काठमाडौं । नेपाल तामाङ कलाकार संघको १७औं वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री माननीय बहादुर सिं तामाङको प्रमुख आतिथ्यमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात सभाहलमा आयोजना गरिएको थियो।

संघका वरिष्ठ उपाध्यक्ष रोशन फ्युबाले स्वागत मन्तव्य दिएर सुरु गरिएको कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री बहादुर सिं तामाङले तामाङ कला र संस्कृतिको संरक्षणमा नेपाल तामाङ कलाकार संघले खेलेको भूमिकाको प्रशंसा गरे। उनले भने, “तामाङ कलाकारहरुको एकता र तामाङ संस्कृतिको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन संघले निभाएको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। प्रदेश सरकार तामाङ कला र संस्कृतिको प्रवर्द्धनमा संघसँग सधैं सहकार्य गर्न तयार छ।”

मुख्यमन्त्री तामाङले तामाङ समुदायको कला र संस्कृतिको जगेर्ना भावी पुस्तासम्म पुर्‍याउन राज्य र समुदायबीच सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए। उनले थपे, “हाम्रो मौलिक कला र संस्कृतिलाई सम्मान गर्दै संरक्षण गर्नु जरुरी छ, ताकि यसलाई भावी पुस्ताले गर्वका साथ अपनाउन सकून्।”

कार्यक्रममा विशिष्ट अतिथिहरूमा वाग्मती प्रदेशको पूर्वमन्त्री तिर्थ लामा र चन्द्र लामा, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश तामाङ, नेपाल तामाङ घेदुङका महासचिव जगत मान बल, राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रवीण बल, समाजसेवी शंख बुद्ध लामा लगायतका विशिष्ट अतिथिहरु उपस्थिति रहेको थियो।

वाग्मती प्रदेशको पूर्वमन्त्री तिर्थ लामाले तामाङ संस्कृतिको वर्तमान अवस्थाबारे मन्तव्य राख्दै यसको संरक्षणका लागि आधुनिक अवधारणासहित नयाँ रणनीति अवलम्बन गर्नुपर्नेमा जोड दिए। उनले तामाङ कला र संस्कृति आधुनिक पुस्तासम्म पुर्‍याउन र यसको जगेर्नामा संघको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताए।

यस साधारण सभामा संघले आफ्नो क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका तामाङ कलाकारहरुलाई सम्मान गर्दै प्रमुख अतिथि माननीय बहादुर सिं तामाङले नेपाल टेलिभिजनका महाप्रबन्धक निर्देशक फुलमान बल र डा. लोक बहादुर लोप्चनलाई सम्मानपत्र र दोसल्ला प्रदान गरेर सम्मान गरिएका थिए।साथै संघले तामाङ समुदायबाट इतिहासमै पहिलो पटक वागमती  प्रदेशको मुख्यमन्त्री भएको माननीय बहादुर सिं तामाङ र हालै मात्र रेडियो नेपालका महाप्रबन्धक निर्देशक भएका अमरध्वज लामालाई बधाई पत्रबाट सम्मान दिएका थिए।

साथै, तामाङ जागरण अभियानअन्तर्गत “ह्याङला दोङह्राप” नामक गीतको पोस्टर पनि सार्वजनिक गरियो। महासचिव खेम मोक्तानले तामाङ सांगीतिक अभियानका लागि यो गीतको महत्त्वबारे प्रकाश पार्दै तामाङ समुदायको सांगीतिक पहिचानलाई थप प्रबर्द्धन गर्ने अपेक्षा गरिएको जानकारी गराए।

कार्यक्रमको अर्को महत्त्वपूर्ण पक्ष तामाङ कलाकारहरुको एकता र सहकार्यबारे छलफल थियो। संघका अध्यक्ष विशाल काल्तनले संघको आगामी योजना र उद्देश्य प्रस्तुत गर्दै तामाङ कलाको संरक्षण र विकासका लागि ठोस योजना बनाएको जानकारी गराए। “संघले तामाङ कलाकारहरुबीच एकता र भाइचाराको वातावरण सिर्जना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा तामाङ कला र संस्कृति पुर्‍याउने महत्त्वाकांक्षी योजनाहरू अघि बढाइरहेको छ,” काल्तनले भने।

कार्यक्रममा अन्य वक्ताहरुले पनि तामाङ कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा संघले खेलिरहेको भूमिकाको सराहना गर्दै यसको निरन्तरता आवश्यक रहेको बताए।

साधारण सभामा संघले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्‍यो। महासचिव खेम मोक्तानले संघको वार्षिक गतिविधि प्रतिवेदन प्रस्तुत गर्दै संघले गरेका महत्त्वपूर्ण कामहरूबारे जानकारी गराए। साथै, कोषाध्यक्ष योगेश तामाङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संघको आर्थिक अवस्थाबारे अवगत गराए।

संघका अध्यक्ष विशाल काल्तनको सभापतित्वमा सम्पन्न यो साधारण सभा संघका महासचिव खेम मोक्तानको सञ्चालनमा समापन गरिएको थियो।

१७औं वार्षिक साधारण सभाले तामाङ कलाकार संघलाई अझ सुदृढ बनाउने र तामाङ कला, संगीत तथा संस्कृतिको निरन्तर प्रवर्द्धन गर्दै आगामी पुस्तासम्म पुर्‍याउने दिशामा ठोस योगदान पुर्‍याउने विश्वास गरिएको छ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।