बनेपा– नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिले पार्टी वागमती प्रदेश परिषाद् सदस्य हरिबहादुर केसी घिमिरेको निधन प्रति शाेक व्यक्त गरेको छ । आज जिल्ला संयाेजक भाेलाप्रसाद अर्यालले एक शाेक वक्तव्य जारी गर्दै शाेक व्यक्त गरेका हुन् ।
केसीको हिजाे (माघ १९ गते) उपचारको क्रममा निधन भएको थियाे । केसी १ वर्ष अगाडिदेखी बाेनम्याराे क्यानसरबाट पिडीत थिए । केसीको निधनले पार्टीमा अपुरणीय क्षति भएको संयाेजक अर्यालले शाेक वक्तव्यमा उल्लेख गरेका छन् ।
‘हाम्रो महान् एवं गौरवशाली पाटी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेश परिषद्को सदस्य तथा काभ्रे जिल्लाको कम्युनिष्ट आन्दोलनको एक पुरानो स्थापित बौद्धिक, निष्ठावन, सालिन र अग्रज अथक योद्धा नेता बेथानचोक गाउँपालिका-२ निवासी कमरेड हरि बहादुर के.सी. घिमिरेको करिब १ वर्ष अगाडिदेखि बोनम्यारो क्यानसर जस्तो प्राणघातक रोगबाट पीडित हुनुभएको कारण पाटन अस्पतालमा उपचारको क्रममा हिजो भएको दुःखद् निधनले पार्टीमा अपूरणीय क्षति भएको छ ।’ वक्तव्यमा भनिएको छ, ‘उहाँ २०३४ सालदेखि नै कम्युनिष्ट आन्दोलनमा सहभागी हुनुभएको थियो । उहाँले २०३६ सालको आन्दोलन, २०४६ सालको जन आन्दोलन र २०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । २०५४ सालबाट २०६३ सालसम्म तत्कालीन नेकपा एकता केन्द्र मसालको काभ्रे जिल्लाको सेक्रेटरीको भूमिकामा रहनु भएर पार्टीको नेतृत्व गर्नुभएको थियो । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा तत्कालीन जनमोर्चा नेपालबाट उम्मेदवार हुनुभई काभ्रे जिल्लाको ३ नं. निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गर्नुभएको थियो । २०६५ सालमा तत्कालीन नेकपा (माओवादी) र नेकपा एकता केन्द्र मसालको बीचमा पाटी एकता भएपछि राज्य समिति सदस्य हुनु भई काम गर्नु भयो । २०७३ सालबाट पाटी राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य हुनु भयो र २०७८ साल मंसिर सम्पन्न पाटीको बागमती प्रदेशको पहिलो सम्मेलनबाट प्रदेश परिषद् सदस्य हुनु भई पाटीको सांगठनिक काम गर्दै आउनु भयो । २०७८ सालबाट राष्ट्रिय भूमि आयोग काभ्रे जिल्लाको अध्यक्ष हुनु भई भूमि हिन गरिब किसानहरूको पक्षमा र भूमि सम्बन्धि समस्या व्योहोरी रहेका काभ्रेली जनताको पक्षमा धेरै महत्त्वपूर्ण काम गर्नु भएको थियो ।’
केसीको असामयिक निधनले पार्टीले जनतामा सधैं क्रान्तिकारी मार्क्सवादी विचार प्रवाह गर्दै हिड्नु हुने एक अनुभवी असल, इमानदार, सरल, निष्ठावान, आदर्शवान र वैचारिक नेतालाई गुमाएको वक्तव्यमा उल्लेख गर्दै अर्यालले यस दुःखद् घडीमा दिवगत के. सी. प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन भने सम्पूर्ण शोक सन्तप्त परिवारजनहरूप्रति समवेदना व्यक्त गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।