रसुवा ।रसुवा जिल्ला उत्तरगया गाउँपालिका–२ निवासी लोकेन्द्र तामाङले आफ्नो नयाँ सांगीतिक कोसेली “कति राम्रो चालमाला” सार्वजनिक गरेका छन्। गीत लोकेन्द्र तामाङको आधिकारिक युट्युब च्यानलमा उपलब्ध छ। रसुवाको प्राकृतिक सौन्दर्यता र सांस्कृतिक पक्षलाई उजागर गर्ने यस गीतले स्थानीय क्षेत्रको प्रचार-प्रसारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

गीतमा हस्त तामाङ गोलेको शब्द र संगीत रहेको छ। संगीत निर्माता सञ्जीव बराइलीले गीतलाई उत्कृष्ट बनाएका छन् भने वाङच्यु फ्युबाको मिक्सिङ र मास्टरिङले गीतलाई थप कर्णप्रिय बनाएको छ। मदन रेग्मीले मादल, रत्न बि.के.ले बासुरी, र सञ्जीव बराइलीले गिटार तथा बन्जोमा संगीत प्रदान गरेका छन्।

गीतको भिडियोमा लोकेन्द्र तामाङ र सृष्टि तामाङको उत्कृष्ट अभिनय देख्न सकिन्छ। निर्देशन वीरेन तितुङले गरेका हुन्। सिनेम्याटोग्राफी र ड्रोन सञ्चालनमा समेत वीरेनकै संलग्नता रहेको छ। भिडियो सम्पादन तथा रङ संयोजन अनिल कुमार महर्जनले गरेका छन् भने नयाँ पाना फिल्म्सले पोस्ट प्रोडक्सनको जिम्मेवारी पूरा गरेको छ।

यसअघि “सुन्दर डाँडागाउँ” नामक म्युजिक भिडियो र सामाजिक सन्देशमूलक छोटो चलचित्र “विश्वास” निर्माण गरेका लोकेन्द्र तामाङले यस गीतमा रसुवाको नगथालि क्षेत्रका रमणीय दृश्यलाई समेटेका छन्। गीतले स्थानीय पर्यटन क्षेत्रको प्रवर्द्धनमा मद्दत पुर्‍याउने विश्वास गरिएको छ।

“कति राम्रो चालमाला” ले रसुवाको सांस्कृतिक र प्राकृतिक पक्षलाई उजागर गर्दै स्थानीय पर्यटनको प्रवर्द्धन र मनोरञ्जनको माध्यममार्फत सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेको छ।

गीत हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।