काठमाडौं, माघ १७ — मञ्जुश्री सम्वत् २८६१ सोनाम ल्होछार पर्व काठमाडौंको टुँडिखेलमा भव्य रूपमा सम्पन्न भएको छ। “तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनका लागि अघि बढाऔं” भन्ने मूल नारासहित तीन दिनसम्म चलेको यो महोत्सवले सांस्कृतिक धरोहरको उजागर गर्दै उत्साहपूर्ण वातावरणमा सम्पन्न भयो।
उक्त ल्होछार समारोह प्रमुख अतिथि बागमती प्रदेशको मुख्यमन्त्री बहादुर सिं तामाङले उद्घाटन गरिएको थियो।
समारोहको मुख्य आकर्षण चर्चित तामाङ गायक विजय लामाको विशेष लाइभ प्रस्तुति रहेको थियो। उनले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दा दर्शकहरू जोश र उत्साहले भरिए। साथै, ख्यातीप्राप्त कलाकारहरू उतर लामा, सन्जोक योञ्जन, विहिन दोङ, सुशील तितुङ, राजकिङ् वाइवा, च्वाईस दोङ, अशोक मोक्तान, आदित्य लामा लगायत दुई दर्जनभन्दा धेरै कलाकारहरुले सांगीतिक प्रस्तुति दिएर दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरे।
महोत्सवको दोस्रो दिन बिहान ११ बजे ताम्बा, लामा, र बोन्बोहरूको झाँकीसहितको शान्ति र्यालीले टुँडिखेल परिक्रमा गर्यो। र्यालीपछि विशेष पूजापाठ गरी गरुड वर्षको बिदाइ र सर्प वर्षको स्वागत गरियो।समारोहमा तामाङ समुदायको भाषा, कला, तथा समाजसेवामा महत्वपूर्ण योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान प्रदान गरियो। यस अवसरमा विभिन्न संघ संस्थाका प्रतिनिधि र प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो।
कार्यक्रमस्थलमा तामाङ समुदायका परम्परागत सामग्रीहरूको प्रदर्शनी, स्वास्थ्य शिविर, तथा तामाङ भाषा र संस्कृतिसम्बन्धी पुस्तक स्टलहरू राखिएका थिए। महोत्सवको मुख्य स्टेजलाई सर्पको मुखाकृतिमा सजाइएको थियो।यस वर्षको सोनाम ल्होछारले तामाङ भाषालाई सरकारी कामकाजी भाषाका रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याउँदै सांस्कृतिक पहिचानलाई बलियो बनाउने लक्ष्य लिएको छ।
तीन दिनसम्म चलेको यो महोत्सव परम्परागत विधिहरू, सांगीतिक प्रस्तुति, र सांस्कृतिक विविधतासहित सम्पन्न भयो। प्रमुख अतिथि तामाङले तामाङ समुदायको पहिचानलाई बलियो बनाउँदै राष्ट्रिय एकताको प्रतीक भएको धारणा व्यक्त गरे।
यस वर्षको सोनाम ल्होछार महोत्सव सांस्कृतिक उत्थानको प्रतीक बनेर नेपाली समाजमा ऐतिहासिक र प्रेरणादायक रूपमा सफल भएको छ।