धुलिखेल– पछिल्लो तीन दिनको अविरल वर्षाले काभ्रे जिल्लाको रोशी क्षेत्रलाई ठूलो क्षति पुर्याएको छ । बाढीपहिरोका कारण यहाँको जनधनमा ठुलो क्षति भएको छ भने प्राकृतिक संरचना समेत नष्ट भएको प्रारम्भिक अध्ययनहरूले देखाएका छन्।
सबैभन्दा बढी क्षति रोशी आसपासका क्षेत्रमा भएको पाइएको छ। अवैध क्रसर र खानी उद्योगको प्रभावले पहिरो र बाढीको जोखिम बढेको प्रमाणित भएको छ।
बाढीपहिरोको प्रभाव र क्षति
काभ्रे जिल्लाको पनौती नगरपालिका, बेथान्चोक गाउँपालिका र रोशी गाउँपालिकाका विभिन्न वडाहरू बाढीपहिरोबाट प्रभावित भएका छन् । यस क्षेत्रमा पर्ने विपी राजमार्गका विभिन्न स्थानहरूमा जमिन धसिने र पहिरो जानाले यातायात अवरुद्ध भएको छ। साथै, पनौती नगरपालिका वडा नं. १२, २ र ३ तथा बेथान्चोक गाउँपालिकाका वडा नं. ४ र ५ मा पनि ठुलो मात्रामा जनधनको क्षति भएको छ।
प्रारम्भिक अध्ययन अनुसार यस क्षेत्रका खानी र क्रसर उद्योगको अन्धाधुन्ध दोहनले प्राकृतिक संरचना अस्थिर भएकोले पहिरोको जोखिम बढेको हो। विशेषगरी क्रसर उद्योगहरूले गर्दा जमिन कमजोर भएपछि वर्षाले उक्त जमिनलाई थप खल्बलाएको छ, जसले गर्दा पहिरो गएर बस्ती र खेतीयोग्य जमिन ध्वस्त भएको छ।
अवैध क्रसर र खानी उद्योगको भूमिकाः
पहिरोको प्रमुख कारण काभ्रेको रोशी क्षेत्र र आसपासका स्थानहरूमा अवैध रूपमा सञ्चालित खानी र क्रसर उद्योगहरूको अनियन्त्रित गतिविधि पहिरो र बाढीको मुख्य कारण भएको जनाइएको छ। यी उद्योगहरूले अनियमित रूपमा ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्दा जमिनको भौगोलिक संरचना कमजोर भएकोले यस्तो विपद् निम्तिएको हो।
यहाँका स्थानीय किसानहरूले लामो समयदेखि क्रसर र खानीका कारण खेतीपातीमा समस्या भोग्दै आएका थिए। खेतीयोग्य जमिनको कटान, नदीहरूमा बालुवा थुप्रिनु, र जमिनको स्खलनका कारण उनीहरूको आयस्रोतमा असर परेको छ।
राजनीति, गुण्डागिरी र क्रसर उद्योग सबैमा एक साथ पहुँच
काभ्रे जिल्लामा क्रसर र खानी उद्योगहरूमा केही प्रभावशाली व्यक्तिहरूको प्रत्यक्ष संलग्नता रहेकोले स्थानीय प्रशासनले उचित कारवाही गर्न सकेको छैन। विशेषगरी नेपाली कांग्रेसका काभ्रे जिल्ला सभापति तथा प्रदेश सभा सदस्य तिर्थाबहादुर लामा, कांग्रेसकै केन्द्रीय सदस्य गणेश लामा, नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामा र राेशी क्षेत्रमा खानी र क्रसर उद्याेगमा राज चलाइरहेका व्यापारी राजभक्त श्रेष्ठ जस्ता प्रभावशाली व्यक्तिहरूले अवैध रूपमा क्रसर उद्योग सञ्चालन गर्दै आएका छन्।
उनीहरूको राजनीतिक पहुँच र प्रभावका कारण सम्बन्धित सरकारी कार्यालयहरूले पनि यसबारेमा ठोस कारवाही गर्न सकेको छैन। अवैध उद्योगहरूको विरोध गर्दा स्थानीय नागरिकहरूले थुप्रै पटक दबाब र धम्कीको सामना गर्नु परेको छ। खानी र क्रसर उद्योगहरूका मालिकहरूले गुण्डागिरी र राजनीतिक प्रभाव प्रयोग गरेर आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन्।
सर्वसाधारणले बारम्बार उजुरी दिएर पनि उनीहरूको आवाज सुनुवाइ हुन सकेको छैन। न सरकारले उद्योगहरू बन्द गर्न सकेको छ, न त सम्बन्धित निकायहरूले उचित कारबाही अघि बढाउन सकेका छन्।
अवैध क्रसर उद्योग बन्द गर्नुपर्ने आवाज
बाढीपहिरोबाट भएको जनधनको क्षतिलाई न्यूनिकरण गर्न अवैध क्रसर र खानी उद्योगहरू बन्द गरिनुपर्ने स्थानीयहरूले माग गरेका छन्। वातावरणीय प्रभाव मूल्यांकन बिना सञ्चालन भइरहेका यस्ता उद्योगहरूले यस क्षेत्रको भूगोलमा मात्र नभई यहाँको सामाजिक र आर्थिक जीवनमा समेत ठूलो असर पुर्याएको छ। स्थानीय बासिन्दाहरूले भने, ‘यदि यस्ता उद्योगहरू रोकिएनन् भने आगामी दिनहरूमा अझ ठूलो विपद् निम्तिन सक्छ ।’
सरकारको भूमिका र उत्तरदायित्व
सरकारको मुख्य जिम्मेवारी नागरिकहरूको जीवन र सम्पत्तिको सुरक्षा गर्नु हो। तर, अवैध रूपमा सञ्चालित क्रसर र खानी उद्योगहरूलाई रोकथाम गर्न सरकारले प्रभावकारी कदम चाल्न नसक्दा यहाँका स्थानीय बासिन्दाहरू ठूलो खतरामा छन् । सम्बन्धित निकायहरूले तुरुन्तै कदम नचालेमा यस क्षेत्रका जनताहरूले अझ ठूलो क्षति व्यहोर्नु पर्ने स्थिति आउन सक्छ ।
काभ्रे जिल्लाका स्थानीयहरू यस्ता अवैध उद्योगहरूको अविलम्ब बन्द र पुनःस्थापना प्रक्रिया सुरु गर्न माग गरिरहेका छन्। साथै, बाढीपहिरोको दीर्घकालीन समाधानका लागि वातावरणीय प्रभाव मूल्यांकन गरिनुपर्ने, अवैध उद्योगहरूलाई कानूनी कठघरामा ल्याइनुपर्ने, र विपद् व्यवस्थापन योजनाहरूलाई कार्यान्वयन गर्नुपर्ने मागहरु सशक्त रूपमा उठेको छ। सरकारले यथाशीघ्र यस क्षेत्रमा गम्भीर रूपमा कदम चाल्नुपर्ने बेला आएको छ।
याे पनि पढ्नुहाेस्ः
काभ्रेका अवैध खानी र क्रसर उद्योगहरुलाई होला त कार्वाही ?
खानी तथा क्रसर उद्योगको पक्षमा अनुगमन समिति, काभ्रेको यस्तो भयो निर्णय
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।