कतार । नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारले नेपालीहरुको राष्ट्रिय पर्व तथा तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछार २८६१ को अवसरमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रम माघ १७ गते (जनवरी ३१) कतारको इन्डियन आइडल स्कुलको प्राङ्गणमा हुने भएको छ।

नेपालीहरुको राष्ट्रिय पर्व, तामाङ जातिको नयाँ वर्ष मञ्जुश्री संवत् २८६१(डुल ल्हो स पुख्री) सोनाम ल्होछार भव्य रुपले सफल पाराैं भन्ने मुल नाराका साथ गर्न लागिएको कार्यक्रममा तामाङ सेलो गायिका पूजा तामाङ, तामाङ सेलो गायक मदन घलान तामाङ, र गायक तथा संगीतकार शैलाप वाईबा तामाङ प्रमुख आकर्षणको रुपमा प्रस्तुत हुनेछन्। साथै, स्थानीय कलाकारहरूले सांस्कृतिक प्रस्तुतिबाट कार्यक्रमलाई थप रंगीन बनाउने छन्।

कार्यक्रमको व्यवस्थापन र समन्वयका लागि विभिन्न संयोजकहरू जिम्मेवार तोकिएका छन्।
कार्यक्रमले तामाङ समुदायको सांस्कृतिक परम्परा र पहिचानलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। यसैगरी, प्रवासी नेपालीबीचको सामाजिक सद्भाव र सहकार्यलाई अझ मजबुत बनाउन यो विशेष अवसर बन्ने अपेक्षा गरिएको छ।

सोनाम ल्होछारको अवसरमा परम्परागत नृत्य, तामाङ सेलो, र सांस्कृतिक प्रस्तुतिहरू मुख्य आकर्षण हुनेछन्। आयोजकले कार्यक्रमलाई सफल बनाउन विभिन्न संघ–संस्थाको सहकार्य सुनिश्चित गरेको छ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।