काठमाडौँ । सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी, प्रहरी वृत्त मालीगाउँ र प्रहरी वृत्त महाराजगञ्जको संयुक्त आयोजनामा शनिबार माघ ५ गते शान्ति सुरक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

टुँडालदेवी सामुदायिक सेवा केन्द्रका अध्यक्ष राम प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी, स्थानीय प्रतिनिधि, र विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो।

कार्यक्रमको शुभारम्भमा प्रहरी वृत्त मालीगाउँका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले समुदायसँगको समन्वय अपराध न्यूनीकरण र प्रहरीको कार्यसम्पादन सुधारमा अनिवार्य रहेको बताए। उनले समुदायबाट प्राप्त सूचनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्दै शान्ति सुरक्षा मजबुत बनाउन प्रहरीको प्रयास जारी रहेको उल्लेख गरे।

कार्यक्रमका प्रमुख अतिथि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले विद्यालय तहमा नैतिक शिक्षा अनिवार्य गर्न र लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। उनले प्रहरी र समुदायबीचको समन्वयले अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको धारणा राखे।

प्रहरी परिसर काठमाडौंका प्रमुख बसन्त रजौरेले अपराध नियन्त्रणका लागि विभिन्न रणनीतिहरू अवलम्बन गर्दै सामुदायिक सहभागिता थप प्रभावकारी हुनेमा विश्वास व्यक्त गरे।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष राम प्रसाद न्यौपानेले प्रहरी र समुदायबीचको सहकार्यले अपराधिक घटनाहरूलाई न्यूनीकरण गर्न सकिने भन्दै, यस्तो कार्यक्रमले शान्ति सुरक्षा स्थापनामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।

काठमाडौं महानगरपालिका वडा नं ४ का अध्यक्ष दिनेश महर्जनले प्रहरी र वडाबीचको समन्वयले समाजमा सकारात्मक प्रभाव पारेको बताए।

कार्यक्रममा संविधान सभा सदस्य रमा गुरागाई, पूर्व सचिव श्याम प्रसाद मैनाली, पूर्व प्रहरी महानिरीक्षक धीरज प्रताप सिंह, पूर्व प्रअमनि अमर सिंह शाह, र पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीलगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

बैष्णवी टुँडालदेवी माताको प्राङ्गणमा सम्पन्न कार्यक्रमले स्थानीय संघसंस्था, महिला समूह, टोल सुधार समिति, र उपभोक्ता समितिबीच शान्ति सुरक्षा र समाज सुधारका विषयमा सहकार्यलाई प्रोत्साहन गरेको छ।

काठमाडौं महानगरपालिका वडा नं ४ अन्तर्गतका विशालनगर, चण्डोल, चुनदेवी, वालुवाटार, पञ्चकन्या, गणेशवस्ती, चप्पल कारखाना, प्रगती टोल, धुम्बाराही, रारामार्गजस्ता क्षेत्रमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनको अपेक्षा गरिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।