काठमाडौं — तामाङ समुदायको मौलिक बाजा डम्फुलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने ऐतिहासिक दोस्रो डम्फु साँझको तयारी सम्पन्न भएको छ। ‘ह्याङला डम्फु ह्याङला शान, चुनोन ह्याङला तामाङ पहिचान’ भन्ने नारासहित यस सांगीतिक कार्यक्रमको आयोजना ल्हास्सो म्युजिकल ब्यान्डले गर्दैछ। असोज १२ गते दरबारमार्गस्थित लिक्विड लाउन्ज एन्ड बारमा हुने यस साँझ तामाङ समुदायको सांस्कृतिक धरोहर र पहिचानलाई उजागर गर्न अभिप्रेरित छ।
कार्यक्रमको प्रमुख आकर्षण तामाङ समुदायका प्रसिद्ध गायक तथा संगीतकार विश्व दोङको विशेष लाइभ प्रस्तुति हुनेछ। दोङले तामाङ संस्कृतिको मौलिक बाजा डम्फु र टुङ्नाको प्रयोग गरी सांगीतिक परम्परालाई विश्वभर चिनाउने कसम लिएका छन्। उहाँले भनेका छन्, “डम्फु हाम्रो सभ्यताको प्रतीक हो, यसलाई विश्वभर चिनाउनु तपाईं हाम्रो कर्तव्य हो।”
तामाङ समुदायको सांस्कृतिक धरोहरको प्रतीक भनेको डम्फु हो। यो बाजा तामाङहरूको जीवन, संगीत, कला, सभ्यता र पहिचानसँग गहिरो रूपमा जडित छ। तामाङहरूका हरेक सांस्कृतिक र धार्मिक पर्वमा डम्फुको प्रयोग अत्यावश्यक मानिन्छ। तामाङ समाजमा डम्फुलाई संगीतको मात्र साधन होइन, एक प्रकारको सांस्कृतिक सम्पत्ति र पहिचानको रूपमा लिइन्छ। यसै परम्पराको सम्मान र प्रवर्द्धन गर्न ‘डम्फु साँझ’ जस्तो कार्यक्रमको आयोजना गरिनु तामाङ समुदायको सांस्कृतिक जीवनलाई अझ समृद्ध र विश्वव्यापी बनाउने महत्वपूर्ण पहल हो।
डम्फु साँझको उद्देश्य तामाङ समुदायको लोक संगीत, कला, र संस्कृति जोगाउनु मात्र नभएर तामाङ बाजालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउनु हो। विश्व दोङले तामाङ समुदायको सांगीतिक इतिहासलाई पुनर्जीवित गर्दै विश्वमा चिनाउने अभियान चलाइरहेका छन्।
यस सांस्कृतिक कार्यक्रमको सफलताले तामाङहरूको पहिचानलाई बलियो बनाउने विश्वास गरिएको छ, र यसले तामाङ समुदायको सांस्कृतिक धरोहरलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।