मण्डनदेउपुर– काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकामा संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले नगरपालिकासंगको सहकार्यमा ‘फोर बेटर भिलेज’ कार्यक्रम शुभारम्भ गरिएको छ ।
एफएओका नेपाल–भुटान प्रमुख केन शिमीजुको प्रमुख आतिथ्यता र नगरप्रमुख टोक बहादुर वाईबाको अध्यक्षतामा आज नगरपालिकामा एक भब्य समारोहकाबीच यो कार्यक्रमको शुभारम्भ भएको हाे ।
शुभारम्भ कार्यक्रममा एफएओका नेपाल–भुटान प्रमुख केन शिमीजुले फोर बेटर भिलेज कार्यक्रमले मण्डनदेउपुर नगरपालिकाको कृषि क्षेत्रमा सुधार ल्याउने विश्वास ब्यक्त गरे । उनले लामो समयदेखि यस नगरपालिकामा आईपीएमको क्षेत्रमा काम गर्दै आएको भन्दै नयाँ कार्यक्रम मार्फत यहाँको किसान र कृषि क्षेत्रमा सहकार्य गर्न पाउँदा निकै खुशी लागेको बताए ।
नगरप्रमुख टोक बहादुर वाईबाले फोर बेटर भिलेज कार्यक्रम अन्तर्गत आफ्नो नगरपालिकालाई छनौट गरेकोमा एफएओलाई धन्यवाद दिए । नगरप्रमुख वाईबाले ‘देउपुर र मण्डनः कृषि र पर्यटन’ भन्ने नगरपालिकाको मुल मन्त्रलाई पुरा गराउन समेत यो कार्यक्रम उपलब्धी मुलक हुने बताए ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले एफएओले नेपालको कृषि क्षेत्रमा धेरै काम गर्दै आएको भन्दै पछिल्लो परिवर्तनलाई नयाँ कार्यक्रमले सम्बोधन गर्ने बताए । एफएओले राम्रो र असल अभ्यास समेत यो कार्यक्रममा समावेश गरेको श्रेष्ठको भनाई छ । जलवायु अनुकूलित कृषि उत्पादनमा बृद्धि गर्न र खाद्य सुरक्षाको अवस्था समेत मजबुद हुने आफुले विश्वास लिएको श्रेष्ठले बताए ।
उपप्रमुख विष्णुमणी नेपालले नगरपालिकाको कृषिमा नयाँ आयाम थपिने बताए । स्थानीय खाद्य प्रणालीको विकास सबल हुने र स्वस्थ जीवनयापनमा समेत टेवा पुग्ने उनको भनाई छ ।
नगरपालिकाको नीति तथा योजना आयोगका उपाध्यक्ष गोकुल गौतमले कृषिमा राम्रो उत्पादन बढाउन यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कुल प्रसाद दवाडीले कृषिमा प्रचुर सम्भावना बोकेको काभ्रेपलाञ्चोक जिल्ला र त्यसमा मण्डनदेउपुर नगरपालिकामा एफएओको नयाँ कार्यक्रम सञ्चालन गर्नु आफैमा ठूलो उपलब्धी भएको बताइ ऽ
यो कार्यक्रम अन्तर्गत कृषिको क्षेत्रमा मण्डनदेउपुर नगरपालिकाको १ देखि १२ सम्मकै वडाहरूमा विभिन्न क्रियाकलाप सञ्चालन हुनेछ । एफएओले मण्डनदेउपुर नगरपालिका सहित नेपालका चार वटा पालिकामा यो कार्यक्रम शुभारम्भ गर्दैछ ।
फोर बेटर भिलेज कार्यक्रम शुभारम्भ अघि यही कार्यक्रम अन्तर्गत निर्माण हुने मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ७ स्थित आँप खोला बाँध (बगर कुलो) को एफएओका नेपाल–भुटान प्रमुख केन शिमीजु र नगरप्रमुख टोक बहादुर वाईबाले शिलान्यास गर्नुभएको थियो ।
यो कुलो मार्फत १५ सय रोपनी जमिन सिञ्चित हुनेछ । एफएओले २०५५ सालदेखि तत्कालीन महादेवस्थान गाविस वडा नम्बर २, हालको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ८ मा आईपीएम कृषक पाठशाला सञ्चालन गर्दै आएको छ । यो पाठशाला अन्तर्गत शत्रु जीव ब्यवस्थापन कृषि सहकारी नै स्थापना गरिएको छ । यो सहकारीमा १ सय जना महिला र ४० जना पुरूष सदस्य छन् । जसमा १३ जना सहजकर्ता रहेको सहकारीका अध्यक्ष राममणी पौडेलले जानकारी दिए ।
‘फोर बेटर भिलेज’ कार्यक्रम नगरपालिकाको ३, ७, ८ र १० नम्बर वडामा बढी केन्द्रीत हुनेछ । द्वारपालेश्वर मावि, डेडीथुम्का मावि ढोँडिने र बिन्धवासिनी माविमा तत्काल टनेल खेती गरिनेछ । ‘फोर बेटर भिलेज’ कार्यक्रमले राम्रो उत्पादन, राम्रो पोषण, राम्रो वातावरण र राम्रो जीवनयापनलाई मुख्य थिम बनाएको छ ।
‘फोर बेटर भिलेज’ कार्यक्रमका लागि बागमती प्रदेशले १० लाख बजेट समेत विनियोजन गरेको भने नगरपालिकाले आफ्नो रातो किताबमै एफएओसंग साझेदारीमा काम गर्ने गरी बजेट ब्यवस्थापन गरेको छ । यो कार्यक्रममा तीनै तहको सरकारको सहभागिता रहने बताइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























