सबथोक बगायो पहिरोले  –लोक लामा 

बर्षात अनि पहिरोले

गाउँलेहरु चिहिल बिहिल छन्

पहिरोले घर नजिकै

मसानघाट बनाएको छ

प्रकृतिको सुन्दर लय बिगारेको छ

आस्याङहरुले चर्चेका पाखाहरु

लहरै शिलामा कुँदिएका बुद्धका मूर्तिहरु

भत्काएर डोजरले

बनाएको थियो आधुनिक राजमार्ग

त्यसपछि छहारी दिने पिपल रहेन

ॐ माने पेम्मे हुङ जप्दै हिड्ने बाटो रहेन

घट्टोबाट आउँदा ढाकर बिसाउने ठाउँ रहेन

सबैभन्दा बढी धाएको कुवा रहेन

सबभन्दा बढी फूलपाती चढाएको देउराली रहेन

गोठ आँगन चुला रहेन

न रह्यो गल्ली

न रह्यो किसानको सुन्दर खेत

रहदै रहेन कसैको माईती सशुराल

र रहेन मावलोको पुखाम

रहेन गाउँ ब्यूउझाउने चिवेको स्वर

रहेन ओथारो बसिरहेको माउपोथीहरुको गुँड

के गरे होलान कमिलाहरु

कति हराए होलान् बिछोडिएका माकुराहरु

कति बिचल्लीमा छन् होला

छेपारा गोहोरो र मलस्याप्राका जोडिहरु

मानिससँगै उनीहरुको पनि

संसार उजाडियो

पहिले स्काभेटर

अनि पछि भुक्षय

रोदनको पीडा यसरी नै थपिँदोरहेछ

थाहा छैन

अझै कति गाउँहरुलाई यस्तो दुख आईपर्छ

अब त्यो नभत्कने शैलुङको चट्टान झैँ उभिएर

पहिरोले खसालेको मन थाम्नु छ

०००

चाैंरीदेउराली, काभ्रे

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।