भक्तपुर । तामाङ सांगीतिक क्षेत्रका कुशल र चर्चित गायक अविशेक तामाङको नयाँ गीत ‘पोङ्दी नाम्साला-२’ को छायांकन सम्पन्न भएको छ।

गीतको शब्द र संगीत जीवन योञ्जनले सिर्जना गरेका छन् भने यसलाई अविशेक तामाङले आवाज दिएका छन्। गीतको र्याप पक्षमा ySK2 ले आफ्नो योगदान दिएका छन्।

भिडियोको निर्देशन  निर्देशक विजय दोङले गरेका छन्। यसमा तामाङ चलचित्रका चर्चित नायक सागर घिसिङ, मोडलिङ क्षेत्रका चर्चित मोडल लाक्पा लामा, र अभिनेत्री अम्विका तामाङको सशक्त अभिनय देख्न सकिन्छ।

भिडियोको छायांकन जितु तामाङले गरेका छन् भने कोरियोग्राफीमा सुविन चौहानले भूमिका निर्वाह गरेका छन्। गोदावरी पार्कका मनमोहक दृश्यहरूले गीतलाई अझ आकर्षक बनाएको छ।

गीतको अडियो एरेञ्ज कार्साङ लामाले गरेका छन् भने मिक्सिङ दिपेश प्रधानले संयोजन गरेका छन्।

यसअघि ‘पोङ्दी नाम्साला-१’ ले तामाङ सांगीतिक क्षेत्रमा निकै चर्चा कमाएको थियो। गायक  अविशेक तामाङले नेपाली पप, तामाङ सेलो, र तामाङ प्रेमगीतमार्फत दर्शकहरूको मन जित्न सफल गीतहरू सार्वजनिक गर्दै आएका छन्।

‘पोङ्दी नाम्साला-२’ को भिडियो तामाङ समुदायको ऐतिहासिक पर्व सोनाम ल्होछार (डुक ल्हो स पुख्री) २८६१ को दिन सार्वजनिक हुने जानकारी निर्माण पक्षले दिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।