काठमाडौं । तामाङ सांगीतिक क्षेत्रका कुशल र चर्चित गायक अविशेक तामाङको नयाँ गीत ‘पोङ्दी नाम्साला-२’ काठमाडौंको टुँडिखेलमा भव्य समारोहबीच सार्वजनिक गरिएको छ। तामाङ समुदायको २८६१ औं सोनाम ल्होछारको अवसरमा आयोजित यो विशेष कार्यक्रमले लाखौं दर्शकको उपस्थितिमा सांगीतिक माहोललाई उत्साहपूर्ण बनाएको थियो।

जीवन योञ्जनको शब्द र संगीत रहेको यस गीतमा अविशेक तामाङको सुमधुर स्वर छ। गीतको र्याप पक्षमा चर्चित र्यापर ySK2 ले सशक्त प्रस्तुति दिएका छन्।

भिडियोको निर्देशन  विजय दोङले गरेका हुन्। भिडियोमा तामाङ चलचित्रका चर्चित नायक सागर घिसिङ, मोडल लाक्पा लामा, र अभिनेत्री अम्बिका तामाङले जीवन्त अभिनय प्रस्तुत गरेका छन्।

गोदावरी पार्कका सुन्दर दृश्यहरूले भिडियोलाई थप आकर्षक बनाएको छ भने भिडियो छायांकन  कलर र सम्पादक  जितु तामाङले गरेका छन्। कोरियोग्राफी सुविन चौहानको रहेको छ। गीतको अडियो एरेञ्ज कार्साङ लामाले गरेका छन् भने मिक्सिङ दिपेश प्रधानले गरेका हुन्।

यसअघि सार्वजनिक ‘पोङ्दी नाम्साला-१’ ले तामाङ सांगीतिक क्षेत्रमा निकै चर्चा कमाएको थियो। त्यसैको सफलता पछि सार्वजनिक ‘पोङ्दी नाम्साला-२’ ले पनि दर्शकहरूको मन जित्ने अपेक्षा गरिएको छ।

अविशेक तामाङ तामाङ सेलो, पप र प्रेमगीतका क्षेत्रमा स्थापित गायक हुन्। उनका दर्जनौँ चर्चित गीतहरूले नेपाली सांगीतिक बजारमा उल्लेखनीय स्थान बनाइसकेका छन्। ‘पोङ्दी नाम्साला-२’ ले तामाङ संगीतप्रेमीहरूका लागि सांस्कृतिक पर्वमा विशेष र मनोरञ्जनात्मक उपहार प्रदान गरेको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।