आदरणीय अग्रज र प्रीय सहकर्मी मित्रहरु
सबैलाई हार्दिकतापूर्वक नमस्कार अभिवादन ।

सर्बप्रथमम यहाँ उपस्थित आदारणीय अग्रज तथा प्रिय सहकर्मी मित्रहरुलाई हाम्रो नियमन्त्रणा स्वीकार गरी आइदिनुभएको हार्दिक स्वागत गर्दछु ।

नेपाल पत्रकार महासंघ सबै नेपाली पत्रकारको साझा घर हो । यो घरको एउटा सदस्य, तपाईहरुकै बीचमा रहेर दैनिक पत्रकारिताको दौरानमा सहकार्य गरिरहेको एक पात्र हुँ म ।

मकवानपुरको विकट कैलाश गाउँपालिका–२ स्थित डाँडाखर्कबाट दुई दशक अघि पत्रकारिता र विषेश गरी रेडियोमा बोल्ने सपना बोकेर हेटौंडा झरेको म सामान्य परिवारको गाउँले केटोलाई यो शहरमा संघर्ष गर्न र यो स्थानसम्म पुर्‍याउन यहाँ उपस्थित सबैको कुनै न कुनै कोणबाट महत्वपूर्ण सहयोग र योगदान छ । यसको म सधैँ ऋणी रहनेछु । यहाँहरुकै माया र सहकार्यले पत्रकारिताका अनेकन संघर्षका दिनहरुमा पनि सधैँ उत्साहका साथ अघि बढिरहेँ । अध्ययन र पत्रकारितालाई एकसाथ निरन्तरता दिने क्रममा नेपाल पत्रकार महासंघ मकवानपुरको कार्यसमिति सदस्य, सचिव भएर काम गर्ने अवसर यहाँहरुले दिनुभयो ।

देश संघीय संरचनामा गएपछि नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको संस्थापक महासचिव भएर कामगर्ने अवसर मिल्यो । बर्तमान कार्यसमितिमा पुनःमहासचिवकै भूमिकामा रहेर काम गर्ने अवसर यहाँहरुले दिनुभयो । तपाईहरुले गर्नुभएको विश्वासलाई परिणाममा परिणत गर्न मेरो तर्फबाट सक्दो प्रयास गरेँ । मैले महासचिव हुँदै गर्दा प्रतिबद्धता ब्यक्त गरेका कतिपय काम सम्पन्न गर्न सकिएन । पछिल्लो समय नेपाल पत्रकार महासंघको सुर्खेत साधारणसभाले निदृष्ट सदस्यता शुद्धिकरण अभियानलाई कार्यान्वयन गर्ने क्रममा प्रदेश तहमा बसेर कामगर्दा कतिपय सहकर्मी तथा अग्रजहरुको भावनामा ठेस पुगेको महशुस गरेको छु । बहुमतीय प्रणालिबाट सञ्चालित संस्थामा बसेर काम गर्दा कतिपय कामहरु चाहेर पनि पुरा गर्न सकिने रहेछ । मबाट यस कार्यको दौरानमा जान अन्जानमा भएका कमिकमजोरीप्रति आलोचित हुन चाहन्छु । काम गर्ने दौरानमा बर्तमान कार्य समितिबाट पाएको साथप्रति हार्दिक धन्यवाद ब्यक्त गर्दछु ।

पत्रकारिता पेशा नै संकटमा रहेका बेला, पत्रकारितामाथि चौतर्फि आक्रमण बढेको समयमा, नयाँ प्रविधिको हस्तक्षेप र पत्रकारितामाथिको विश्वसनीयतामा प्रश्न उठ्दै गरेको अवस्थामा, मिडिया उद्योगले हालसम्मकै संकटपूर्ण दिनहरु झेलिरहेको अवस्थामा पत्रकार महासंघले महत्वपूर्ण भूमिका खेल्नुपर्ने छ । यसैको लागि प्रदेश तहमा बसेर कामगर्न र उल्लेखित प्रतिबद्धता पुरा गर्न मैले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको जानकारी गराउन चाहन्छु ।

मैले महासचिव भएर काम गर्दाका प्रतिबद्धता कार्यान्वयनको अवस्था

१) सञ्चारकर्मीहरुको क्षमता विकासको लागि बिभिन्न विषयमा तालिम गरी दुईसय २० भन्दा बढि पत्रकारलाई तालिममा सहभागी गराइएको छ ।

२) श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको सन्दर्भमा महासंघ केन्द्र र जिल्ला शाखाहरुसँग समन्वयमा काम गरिएको छ ।

३) नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आफ्नै भवन निर्माणको लागि आर्थिक वर्ष २०७९÷८० मा बागमती प्रदेश सरकारले एक करोड रुपैयाँ बजेट बिनियोजन गरेको थियो । जग्गा प्राप्तीमा भएको कठिनाइले उक्त बजेट कार्यान्वयन हुन सकेन ।

४) दुर्घटना, बिरामी, जेष्ठ पत्रकार र समस्यामा परेका पत्रकार÷सञ्चारकर्मीलाई सहयोग गर्न प्रदेश सरकार, सञ्चार रजिष्ट्रार कार्यालयमा पत्रकार कल्याण कोष स्थापना गरिएको छ । उक्त कोषमा ३० लाख रुपैयाँ बढी जम्मा भएको छ । ब्याज आउने खाता सरकारले चलाउन अनुमति नदिँदा यो कोष सञ्चालनमा आउन सकेको छैन । यो कोषको रकम बृद्धिसँगै सञ्चालनमा ल्याउन पहल गर्नेछौं ।

५) सामाजिक विकास मन्त्रालय बागमती प्रदेश मार्फत ९१ जना पत्रकार महिलाको लागि यो कार्यकालमा लेखनबृत्ति प्रदान गरिएको छ । यो कार्यक्रममा सुत्केरी महिला पत्रकारहरुलाई प्राथमिकता दिइएको थियो ।

६) प्रदेशभित्रका उत्कृष्ट सञ्चारकर्मीहरुलाई वार्षिक रुपमा बिधागत पुरस्कार र सम्मानको थालनी भएको छ । दुई वर्षयता १२ जना पत्रकारलाई प्रदेश सरकारले पुरस्कृति र सम्मान गरेको छ ।

७) बागमती प्रदेश भित्र सञ्चालित तथा सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशमा दर्ता भएका अनलाईन सञ्चारमाध्यमलाई सञ्चार रजिष्ट्रार कार्यालयमार्फत लोककल्याणकारी सूचना तथा बिज्ञापन बितरणको सुरुवात भएको छ ।

८) आदिवासी, जनजाति, मधेशी, महिला, दलित, अल्पसंख्यक समुदाय र ग्रामीण क्षेत्रमा बसेर कामगर्ने सञ्चारकर्मीहरुको क्षमता विकासको पत्रकार महासंघको समन्वयमा भएका तालिम तथा कार्यक्रमहरुमा यस वर्गको अधिकतम सहभागितको लागि पहल गरिएको छ ।

९) पत्रकार बीमा कार्यक्रमको सुरुवात भएको छ । आर्थिक वर्ष २०७९÷८० मा बागमती प्रदेश समिति सहित उपत्यका, प्रतिष्ठान र एशोसियट प्रदेशमा आबद्ध १५०० जना पत्रकारको बीमा आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत् गरिएको छ । यो कार्यको निरन्तरताको पहल गर्नेछौं ।

१०.पत्रकार संगठनहरुलाई अनुदान दिने ब्यवस्थाको सुरुवात भएको छ । आर्थिक वर्ष २०७९÷८० मा नेपाल पत्रकार महासंघ बागमती प्रदेशलाई १५ लाख, पत्रकारसम्बद्ध संगठनहरु प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन र आदिवासी जनजाति पत्रकार महासंघ फोनिज बागमती प्रदेश समितिलाई १० लाख रुपैयाँका दरले अनुदान रकम बितरण भएको छ । आर्थिक वर्ष २०८१÷८२ को लागि ४० लाख रुपैयाँ बजेट प्रदेश सरकारमार्फत बिनियोजन गराउन सफल भएका छौं ।

११.बागमती प्रदेश सरकारले सञ्चार रजिष्ट्रार कार्यालयमार्फत् बितरण गर्दै आएको लोककल्याणकारी बिज्ञापनको रकम अत्यन्तै न्युन रहेकोमा यो पटक ७० लाख पुर्‍याइएको छ । कम्तिमा एक करोड रुपैयाँ पुर्‍याउन पहल गर्नेछौं ।

महासंघ बागमती प्रदेश समितिमा महासचिव भएर कामगर्दा गरिएको समन्वय र भूमिका

१. प्रदेश सञ्चारमाध्यम ब्यवस्थापन सम्बिन्धि ऐन २०७५ ल्याउन
२. प्रेस रजिष्ट्रारको कार्यालय स्थापना गर्न
३. पत्रकार कल्याण कोष स्थापना गर्न
४. पत्रकार संगठनहरुका प्रदेश संरचनालाई अनुदानको ब्यवस्था गर्न
५. महिला पत्रकारहरुलाई लेखनबृत्ति कार्यक्रम ल्याउन

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको अध्यक्ष पदका उम्मेदवार कृष्ण सारु मगरको प्रतिबद्धता पत्रः

१.दुर्घटना, बिरामी, जेष्ठ पत्रकार र समस्यामा परेका पत्रकार÷सञ्चारकर्मीहरुलाई सहयोग गर्न प्रदेश सरकार, सञ्चार रजिष्ट्रार कार्यालयसँगको सहकार्यमा स्थापित पत्रकार कल्याणको कोष सञ्चालनमा ल्याउने ।

२.पत्रकारहरुको स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्ने ।

३. पत्रकारहरुको स्वास्थ्य परीक्षणमा सहजिकरण गर्ने ।

४. पत्रकारिता अध्ययनमा छात्रबृत्तिको ब्यवस्था गर्ने

५. स्वरोजगारमुलक मिडियाको प्रवद्र्धनको लागि स्थानीय तहमा समानुपातिक बिज्ञापन नीति लागु गर्न नीति, ऐन, नियम बनाएर काम गर्न पहल गर्ने ।

६. जग्गा प्राप्ती गरी पत्रकार महासंघ बागती प्रदेश समितिको भवन निर्माण गर्ने ।

७. उत्कृष्ट समाचार लेख्ने पत्रकारहरुलाई प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने ।

८) सञ्चारकर्मीहरुको क्षमता विकासको लागि विषयगत तालिमहरु सञ्चालन गर्ने ।

९) श्रमजिवी पत्रकार ऐन कार्यान्वयनमा महासंघ केन्द्र र जिल्ला शाखाहरुसँग समन्वय गरी काम गर्ने ।

१०.बागमती प्रदेशका पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन पहल गर्ने ।

११) महिला पत्रकारहरुले मात्र सञ्चालन गरेको सञ्चारमाध्यमको लागि प्रदेश सरकारमार्फत अनुदानको ब्यवस्थाको लागि पहल गर्ने ।

१२) सञ्चार उपकरण खरिदमा सहुलियत प्रदान गर्न प्रदेश सरकारमार्फत नीतिगत निर्णय गराई कार्यान्वयन गराउन पहल गर्ने ।

१३) श्रमजिवी पत्रकारहरुको गुनासो तथा समस्या सुनुवाईको लागि समिति बनाएर काम गर्ने ।

१४) आदिवासी, जनजाति, मधेशी, महिला, दलित, अल्पसंख्यक समुदाय र ग्रामीण क्षेत्रमा बसेर काम गर्ने सञ्चारकर्मीहरुको क्षमता विकासको लागि कार्ययोजना बनाएर काम गर्ने ।

१५) बागमती प्रदेश अन्तर्गत महासंघका सदस्यहरुको प्रोफाइल बनाएर महासंघको वेबसाईटमा राख्ने

१६.प्रदेश सरकारले प्रदान गर्दै आएको पत्रकारिता पुरस्कारमा फरक बिधा, फरक समुदाय, अनुज र अग्रजलाई समेट्न पहल गर्ने ।  

१७. प्रदेशभित्र रहेर निरन्तर ३० वर्ष बढी समयदेखि पत्रकारिता गरिरहेका अग्रजहरुलाई सम्मान गर्दै जाने ।

१८) संचारकर्मीको क्षमता विकासका लागि बिभिन्न मिडिया हाउस भिजिटका कार्यक्रम संचालन गर्ने ।

१९) बिट रिपोर्टिङ गर्ने संचारकर्मीलाई सम्बद्ध बिट पत्रकारिताका लागि बिशेष तालिमको ब्यवस्थापन गर्ने ।

यी योजनाहरु कार्यान्वयन गराउन नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा मतदान गरी विजयी गराइ दिनहुुन बागमती प्रदेश समिति अन्तर्गतका सबै सदस्यमा हार्दिकतासाथ अनुरोध गर्दछु । यी बाहेक थप कामहरु तपाईहरुकै परामर्श, सल्लाह र सुझावका आधारमा हाम्रो कार्यसमितिले गर्नेछ । सबैको साझा नेतृत्वको रुपमा कामगर्ने म प्रतिबद्धता ब्यक्त गर्दछु ।

किशोर उमेर पार गर्दैगर्दा मकवानपुरको पत्रकारितामाप्रवेश गरेँ । युवा उमेरको करिब ८० प्रतिशत समय मकवानपुरको पत्रकारिता र तपाईहरुकै माझमा बसेर काम गरेको छु । यस अवधिमा पत्रकार महासंघको बिभिन्न संरचनामा रहेर कामगर्ने अवसर मिल्यो । एकपटक प्रदेश समितिको नेतृत्व गर्ने अवसर दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।

अन्त्यमाः भूगोलको दुरीमा रहेपनि सधैँ मनमा रहने मेरो पत्रकारिता जीवनका महत्वपूर्ण पात्र दाजु गिरिजा अधिकारी सहित सबैलाई सम्झन चाहन्छु । उपस्थित सबैलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछु ।

धन्यवाद । अभिवादन । नमस्कार ।

कष्ण सारु मगर
२०८१/८/२३

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।