काठमाडौं ।तामाङ समुदायको सांस्कृतिक पहिचान र भाषा संरक्षणमा जोड दिँदै नेपाल तामाङ कलाकार संघ र तामाङ समाज हाम्बर्ग, जर्मनीको संयुक्त सहकार्यमा “ह्याङ्ला दोङ्ह्राप चु डम्फु” बोलको तामाङ गीत हालै सार्वजनिक गरिएको छ। यो गीत नेपाली संगीत क्षेत्रका लागि मात्र होइन, तामाङ समुदायको सांस्कृतिक धरोहरको प्रवर्द्धनका लागि एउटा विशेष महत्वको प्रयास हो।
तामाङ समाज हाम्बर्ग, जर्मनीले आफ्नो वार्षिक ल्होछार कार्यक्रमका दौरान प्रस्तुत भएका तामाङ डम्फु र सेलो गीतहरूको रोयल्टीबाट संकलित रकमलाई तामाङ भाषा र संस्कृति जगेर्ना गर्ने विशेष उद्देश्यका साथ प्रयोग गरेको हो। जर्मनीमा रहेका तामाङ समुदायको सक्रिय सहभागितामा संकलित रकमले गीत निर्माणको सम्भावना सिर्जना गर्यो। यस कार्यले तामाङ भाषा र संस्कृति संरक्षणका लागि नविनतम तरिकालाई प्रस्तुत गरेको छ।
“ह्याङ्ला दोङ्ह्राप चु डम्फु” गीतले तामाङ समुदायको मौलिक कला र सांस्कृतिक धरोहरलाई संगीतको माध्यमबाट अभिव्यक्त गरेको छ। गीतमा प्रयोग भएका शब्द, संगीत, र स्वरले तामाङ समुदायको परम्परागत र आधुनिक पक्षलाई सन्तुलित रूपमा प्रस्तुत गरेका छन्।
गीतका शब्द गायक तथा शब्दकार जीवन बम्जनले लेखेका छन्। नेपाल तामाङ कलाकार संघका अध्यक्ष तथा अनुभवी गायक-संगीतकार विशाल काल्तानले संगीत दिएका छन्।
गीतको पावन वाङ लामाले एरेन्ज गरेका छन्।भने वरिष्ठ संगीतकर्मी दिपेश प्रधानले गीतको मिक्सिङमा योगदान दिएका छन्।
गीतमा १५ जना ख्यातिप्राप्त तथा उदीयमान तामाङ कलाकारहरूको सामूहिक स्वर रहेको छ।
स्वर दिने कलाकारहरू:
संजिव वाईबा
विश्व दोङ
विशाल काल्तान
बैरागी मोक्तान
जितु लोप्चन
सुमिना लो
अस्मान लोप्चन
सुवास मोक्तान
रेश्मा बम्जन
योगेश लामा
लक्ष्मी स्याङ्तान
खेम मोक्तान
बसन्ती लामा
मिन योन्जन
यी कलाकारहरूको स्वरले गीतलाई बहु-आयामिक बनाउँदै सांस्कृतिक भावनालाई प्रभावकारी ढंगले उजागर गरेको छ।
गीतलाई चर्चित गायक तथा संगीतकार विशाल काल्तानको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। गीतले छोटो समयमै तामाङ समुदायका साथै सबै नेपाली संगीतप्रेमीहरूबाट सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएको छ।
“ह्याङ्ला दोङ्ह्राप चु डम्फु” केवल एउटा गीत नभई तामाङ समुदायको पहिचान, भाषा, र परम्परालाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने माध्यम हो। तामाङ समाज हाम्बर्गको यो प्रयासले विदेशी भूमिमा रहेर पनि आफ्ना सांस्कृतिक जरा कायम राख्ने र मौलिकतालाई जगेर्ना गर्ने प्रेरणा दिन्छ।
यस गीतले तामाङ भाषा र संस्कृति संरक्षणमा अन्य समुदाय र संस्थाहरूसमेत सक्रिय रूपमा संलग्न हुन प्रेरित गरेको छ। यो प्रयासले गीत-संगीतको माध्यमबाट संस्कृति जगेर्ना गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ। नेपाल तामाङ कलाकार संघ र तामाङ समाज हाम्बर्गको सहकार्यमा निर्मित “ह्याङ्ला दोङ्ह्राप चु डम्फु” गीतले तामाङ समुदायको सांस्कृतिक धरोहरलाई सम्मान गर्दै भविष्यका लागि एक सशक्त आधार तयार गरेको छ। यो गीत तामाङ कला र कलाकारहरूको उच्चतम मान्यता स्थापना गर्न महत्वपूर्ण हुनेछ।
गीत सुन्नुहोस् । https://m.youtube.com/watch?v=De4BHnQEr5s