्य डिल्लीमान दोङ प्रमुख अतिथि थिए। कार्यक्रममा गीतको स्टुडियो भिडियो सार्वजनिक गरिँदा धेरै सांगीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विशेष अतिथि चर्चित गायक तथा संगीतकार विश्व दोङ, तामाङ चलचित्रका महानायक अमिर दोङ, मम्स नेपालकी अध्यक्ष रञ्जिता ब्लोन, चर्चित नायिका चाँदनी मोक्तान, समाजसेवी एवं गायक धनराज तामाङलगायतका अतिथिहरू सहभागी थिए।

संगीतकार कुबेर सिं दोङ तामाङ सांगीतिक जगतमा दुई दशकअघि निकै चर्चित नाम हुन्। लामो समयपछि उनी “यो मन” गीतमार्फत सांगीतिक क्षेत्रमा पुनः सक्रिय भएका छन्। गीतको एरेञ्जमेन्ट चर्चित गायक तथा संगीतकार विश्व दोङले गरेका हुन्। विश्व दोङकै अफिसियल युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरिएको हो।

गीतको स्टुडियो छायांकन, कलर, र सम्पादन त्रिलोक लामाले गरेका हुन्। भिडियोको गुणस्तरीयता र प्रस्तुति निकै स्तरीय रहेको छ, जसले गीतको भावलाई अझ सजीव बनाएको छ।

कार्यक्रमका सभापति कुबेर सिं दोङले आफ्नो लामो सांगीतिक यात्रा र यस गीतको निर्माण प्रक्रिया बारेमा जानकारी दिएका थिए। उनले “यो मन” गीतलाई संगीतप्रेमीहरूको लागि विशेष उपहारको रूपमा प्रस्तुत गरेको बताए। यसअघि उनले तामाङ सांगीतिक क्षेत्रमा दर्जनौं चर्चित गीतहरूको सिर्जना गरेका थिए।

पत्रकार सम्मेलनको सञ्चालन पत्रकार सुदिन दोङले गरेका थिए। कार्यक्रममा उपस्थित सबैले गीतको प्रशंसा गर्दै तामाङ समुदायको सांगीतिक र सांस्कृतिक विकासमा कुबेर सिं दोङको योगदानको सराहना गरे।

“यो मन” गीतले तामाङ सांगीतिक जगतमा नयाँ ऊर्जा थपेको छ भने छेसाङ तामाङको सुमधुर आवाजले यसलाई अझै स्मरणीय बनाएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।