हेटौडा । तामाङ कथानक चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को विशेष प्रदर्शन शनिबार हेटौडाको ओम्याक्स सिनेमा हलमा सम्पन्न भएको छ। मुनसन सुपर स्टार मुभिज प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रले प्रेम कथामा आधारित तामाङ समुदायको सांस्कृतिक कथा प्रस्तुत गरेको छ।

चलचित्रमा सञ्जय लामा (हुत्त), हेमकुमार तितुङ, सुनिता लुङ्बा, प्रज्मि बोम्जन, तारा थोकर, माया डोल्मा लामा, मनिका सिन्तान, राजकुमार तामाङ, जगतबहादुर मोक्तान र हिराबहादुर मुक्तानले अभिनय गरेका छन्। निर्देशन नायक सञ्जय लामाले (हुत्त) गरेका हुन् भने सह–निर्देशकको भूमिकामा बिस्वजंग माझी रहेका छन्।

चलचित्रको छायांकन मकवानपुरको इन्द्रसरोवरको हुमाने क्षेत्रमा गरिएको हो। करिब २४ लाखको लागतमा निर्माण सम्पन्न गरिएको यो चलचित्रलाई लोसाङ लामा र इकेश लामाले निर्माण गरेका हुन्।

शनिबारको विशेष शोमा दर्शकहरूको उत्साहजनक सहभागिता रह्यो। करिब ३ सयभन्दा बढी दर्शकले चलचित्र हेरेका थिए। तामाङ समुदायका अग्रज व्यक्तित्व, पत्रकार, र स्थानीय दर्शकहरूले चलचित्रलाई सकारात्मक प्रतिक्रिया दिएका छन्।

तामाङ पत्रकार संघ बागमती प्रदेशका अध्यक्ष ज्ञानेन्द्र तामाङले प्रतिक्रिया दिंदै भने, “यो चलचित्र तामाङ चलचित्रहरूको हालसम्मकै उत्कृष्ट प्रस्तुति हो। यसको कथा, निर्देशन, र प्रस्तुति शैली निकै राम्रो छ।”

चलचित्रले तामाङ समुदायको संस्कृति र प्रेमको कथालाई पर्दामा उतार्ने प्रयास गरेको छ। निर्माता, कलाकार, र निर्देशकको सामूहिक प्रयासले चलचित्रलाई दर्शकहरूले अत्यधिक मन पराएको देखिएको छ।

‘ए ङाला ह्राङ्बा माया’ ले तामाङ चलचित्र क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास गरिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।