काठमाडौं । तामाङ समुदायको मौलिक कथा र संस्कृतिलाई उजागर गर्ने रिन्छेन घिसिङको प्रस्तुती
चलचित्र ‘म्हारमेन्’ को पहिलो विशेष प्रदर्शन यही असोज १९ गते (अक्टोबर ५) दिउँसो १ बजे फिल्मको विशेष प्रदर्शन राष्ट्रिय नाचघर, जमलमा हुने भएको छ।
मम्स इन्टरनेशनल नेपालको ब्यानरमा निर्माण भएको यो चलचित्रको निर्देशन अजय स्याङतानले गरेका हुन् भने मुख्य भूमिकामा नायिका तथा निर्माता रञ्जिता ब्लोन , महानायक अमिर दोङ, र सुश्मा मोक्तानले अभिनय गरेका छन्।
सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रको पहिलो विशेष प्रदर्शनको जानकारी दिइएको हो। नायिका तथा निर्माता रञ्जिता ब्लोन लामाले चलचित्रले तामाङ समुदायको मौलिक परिवेशलाई चित्रण गर्दै तामाङ भाषा, भेषभूषा, र संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ निर्माण गरिएको बताइन्। ६ वर्ष लामो समयदेखि निर्माणको तयारीमा रहेको यो चलचित्र अन्ततः दर्शकमाझ आउन लागेको हो, जसले तामाङ चलचित्र उद्योगमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ।
चलचित्र ‘म्हारमेन्’ को कथा लेखन दोर्जे तामाङ र ऋतुराज पाख्रिनले गरेका छन् भने कथाको परिकल्पना स्वयं नायिका एवं निर्माता रञ्जिता लामाकै हो। चलचित्रको कथा तामाङ समुदायको दैनिक जीवन, परम्परा, र मूल्य मान्यतामा आधारित छ, जसले तामाङ समाजको मौलिकता र पहिचानलाई उजागर गर्छ।
चलचित्रमा तामाङ कलाकारहरूको उत्कृष्ट अभिनयको साथसाथै २ वटा सांगीतिक प्रस्तुति समावेश गरिएको छ, जसमा चर्चित गायक तथा संगीतकार विशाल काल्तन र सेलो गायक फुलकुमार बोम्जनका शब्द र संगीत रहेका छन्। गायिका जितु लोप्चन र शशिकला मोक्तानले पनि आफ्नो आवाज दिएका छन्। तामाङ सेलोको मौलिक ध्वनि र लयले चलचित्रको सांगीतिक पक्षलाई विशेष बनाएको छ।
चलचित्रमा विक्रम लामाको छायांकन, राजु तामाङको द्वन्द्व निर्देशन, सह- निर्माता सुनी लामा र विनोद लामा छन् भने एसोसिएट निर्देशक बद्री थिङले चलचित्रको निर्देशनमा साथ दिएका छन्।
चलचित्रमा कुईसाङ रुम्बा,पदम दोङ, अस्मान वाइवा, रहुल मोक्तान लगायतका धेरै कलाकार हरुको सशक्त अभिनय रहेका छन्। भने कलाकारको उत्कृष्ट प्रस्तुती र समर्पणले चलचित्रलाई सफल बनाउने विश्वास निर्माण टोलीले व्यक्त गरेको छ।
निर्माता लामाका अनुसार, यो चलचित्रले तामाङ चलचित्र उद्योगमा नयाँ मानक स्थापित गर्नेछ। चलचित्रको प्रिमियर पछि यसलाई देशभरका विभिन्न स्थानमा प्रदर्शन गर्ने योजना छ। चलचित्रले तामाङ समुदायको सांस्कृतिक धरोहरलाई नयाँ ढंगले विश्वसामु चिनाउन मद्दत गर्नेछ।
असोज १९ गते दिउँसो १ बजे राष्ट्रिय नाचघर जमलमा हुने यो विशेष प्रदर्शनले तामाङ चलचित्रप्रेमीहरूलाई विशेष अनुभव दिलाउने अपेक्षा गरिएको छ।