काठमाडौं – तामाङ समुदायको पीडा र संघर्षको कथालाई समेटेको चलचित्र ‘म्हारमेन’ को पहिलो विशेष प्रदर्शन असोज १९ गते शुक्रबार राष्ट्रिय नाचघर, जमलमा सम्पन्न भएको छ। पुर्व माननीय नविना लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको यो कार्यक्रमले तामाङ समुदायको सामाजिक र सांस्कृतिक समस्याहरूलाई उजागर गरेको छ।
चलचित्रको कथा विनाशकारी २०७२ सालको भूकम्पपछिको घटनाक्रममा आधारित छ, जसले तामाङ समुदायलाई परेको मानवीय र भौतिक क्षतिको वास्तविकता प्रस्तुत गर्छ। भूकम्पका कारण धेरै तामाङ परिवारहरूको जीवन बिच्छेद भयो, र सोही विपत्तिको बेला मानव तस्करहरूले बालबालिका र महिलालाई बेच्ने जस्ता आपराधिक कार्यहरूलाई बढावा दिएका थिए। ‘म्हारमेन’ ले यस्ता घटनाहरूलाई पर्दामा उतारेको छ, जसमा विशेषगरी तामाङ समुदायका सदस्यहरू प्रभावित भएका थिए।
रिन्छेन घिसिङको प्रस्तुती रहेको म्हारमेन चलचित्रको निर्देशन अजय स्याङतानले गरेका हुन् भने रञ्जिता ब्लोन लामा यसकी निर्माता र मुख्य पात्रमा रहेका छन्। तामाङ चलचित्रका महानायक अमिर दोङ, सुश्मा मोक्तान, कुइसाङ रुम्बा, अनिता नेगी, पदम लामा,
अस्मान वाइवा राहुल मोक्तान लगायतका चर्चित कलाकारहरूले चलचित्रमा आफ्नो शसक्त भूमिका निर्वाह गरेका छन्।
निर्मात्री सुनी लामा र विनोद लामाको प्रस्तुती रहेको यस चलचित्रले मानव बेचविखन, अशिक्षा, र तामाङ समुदायको पिडाको कथा बोल्छ। चलचित्रका कार्यकारी निर्मात्री सुनी लामाले तामाङ समुदायमाथि हुने अन्याय र मानव तस्करीको समस्यालाई उजागर गर्दै यस चलचित्रले सामाजिक न्यायको लागि आवाज उठाउने विश्वास व्यक्त गरिन्।
एसोशियट निर्देशकको भुमिका बद्री थिङले निर्वाह गर्नुभएको चलचित्रको कथा लोखन दोर्जे तामाङ र ऋतुराज पाख्रिनको हो भने कथा परिकल्पना स्वयं रञ्जिताकै हो ।
डम्फू मिडियाको पोष्ट प्रोडक्सन म्हारमेनमा विक्रम लामाको छायांकन, राजु तामाङको द्धन्द, शब्द र संगीत चर्चित गायक तथा संगीतकार विशाल काल्तान रहेको छ भने गायक विशाल काल्तान र गायिका जितु लोप्चनको आवाज रहेका छन् ।
समारोहमा अतिथिका रूपमा उपस्थित भएका समाजशास्त्री डा. संग्राम लामा, पर्यटन बोर्डका सदस्य राजेन्द्र तामाङ, नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविनकुमार वल, तामाङ डाजाङका अध्यक्ष फूलकुमार बम्जन, आदिवासी जनजति चलचित्र महासंघका निवर्तमान अध्यक्ष अमृत सुनुवार, तामाङ चलचित्र निर्देशक संघका महासचिव विनय दोङ, सुस्मीता फाउण्डेशनका अध्यक्ष सुस्मीता तामाङ, समाजसेवी चन्दानी लामा योञ्जन अभियन्ता, व्यवसायी लगायत अतिथिहरुको उपस्थिति रहेका थिए।