दुबई – तामाङ समुदायको महत्वपूर्ण सांस्कृतिक राष्ट्रिय पर्व मञ्जुश्री संवत २८६१ औँ सा पुख्रि (सर्प) ल्हो सोनाम ल्होछारको अवसरमा सिन्धुपाल्चोक तामाङ समाज युएईले विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। “राष्ट्रिय पर्व सोनाम ल्होछार राष्ट्रको शान, भाषा धर्म र संस्कृति हाम्रो पहिचान” भन्ने मूल नाराका साथ आगामी २०२५ फेब्रुअरी २ (आइतबार) को दिन दुबईको बरदुवाई स्थित SK7 क्लबमा यो कार्यक्रम सम्पन्न हुनेछ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपालका बहुचर्चित गायक राजु लामा नेतृत्वको Mongolian Heart टिमले प्रस्तुति दिने भएको छ। तामाङ समुदायको सांस्कृतिक महोत्सवलाई भव्य बनाउन नेपालबाट आमन्त्रित यो टोलीले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गर्नेछ।                                                                              सिन्धुपाल्चोक तामाङ समाज युएईले आफ्नो भाषा, धर्म, संस्कृति, कला, र परम्परालाई संरक्षण गर्न सधैं सक्रिय भूमिका निभाउँदै आएको छ। संस्थाका अध्यक्ष राजु नगरकोटी तामाङले यो वर्षको ल्होछार कार्यक्रम अघिल्ला वर्षहरूभन्दा उत्कृष्ट हुने विश्वास व्यक्त गरेका छन्।                                                                 उनले भने, “सोनाम ल्होछार हाम्रो पहिचान र गौरवको पर्व हो। यो अवसरले प्रवासमा रहेर पनि हाम्रो संस्कृति र परम्परालाई जीवित राख्न ठूलो योगदान पुर्‍याउँछ।”

कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित कलाकारहरूको साथमा स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति रहनेछ। कार्यक्रम संयोजक समीर वाइबाले बताएअनुसार, नेपाली संस्कृति र लोक कलाको उत्कृष्ट प्रदर्शन यस पटकको विशेषता हुनेछ।

सिन्धुपाल्चोक तामाङ समाज युएईले सांस्कृतिक कार्यक्रम मात्र होइन, विभिन्न सामाजिक कार्यमा पनि निरन्तरता दिँदै आएको छ। असहायलाई सहयोग, संकटमा परेकालाई सहारा दिने संस्थाको परम्परा यस पटक पनि कायम रहनेछ।

सिन्धुपाल्चोक तामाङ समाज युएईका सम्पूर्ण पदाधिकारीहरूले दुबई तथा आसपासका सम्पूर्ण तामाङ समुदायका सदस्यहरूलाई कार्यक्रममा उपस्थित भई सभालाई सफल बनाउन आह्वान गरेका छन्।

सोनाम ल्होछारजस्तो सांस्कृतिक पर्वलाई प्रवासमा पनि भव्य रूपमा मनाउने यो कार्यक्रमले तामाङ समुदायको एकता र पहिचानलाई अझै प्रगाढ बनाउने विश्वास लिइएको छ। Mongolian Heart टिमको उपस्थिति र प्रस्तुति यस पर्वको आकर्षण बन्ने छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।