काठमाडौं ।तामाङ समुदायको प्रमुख सांस्कृतिक पर्व सोनाम ल्होछार आजबाट भव्यताका साथ सुरु भएको छ। “मञ्जुश्री संम्वत् २८६१ सोनाम ल्होछार भव्य रूपमा मनाऔं, तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनका लागि अघि बढाऔं” भन्ने मूल नाराका साथ यो पर्व काठमाडौंस्थित टुँडिखेलमा तीन दिने महोत्सवका रूपमा मनाइँदैछ।
माघ १५ गते बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा ताम्बा, लामा, र बोन्बोहरूको विशेष पूजापाठ र शुभकामना आदानप्रदानसँगै सोनाम ल्होछार पर्वको औपचारिक सुरुवात गरिएको छ। यस अवसरमा तामाङ समुदायका अग्रज नेताहरू, कलाकारहरू, तथा प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
तीन दिनसम्म मनाइने महोत्सवको पहिलो दिन आज साँझ गरुड वर्षलाई बिदाइ र (डुल ल्हो अर्थात् सा पुख्री) सर्प वर्षलाई स्वागत गर्ने परम्परागत विधिलाई “ल्होछार इभ” का रूपमा मनाइनेछ। टुँडिखेलमा आयोजना गरिने कार्यक्रममा राष्ट्रिय कलाकारहरूले सांगीतिक प्रस्तुति दिनेछन्।
दोस्रो दिन, माघ १६ गते, बिहान ११ बजे ताम्बा, लामा, र बोन्बोहरूको झाँकीसहित शान्ति र्यालीले टुँडिखेल परिक्रमा गर्नेछ। दिउँसो १ बजे ल्होछार महोत्सवको औपचारिक उद्घाटन गरिनेछ, जसमा तामाङ समुदायका चर्चित कलाकारहरूको सांस्कृतिक प्रस्तुति समावेश हुनेछ।
महोत्सवको मुख्य स्टेजलाई सर्पको मुखाकृतिमा सजाइएको छ। महोत्सवमा तामाङ समुदायका परम्परागत सामग्रीहरू प्रदर्शन गरिने स्टल, स्वास्थ्य शिविर, र तामाङ भाषा तथा संस्कृतिसम्बन्धी पुस्तक स्टलहरू पनि राखिनेछ।
यस वर्षको सोनाम ल्होछार महोत्सवले तामाङ भाषालाई सरकारी कामकाजी भाषाका रूपमा स्थापित गर्न विशेष ध्यान दिएको छ। यस अवसरमा तामाङ समुदायको पहिचान र योगदानलाई सम्मान गर्दै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई राष्ट्रिय सम्मान प्रदान गरिनेछ।
सोनाम ल्होछार तामाङ समुदायको नयाँ वर्ष हो। “ल्हो” को अर्थ साल, उमेर, वा सम्वत् हो भने “छार” को अर्थ नयाँ हो। यो पर्व तामाङ समुदायले नयाँ ऊर्जा, उमंग, र सांस्कृतिक गर्वका साथ मनाउने परम्परा रहेको छ।
तीन दिने महोत्सवको समापन माघ १७ गते विशेष पूजा, शान्ति र्याली, तथा सांगीतिक प्रस्तुतिका साथ गरिनेछ।
सोनाम ल्होछारको यो पर्वले तामाङ समुदायको सांस्कृतिक पहिचानलाई बलियो बनाउँदै राष्ट्रिय एकतामा योगदान पुर्याउने अपेक्षा गरिएको छ।